भारी हिमपातकाबीच खुल्यो चारधामको यात्रा

काठमाडाैं । २२ अप्रिल अक्षय तृतीयाका दिन उत्तराखण्डका चार धाममध्ये दुई धाम गंगोत्री र यमुनोत्री भक्तजनका लागि खोलिएसँगै २५ र २७ अप्रिल केदारनाथ र बद्रीनाथ धामका द्वार खोल्ने पुर्वतयारि थियो । यद्यपि अहिले उत्तराखण्ड सरकारले केदारनाथ धाम नजिक भारी हिमपात भएको जानकारी दिएको छ । केदारनाथ धामको ढोका आज २५ अप्रिल खोलिने भनिए पनि मन्दिर क्षेत्रमा भारि हिमपात भै रहेकोछ ।
समाचार एजेन्सी एएनआईले सरकारलाई उद्धृत गर्दै केदारनाथ धाम नजिक र त्यहाँ पुग्ने बाटोमा तीनदेखि चार फिट सम्म हिउँ परेको जनाएको छ। मौसम विभागको चेतावनीपछि अहिले त्यस क्षेत्रको यात्राको दर्ता समेत रोकिएको छ । उत्तराखण्ड सरकारले यात्रुहरूको दर्ता अप्रिल ३० सम्मका लागि रोकिएको जनाएको छ । उत्तराखण्डमा २२ अप्रिलदेखि नै चारधाम यात्रा सुरु भएको हो । समाचार एजेन्सी एएनआईले सरकारलाई उद्धृत गर्दै भनेको छ कि यात्रा सुरु भएदेखि नै यमुनोत्रीमा दुई तीर्थयात्रीको हृदयघातका कारण मृत्यु भएको थियो। उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले अप्रिल २५ मा केदारनाथ धाम तथा २७ अप्रिलमा बद्रीनाथ धामको ढोका खुल्ने बताएका थिए ।
चारधाममा आउने भक्तहरू बद्रीनाथ, केदारनाथ, गंगोत्री र यमुनोत्रीको दर्शन गर्छन्। उत्तराखण्ड पर्यटन विकास परिषद्ले गत महिनाको प्रारम्भमा नै चारधाम तीर्थयात्राका लागि ६ लाख ३४ हजार भक्तजन दर्ता भैसकेका बताएको थियो । सरकारी अधिकारीहरूले हिँडेर वा हेलिकप्टरबाट केदारनाथ मन्दिरको यात्रा गर्न सकिने बताएका छन् । परिषद्का अनुसार केदाननाथ यात्राका लागि दुई लाख ४१ हजार र बद्रीनाथका निम्ति २ लाख १ हजार, यमुनोत्री जान ९५ हजार १ सय ७ जना तथा गङ्गोत्रीको यात्राका निम्ति ९६ हजार ४ सय ४९ जनाले आवश्यक प्रक्रिया पूरा गरेका थिए । ती मध्ये अहिले हजारौं भक्त केदारनाथ पुगि सकेका छन जसलाई आज यो मन्दिरको ढोका खुल्ने इन्तजार छ । उत्तराखण्डको चारधाम यात्रा यमुनोत्रीबाट सुरु हुन्छ, त्यसपछि भक्तहरू गंगोत्री, त्यसपछि केदारनाथ र अन्तमा बद्रीनाथ धाममा पूजा गरेर यो यात्रा पूरा हुन्छ। यमुनोत्रीको मन्दिर टिहरी गढवालका महाराज प्रतापशाहले मन्दिर बनाएका थिए। पछि जयपुरकी महारानी गुलेरियाले त्यसको पुनर्निर्माण गराईन ।
यमुना नदीको वास्तविक स्रोत जमेको हिउँ र हिमनन्द (चम्पासर ग्लेशियर) को ताल हो। गंगोत्रीमा गंगा माताको पूजा गरिन्छ । यमुनोत्रीमा यमुनामैया, केदारनाथमा शिवको ज्योतिर्लिङ्ग र बद्रीनाथमा भगवान विष्णुको पूजा गरिन्छ। गंगोत्री र यमुनोत्री दुवै उत्तरकाशी जिल्लामा छन्। केदारनाथ रुद्रप्रयाग र बद्रीनाथ चमोली जिल्लामा छन् । पुराण अनुसार राजा भगीरथले गंगालाई पृथ्वीमा ल्याएका थिए । गंगा मूलतः गोमुखबाट उत्पत्ति भए पनि गङ्गोत्रीमा गंगामाताको पूजा गरिन्छ । माता गंगाको मन्दिर गोरखा (नेपाली) ले कुमाऊँ-गढवालमा १७९० देखि १८१५ सम्म शासन गर्दा निर्माण भएको थियो । त्यतिबेला गङ्गोत्री मन्दिरको स्थापना गोरखा सेनापति अमरसिंह थापाले गरेका थिए। यो क्षेत्रमा राजा भगीरथ भगवान शिवलाई प्रसन्न तुल्याउन तपस्या गरेर बसेका थिए । यहाँ शिव प्रकट हुनु भयो र गंगाको प्रवाहलाई आफ्नो जटामा राखेर शान्त गर्नुभयो। त्यसपछि गंगाको पहिलो धारा पनि यही क्षेत्रमा परेको थियो । गढवाल क्षेत्रलाई केदारखण्ड पनि भनिन्छ। केदारनाथ धाम महाभारतमा पनि उल्लेख छ। महाभारत युद्धपछि पाण्डवहरूले यहाँ पूजा गरेको विश्वास गरिन्छ। यहाँ आदिगुरु शंकराचार्यको मन्दिर पनि छ ।
केदारनाथ उत्तराखण्डका चार धामहरूमध्ये तेस्रो नम्बरमा र १२ ज्योतिर्लिङ्गहरूमध्ये ११ औं स्थानमा छ । यो सर्वोच्च स्थानमा स्थापित ज्योतिर्लिङ्ग हो। बद्रीनाथ मन्दिरको इतिहास धेरै पुरानो छ। यहाँ करिब ८ औं शताब्दीपछि आदिगुरु शंकराचार्यले मन्दिर निर्माण गराएका हुन । भगवान विष्णुले यस क्षेत्रमा तपस्या गरेको कथा प्रचलित छ। त्यतिबेला महालक्ष्मीले भगवान विष्णुलाई बद्री अर्थात् बरको रुख बनेर छाँया दिएकी थिइन् र खराब मौसममा उहाँको रक्षा गरेकी थिइन् । लक्ष्मी जीको यो समर्पणबाट भगवान प्रसन्न भए र उनले यस ठाउँलाई बद्रीनाथको नामले प्रसिद्ध हुने वरदान दिए। बद्रीनाथ धाममा विष्णुजीको एक मिटर अग्लो कालो ढुङ्गाको मूर्ति स्थापना गरिएको छ । आदिगुरु शंकराचार्यले तोकेको व्यवस्था अनुसार बद्रीनाथ मन्दिरका मुख्य पुजारी दक्षिण भारतको केरला राज्यका हुन्छन । यो मन्दिर करिब ३१०० मिटरको उचाइमा अवस्थित छ ।
प्रतिक्रिया