बिहीबार, वैशाख ११, २०८२

पर्व मनाउँदा पनि ‘नाे कोशी’

नेपालखोज २०८० वैशाख २६ गते १४:४५

लन्डन । कोशी प्रदेशको नामांकरणको विरोध गर्दै किरात राई यायोक्खा (किराया), बेलायतले उभौली पर्व मनाएको छ । गत शनिवार किराँत हाउस ग्याम्बल लेन गिल्डफोर्डमा साकेला मनाउँदै नेपालको तत्कालीन प्रदेश नं. १ को नाम कोशी राखिएकोप्रति विरोधस्वरूप ‘नाे कोशी’अङ्कित पर्चासमेत प्रदर्शन गरिएको थियो ।

पुर्खा रत्नबहादुर राईको प्रमुख आतिथ्यता एवम् गिल्डफोर्ड बोरो अफ काउन्सिलका मेयर मासुक मिहको विशेष आतिथ्यतामा उभौली मनाइएको हो । सो समारोहमा गैरआवासीय नेपाली सङ्घ, बेलायतका अध्यक्ष प्रेम गाहामगर, किराया बेलायतका अध्यक्ष चन्द्रबहादुर राई, काउन्सिलरद्वय नेम थापा र जीव बेल्बासेलगायत तमु प्हे ल्हु संघ, बेलायतका अध्यक्ष अमर गुरुङ, नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ, बेलायतकी अध्यक्ष गोमा राना, किरात याक्थुङ चुम्लुङ, बेलायतका महासचिव जुरेन्द्र खजुम, मगर संघ, बेलायतका उपाध्यक्ष रुद्र थापा, धरान समाज, बेलायतका अध्यक्ष रमेश लिम्बू, फोल्कस्टन नेपाली समाज, बेलायतका पूर्वअध्यक्ष चन्द्र गुरुङ, एभरेष्ट टाइम्सका प्रबन्धक निर्देशक नगेन्द्र नेम्वाङको समेत उपस्थिति रहेको थियो ।

औपचारिक कार्यक्रम समापनपछि बहुभाषिक किराँत राई जातिको भाषिक संस्था (समुदायहरू) साम्पाङ राई, चाम्लिङ राई, बान्तवा राई आदिले भाषागत र थरगत सिली प्रदर्शन गरेका थिए भने र किराया बेलायतको स्ठानीय समन्वय परिषद् ग्रेटर रसमोरको तर्फबाट साकेला सिली प्रदर्शन गरिएको थियो ।

साकेला नाकछोङ किताबशेर राई र टोकाया जगत राईले सिमे/भूमे पुजेर उभौली साकेला मनाइएको अध्यक्ष चन्द्रबहादुर राईले जानकारी दिए । उनका अनुसार कार्यक्रममा सिलिमोमा-सिलिमोपालगायत झ्याम्टा ढोल बजाउँदै साकेला-सिली प्रदर्शन गरिएको थियो ।

प्रतिक्रिया