देवर्षि नारद मुनि सम्बन्धि रोचक तथ्य !

वैशाख २३ गते शनिबार (६ मे) का दिन विष्णुजीका परम भक्त नारदजीको जयन्ती मनाइन्छ । देवऋषि नारद मुनिलाई भगवान विष्णुको परम भक्त मानिन्छ । प्रत्येक वर्ष जेठ महिनाको कृष्ण पक्षको प्रतिपदा तिथिलाई नारद जयन्तीका रुपमा मनाइन्छ । देवर्षि नारद मुनिले देवता र दानवहरूलाई सन्देश दिन पृथ्वी, आकाश र पाताल तीनै लोकको यात्रा गर्थे । उनलाई विश्वको पहिलो पत्रकार पनि भनिन्छ । नारदजी यस्तो पौराणिक चरित्र हुनुहुन्छ, जो दर्शनमा सिद्ध हुनुहुन्थ्यो । धेरै शास्त्रहरूले उनलाई विष्णुको अवतार पनि मानेका छन् ।
नारदजीलाई किन देवर्षि भनिन्छ ?
श्रीमद्भगवद्गीताको दशौं अध्यायको २६ औं श्लोकमा भगवान कृष्णले नारदजीका लागि भन्नुभएको छ– देवर्षिणाम् च नारदस्। अर्थात् देवर्षिहरूमा म नारद हुँ । पौराणिक कथा अनुसार नारद जीले देवता र दानवहरूलाई सही मार्गमा डोऱ्याउनुभएको थियो। यही कारणले उहाँलाई विश्वमा सम्मानको नजरले हेरिएको थियो । देवर्षि नारद ऋषि वेदव्यास, वाल्मीकि, शुकदेवका गुरु थिए, राजा अम्बरीश, प्रह्लाद, ध्रुव जस्ता महान् भक्तहरूलाई नारद जीले ज्ञान र प्रेरणा दिएर भक्तिमार्गमा हिंड्न प्रेरित गरेका थिए, त्यसैले नारद जीले देवर्षिको पद पाएका थिए।
नारद कसरी प्रकट भए ?
नारदलाई ब्रह्माका सात मानस पुत्र मध्ये एक मानिन्छ । शास्त्रमा उल्लेख भएअनुसार ‘नर’ शब्दको अर्थ पानी हो। ज्ञान दिने, जल दान गर्ने र सबैलाई अर्पण गर्ने कौशलका कारण उहाँलाई नारद भनिन्थ्यो । ब्रह्मवैवर्तपुराणका अनुसार नारदको उत्पति ब्रह्माजीको गलाबाट भएको हुनाले उहाँ वेदांग, संगीत, श्रुति(स्मृति, व्याकरण, ज्योतिष(भूगोल, इतिहास, पुराण, ज्योतिष, योग आदि धेरै शास्त्रहरूमा निपुण हुनुहुन्थ्यो । नारद मुनिलाई अमर पनि मानिन्छ।
विष्णुमा विश्वास गर्ने नारदले किन दिए श्राप ?
श्री नारायणको वरदानले नारद मुनिले वैकुंठ सहित तीनै लोकमा स्वतन्त्र रूपमा घुमफिर गर्ने वरदान पाए तर के भयो कि उनले आफ्नो परम प्रिय विष्णुजीलाई श्राप दिए । रामायणको एउटा घटना अनुसार नारदजीले वासनामाथि विजय पाएकोमा गर्व गरे । उनको घमण्ड तोड्न श्रीहरिले भ्रमको एउटा सहर बनाए, जहाँ एक सुन्दर राजकुमारीको स्वयंवर चलिरहेको थियो।
नारदजी पनि त्यो स्वयंवरमा पुगे र राजकुमारिलाई देखेर उनको होश हरायो । नारदजीले ती राजकुमारिसँग विवाह गर्न विष्णुसँग सुन्दर रूप मागे।
श्रीरामले पत्नीबाट वियोग सहनुको कारण
आफ्ना भक्त नारदको भलाईका लागि भगवान विष्णुले उनलाई बाँदरको मुख दिएर स्वयं स्वयंवरमा पुगेर राजकुमारीसँग विवाह गरे । पानीमा आफ्नो मुख देख्ने बित्तिकै नारद जी क्रोधित भए र विष्णुलाई श्राप दिए कि उनले पनि पत्नी वियोग सहनु पर्नेछ । भनिन्छ त्रेतायुगमा नारद जीको श्रापका कारण विष्णुका अवतार श्रीरामले माता सीताबाट वियोग भोग्नुपरेको थियो ।
प्रतिक्रिया