बिहीबार, वैशाख ११, २०८२

यात्रा चार धामको

नेपालखोज २०८० वैशाख १९ गते ५:१८

वैशाख ९ गते (अप्रिल २२) अक्षय तृतीया कै दिन भारतको उत्तराखण्डका दुई चार धाम गंगोत्री र यमुनोत्री भक्तजनका लागि खुलिसकेका थिए । त्यसपछि वैशाख १२ र १४ गते ९ अप्रिल २५ र २७ तारिख ० केदारनाथ र बद्रीनाथ धामका द्वार पनि खुला गरिए । उत्तराखण्डको चारधाम यात्रा यमुनोत्रीबाट सुरु हुन्छ, त्यसपछि भक्तहरू गंगोत्री, त्यसपछि केदारनाथ र अन्तमा बद्रीनाथ धाममा पूजा गरेर यो यात्रा पूरा हुन्छ।

यमुनोत्री

यमुनोत्री उत्तराखण्डको गढवालको सबैभन्दा पश्चिमी मन्दिर हो। यमुनोत्री यमुना नदीको उद्गमस्थल हो। यो स्थान देवी यमुनाको मन्दिर र पवित्र तातोपानीका लागि परिचित छ। यमुना मन्दिर टिहरी गढवालका महाराज प्रताप शाहले निर्माण गराएका थिए।

गंगोत्री

गंगोत्री उत्तरकाशीमा समुद्र सतहबाट ३२०० मिटरको उचाइमा छ। यहाँ पवित्र गंगा नदीको मन्दिर छ जहाँ मानिसहरु नुहाएपछि पुग्छन् । गंगोत्रीमा गंगा माताको पूजा गरिन्छ । यमुनोत्रीमा यमुनामाता , केदारनाथमा शिवको ज्योतिर्लिङ्ग र बद्रीनाथमा भगवान विष्णुको पूजा गरिन्छ। गंगोत्री र यमुनोत्री दुवै उत्तरकाशी जिल्लामा छन्। केदारनाथ रुद्रप्रयाग र बद्रीनाथ चमोली जिल्लामा छन् । पुराण अनुसार राजा भगीरथले गंगालाई पृथ्वीमा ल्याएका थिए । गंगा मूलतः गोमुखबाट उत्पत्ति भए पनि गङ्गोत्रीमा गंगामाताको पूजा गरिन्छ । १७९० देखि १८१५ सम्म कुमाऊँ(गढवालमा नेपालको शासन थियो, त्यतिबेला गोरखा फौजका सेनापति अमरसिंह थापाले गंगोत्री मन्दिर निर्माण गर्न लगाएका थिए। यो क्षेत्रमा राजा भगीरथले भगवान शिवलाई प्रसन्न तुल्याउन तपस्या गरेका थिए । भगवान शिव यहाँ प्रकट हुनुभयो र गंगाको प्रवाहलाई आफ्नो जटामा समेटेर शान्त गर्नुभयो। त्यसपछि गंगाको पहिलो धारा यही क्षेत्रमा परेको थियो ।

केदारनाथ

केदारनाथमा भगवान शिवको मन्दिर छ। यो मन्दिर समुद्र सतह बाट ३,५८४ मिटरको उचाइमा छ। यहाँ मन्दाकिनी नदी छ । केदारनाथ धाम भगवान शिवको १२ ज्योतिर्लिङ्ग मध्ये एक हो। गढवाल क्षेत्रलाई केदारखण्ड पनि भनिन्छ। केदारनाथ धामको उल्लेख महाभारतमा पनि छ। महाभारत युद्धपछि पाण्डवहरूले यहाँ पूजा गरेको विश्वास गरिन्छ । यहाँ आदिगुरु शंकराचार्यको मन्दिर पनि छ । केदारनाथ उत्तराखण्डका चार धाममध्ये तेस्रो नम्बरमा र १२ ज्योतिर्लिङ्गमध्ये ११ औं स्थानमा छ । यो सर्वोच्च स्थानमा स्थापित ज्योतिर्लिङ्ग हो।

बद्रीनाथ

बद्रीनाथ अलकनन्दा नदीको बायाँ छेउमा समुद्र सतहबाट ३,१३३ मिटरको उचाइमा अवस्थित छ। यहाँ भगवान विष्णुको मन्दिर छ । बद्रीनाथ मन्दिरको इतिहास धेरै पुरानो छ। यहाँ करिब ८ औं शताब्दीपछि आदिगुरु शंकराचार्यले मन्दिर निर्माण गराएका थिए । भगवान विष्णुले यो क्षेत्रमा तपस्या गरेको कथा प्रचलित छ । त्यतिबेला महालक्ष्मीले भगवान विष्णुलाई बद्री अर्थात् बरको रुख बनेर छाया दिएकी थिइन् र खराब मौसममा उहाँको रक्षा गरेकी थिइन् । लक्ष्मी जीको यो समर्पणबाट भगवान प्रसन्न भएर उनले यो ठाउँलाई बद्रीनाथको नामले प्रसिद्ध हुने वरदान दिए । बद्रीनाथ धाममा भगवान विष्णुको एक मिटर अग्लो कालो ढुङ्गाको मूर्ति स्थापना गरिएको छ । आदिगुरु शंकराचार्यले तोकेको व्यवस्था अनुसार बद्रीनाथ मन्दिरका मुख्य पुजारी दक्षिण भारतको केरल राज्यका हुन्छन ।

प्रतिक्रिया