स्टक एक्सचेन्ज र कमोडिटी मार्केटको लाइसेन्सका लागि आवेदन

काठमाडौं । धितोपत्र बजारमा नयाँ स्टक एक्सचेन्ज र वस्तु विनिमय बजार (कमोडिटी मार्केट) सञ्चालनका लागि इजाजत लिन समान दुई-दुईवटा कम्पनीको आवेदन परेको छ ।
नयाँ स्टक एक्सचेन्ज र कमोडिटी मार्केटको इजाजत पत्र लिनका लागि आवदेन दिने आज अन्तिम दिन रहेकोमा चारवटा कम्पनीको आवेदन दर्ता भएको नेपाल धितोपत्र बोर्डले जनाएको छ ।
‘कमोडिटी मार्केटका लागि मेक्स नेपाल र मल्टिडेरिभेटिभ एक्सचेन्जको आवेदन परेको छ भने नयाँ स्टक एक्सचेन्जका लागि हिमालयन स्टक एक्सचेन्ज र नेशनल स्टक एक्सचेन्ज अफ नेपालको आवेदन परेको छ’,बोर्डका सूचना अधिकारी तेजप्रसाद देवकोटाले जानकारी दिए ।
सर्वोच्च अदालतको गत चैत २६ गतेको फैसलाले नयाँ स्टक कम्पनी, कमोडिटी मार्केट र धितोपत्र कारोबारका लागि नयाँ दलाल व्यवसायी (ब्रोकर) लाइसेन्स जारी गर्न बोर्डलाई बाटो खुलेको थियो ।
धितोपत्र बजारको विकास तथा विस्तारका लागि नयाँ स्टक एक्सचेन्ज तथा कमोडिटी मार्केट खोल्न र थप ब्रोकर लाइसेन्स खुलाउन आवश्यक रहेको बोर्डले बताउँदै आएको छ । धितोपत्र बजारलाई थप प्रतिस्पर्धी, प्रभावकारी, लगानीकर्तामैत्री एवम् अन्तर्राष्ट्रियस्तरको प्रविधि सहितको बनाउन पनि बजारमा नयाँ स्टक चाहिने बोर्डको भनाइ छ ।
प्रतिक्रिया