कुम्भ राशिका लागि वर्ष – २०८०

कुम्भ राशिका व्यक्तिहरूका लागि वर्ष २०८० त्यति खास होला जस्तो देखिँदैन । शनि, बृहस्पति, राहु र केतुको प्रभावले वर्ष भरी नै कमजोर बनाउन सक्छ । काममा ढिलासुस्तीको सामना गर्नुका साथै आर्थिक नोक्सानी समेत भोग्नु पर्ला । यद्यपि जन्म कुण्डलीमा यी ग्रहहरूको अवस्था राम्रो भए नकारात्मक फलको सामना गर्नु पर्दैन भने भाग्य वृद्धि समेत हुनेछ । आँटेको र गरेको काममा सफलता हात लाग्नेछ । नसोचेको ठाउँबाट चमत्कारिक लाभ मिल्न सक्छ ।
व्यापार – व्यवसाय : यो वर्ष आर्थिक समस्या बढ्ने देखिन्छ । खाद्यान्न, निर्माण, दलाली तथा तरल पदार्थमा गरिएको लगानीबाट राम्रो प्रतिफल पाइनेछ । सेयर बजार र धातु जन्य सामानको व्यवसायमा नोक्सानी हुन सक्छ । शैक्षिक क्षेत्र, वैदेशिक लगानी तथा वित्तीय संस्थामा गरिएको लगानीबाट पनि भनेजस्तो प्रतिफल नआउला । आर्थिक दृष्टिले जेठ र कात्तिक महिनामा धन हानी हुनेछ भने वैशाख, साउन, पुस तथा फागुन महिना लाभप्रद रहनेछन् ।
प्रेम जीवन : यो वर्ष प्रेम प्रसङ्गका लागि सामान्य छ । प्रेममा सफलता प्राप्त गर्न धैर्य र सत्यताको आवश्यकता पर्नेछ । कसै कसैको जन्म कुण्डली राम्रो भए प्रेम सम्बन्ध विवाहमा परिणत हुनसक्छ ।
शिक्षा : यो वर्ष विद्यामा ह्रास आउन सक्छ । घरबाट टाढिएर स्वदेश तथा विदेशमा पढ्न गएका विद्यार्थीहरूले मेहनत अनुसार सफलता प्राप्त गर्न गार्हो छ । भाषा र गणित विषयका विद्यार्थीहरूले भने विशेष सफलता हात पार्न सक्छन् । असार र भाद्र महिनामा राम्रो परिणाम आउने देखिन्छ ।
करियर : दबाब र तनाव बढे पनि नयाँ जागिरको अवसर देखिँदै छ । वैदेशिक रोजगारीको सम्भावना पनि छ । पर्यटन तथा प्राविधिक क्षेत्रका पेसाकर्मीहरूले भनेजस्तो सफलता हात पार्नेछन् । राजनैतिक तथा सामाजिक क्षेत्रमा ख्याति कमाउन सकिनेछ । कार्य क्षेत्रमा शत्रु बाधालाई भने पन्छाउनु पर्नेछ ।
स्वास्थ्य : यो वर्ष स्वास्थ्यमा नयाँ समस्या देखा पर्न सक्छ । रक्तसञ्चार, नसा, टाउको वा आँखाको समस्या बढ्ने देखिन्छ । परिवारको स्वास्थ्य उपचारमा पनि धन खर्च हुनसक्छ । मानसिक चिन्ताबाट जोगिन उचित परामर्शका साथै आहार – बिहारमा सजगता अपनाउनु होला ।
शुभ रङ्ग तथा अङ्क : कुम्भ राशिका लागि सुन्तला , रातो, खैरो, सेतो तथा पर्पल शुभ रङ्ग मानिएको छ भने शुभ अङ्क १, २, ३, ७ तथा ८ हो ।
सुझाव : प्रत्येक बिहीबार लक्ष्मीनारायणको दर्शन पूजा, आराधना एवं पूजा गर्नाले ग्रह पीडा कम भई शुभ फल मिल्नेछ । विपन्न वर्गका विद्यार्थीहरूलाई सहयोग गर्ने, खानेकुरा दिने तथा मान्यजनको आशीर्वाद लिने काममा पछि नहट्नु होला ।
कुनै शुभ कर्म गर्न पूर्व वा यात्रामा जानु अघि आफ्नो पितृदेवको आशीर्वाद लिए काममा अधिक सफलता हात पार्न सकिनेछ ।
प्रतिक्रिया