मकर राशिका लागि वर्ष – २०८०

मकर मकर राशि भएका व्यक्तिहरूका लागि यो वर्ष माध्यम फलदायी नै रहनेछ । राहु शुभ भएकाले शरीर स्वस्थ्य रहनुका साथै रोकिएको धन हात पर्नेछ भने कमजोर बृहस्पति र शनिको अन्त्य साढेसातिले गर्दा झुटा आरोप लाग्ने, धनमालको क्षति हुने तथा शत्रु बढ्ने योग छ । जन्म कुण्डलीमा बृहस्पति र शनि ग्रह शुभ र बलवान हुनेहरूले भने नकारात्मक फलको सामना गर्नु पर्दैन । वर्षको अन्त्य तिर अधुरा कामहरू पूरा हुन सक्छन् ।
व्यापार – व्यवसाय : यो वर्ष व्यापार – व्यवसायबाट अपेक्षित लाभ लिन सकिएला । वैदेशिक व्यापार – व्यवसाय राम्रो भएर जानेछ । घरजग्गाको कारोबारबाट फाइदा मिल्नेछ भने वर्षको उत्तरार्धमा कृषि, पशु तथा पर्यटकीय क्षेत्रको लगानी फलदायक साबित हुनेछ । सेयर बजारमा लगानी गर्नेहरूले भने सचेत रहनुपर्छ । वैशाख र भाद्र महिनामा धनमाल हराउन सक्छ , सजग रहनु होला । आर्थिक दृष्टिकोणले असार, असोज तथा मङ्सिर महिना शुभ रहनेछन् ।
प्रेम जीवन : यो वर्ष नयाँ व्यक्तिहरू सँगको सम्बन्धमा सफलता हात पर्नेछ । प्रेम सम्बन्धलाई अगाडि बढाउन सकिनेछ । असोज महिनामा नयाँ व्यक्तिसँग नयाँ सम्बन्धको सुरुवात हुन सक्छ । साउन र माघ महिनामा घर परिवारबाट केही अप्ठ्यारो परिस्थिति सिर्जना हुने देखिन्छ ।
शिक्षा : यो वर्ष शैक्षिक क्षेत्रमा सामान्य सफलता हात पर्नेछ । वर्षको सुरुमा शिक्षा क्षेत्र त्यति राम्रो नभए पनि साउन देखि भने समय अनुकूल हुनेछ । स्वास्थ्य, आई. टी. तथा वाणिज्य विषयका विद्यार्थीहरूलाई विशेष लाभ मिल्नेछ । व्यवस्थापन र भाषाका छात्रछात्राहरूका लागि भने यो वर्ष कमजोर साबित हुनसक्छ ।
करियर : यो वर्ष वैदेशिक क्षेत्रको काम बन्ने तथा नयाँ रोजगारीको अवसर मिल्ने योग छ । निजी क्षेत्रका कर्मचारीको पदोन्नति होला । सञ्चार, चालक तथा सौन्दर्य पेसामा आबद्ध व्यक्तिहरूले राम्रो सफलता हात पार्नेछन् । शेयर बजार अनि संयुक्त लगानी भने फलदायी नहुन सक्छ ।
स्वास्थ्य : यो वर्ष शनिको अन्त्य साढेसातिले गर्दा यात्रा गर्दा वा गाडी चलाउँदा चोटपटकको भय छ । स्वास्थ्यमा नयाँ समस्या देखा पर्न सक्छ । खानपिनमा ध्यान पुर्याउनु होला । घर परिवारको स्वास्थ्यमा थप खर्च हुनसक्छ । त्यसैले सबैको स्वास्थ्य प्रति सचेत रहनु उपयुक्त हुन्छ ।
शुभ रङ्ग तथा अङ्क : मकर राशिका लागि निलो, सेतो, खरानी तथा हरियो शुभ रङ्ग हो भने १, २, ६ र ८ शुभ अङ्क हो ।
सुझाव : बृहस्पति र शनिको नकारात्मक प्रभावबाट जोगिन प्रत्येक शनिवार पिपलको बोटमा जल चढाउनु उपयुक्त हुन्छ । दुर्गा माताको दर्शन, पूजा र उपासना गर्नुका साथै बृहस्पति र शनिको ग्रह पूजा, जप, हवन गराउँदा ग्रह पीडा कम हुनेछ भने भाग्य वृद्धि हुनेछ ।
पद-प्रतिष्ठा प्राप्तिका लागि दैनिक रोगीहरूको सेवा गर्नु राम्रो हुनेछ । जन्मदिनमा पिपलको वृक्ष रोप्न सके ग्रह वाधा कम होला । प्रत्येक दिन गुरु तथा माता पिताको आशीर्वाद लिने, सत्य बोल्ने जस्ता व्यवहार बाट पनि चाँडै सफलता पाइनेछ ।
प्रतिक्रिया