बुधबार, वैशाख १०, २०८२

२००६ सालको अग्नीकाण्ड

सुनील उलक २०७९ चैत ३० गते १७:०२
सुनील उलक

७३ वर्ष अगाडीको नयाँ वर्षको सम्झना गर्न मन लाग्यो । अधिकांश नेवारहरू जो भक्तपुरबाट आएका थिए ती घरहरूमा बिस्का: जात्राको खुसीयालीको तैयारीमा रोटी पोल्ने र घर सफा गर्ने कार्य हुँदै थियो ।

विन्ध्यवासिनी मन्दिरमा चैत र असोजमा नियमित पूजा गर्ने गरिन्थ्यो । २००६ को चैतमा पनि पण्डितहरूले नियमित पूजा गर्ने तैयारी गर्दै थिए । यस्तैमा चैत २९ गते वैशाख कृष्ण नवमी तिथि मङ्गलवारको साइतमा एकातर्फ विन्ध्यवासिनी देवीको पूजा अर्को तर्फ महादेवको हवन सहितको रुद्री पूजाको शुभारम्भ भयो । पूजा समाप्ति पछि भोजनको तैयारी गरिरहँदा हावा चल्न थाल्यो । हावाले बजारमा बितण्ड मच्चाउन थाल्यो । घरका छाना उडाउने र रुखका हाँगाहरू भाँचिन थाल्यो ।

यता विन्ध्यवासिनीको हवन नजिकैको आँपको हाँगो पनि भाँच्चिएर हवनमा नै पर्‍यो । जसले गर्दा हवनको आगोले विकराल रूप लिन पुग्यो ।जलिरहेको हाँगोबाट आगो फैलिएर नजिकैको औषधालयको छानो सल्कियो । त्यसपछि आगो फैलन समय नै लागेन ।

छिनभरमा पोखराका ४०० घर जले भने समरबहादुर बजिमयका श्रीमती, दुई छोरा, दुई छोरी, बेखामान सामयीको आमा, गोरखापत्र बाजेका आमा, रङ्गनाथ र काइँला गरी ९ जनाको घटनास्थलमा नै जलेर मृत्यु भएको थियो ।

२००६ सालको अग्नीकाण्डको नामबाट चिनिने यस भवितव्यले निकै लामो समयसम्म पोखरामा सङ्कट निम्त्यायो । प्रधानमन्त्री मोहनशम्शेरमा बिन्ती पत्र जाहेर भए पछि तत्कालै छानबिन गर्न सरदार फत्तेबहादुर पाण्डे र क्याप्टेन दिब्यशम्शेर थापा पोखरा आइपुगेका थिए । छानबिन टोलीको अध्ययन पछि केन्द्रबाट तत्कालै रु तीन लाख क्षतिपूर्तिको लागी पठाइयो ।

घरको तला र प्रकार हेरेर ३०० देखी १८०० सम्म बाँडियो । त्यसपछि पोखराको कतिपय घरहरूको स्वरूप नै बदलियो । पोखरामा कर्कट पाताको छानो छाउन थालियो । कतिपयले घर मर्मत गर्न सकेनन् । मुआब्जा टाठा बाठाले उम्काए भने कतिपयले पाएनन् ।

हाम्रो परिवार पनि आगलागीको एक हप्ता अगाडी मात्र भक्तपुरबाट पोखरा आइपुगेको थियो । बुबा आमा र दुई दिदीहरूका लगाएका कपडा बाहेक सबै लत्ताकपडा र भएका जिन्सी सबै जलेर नष्ट भयो । हाम्रो घर थिएन, केही दिन अगाडि मात्रै पोखरा आइपुगेको हुँदा अरूकोमा बस्नुभएको थियो । जिन्सी जलेकाको क्षतिपूर्तिको व्यवस्था थिएन त्यसैले हाम्रो परिवारले कुनै दाबी नै गरेन ।

आगलागीको त्रास पछि पनि भयो । २०१७-१८ सालतिर मोहरिया टोलमा श्याम साहुको घर देखी दक्षिण तर्फको ६-७ घर जले । यसरी हरेक दुर्घटनाले सचेतनाको पनि शिक्षा दिन थाल्यो । २०-२१ सालतिर भैरव टोलका सकसबहादुरले आफ्नो जिप र ट्रकको लागी भनेर ल्याएको तेल राखेको ड्रममा आगो लाग्दा भैरव टोलमा ठुलो त्रास फैलिएको थियो ।

त्यहाँ रहेका ४-५ वटा ड्रममा आगो सल्केको भए पोखरामा अर्को ठुलो दुर्घटना हुन सक्थ्यो तर सुझबुझले गर्दा आगो नियन्त्रण गर्न सफल भएको हुँदा कुनै दुर्घटना हुन पाएन । त्यस्तै १८-१९ सालतिर अहिलेको गण्डकी अस्पतालको पूर्वी गेट नजिकै रहेको बस्ती पुरै जलेको थियो ।

प्रतिक्रिया