तीन अङ्कले घट्दा ५७ करोड ८८ लाखको सेयर कारोबार

काठमाडौं । साताको अन्तिम कारोबार दिन पनि नेप्से घटेको छ । अघिल्लो दिन दुई दशमलव ४३ अङ्कले घटेको नेप्से आज बिहीबार पुन तीन दशमलव ३४ अङ्कले घटेर १८ सय ३८ दशमलव ५९ अङ्कमा झरेको छ ।
यसै गरी सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव ७१ अङ्कले घटेर तीन सय ५३ दशमलव शून्य नौ अङ्कमा झरेको छ ।
नेप्सेमा दुई सय ५९ वटा कम्पनीहरूको १६ हजार दुई सय चार पटकको कारोबारमा २१ लाख पाँच हजार छ सय ५७ कित्ता सेयर खरिद बिक्री हुँदा कुल कारोबार रकम ५७ करोड ८८ लाख ४१ हजार पाँच सय ९३ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समूहहरूको कारोबार भएकोमा तीन वटा समूहहरूको सूचक बढेर बाँकी समूहहरूको सूचक घटेका छन् । जसमध्ये वाणिज्य बैङ्क समूहको सूचक शून्य दशमलव ६२ अङ्कले बढेर १२ सय १४ दशमलव १७ अङ्कमा पुगेकोमा जीवन बिमा समूहको सूचक पनि एक दशमलव ७२ अङ्कले बढेर नौ हजार दुई सय ३८ दशमलव ५२ अङ्कमा पुगेको छ । यसै गरी सामूहिक लगानी कोष समूहको सूचक पनि शून्य दशमलव शून्य छ अङ्कले बढेको छ ।
विकास बैङ्क समूहको समूहको सूचक भने १६ दशमलव ६४ अंंकले घटेर तीन हजार तीन सय ९१ दशमलव ८८ अङ्कमा झरेकोमा जलविद्युत समूहको सूचक पनि नौ दशमलव ४२ अङ्कले घटेर २२ सय ८९ दशमलव ५६ अङ्कमा झरेको छ । यसै गरी निर्जिवन बिमा समूहको सूचक पनि २६ दशमलव ९६ अङ्कले घटेर आठ हजार चार सय ५३ दशमलव ५२ अङ्कमा झरेकोमा फाईनान्स, लगानी, उत्पादनमूलक, लघुवित्त, अन्य र टेडिङ समूहहरूको सूचक पनि घटेका छन् ।
नेप्सेमा आज आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य छ दशमलव १० प्रतिशतले बढेर छ सय ६१ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा फरवार्ड कम्युनिटी माइक्रो फाईनान्स लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य पाँच दशमलव ९९ प्रतिशतले घटेर एक हजार एक सय १५ रुपैयाँ अन्तिम मूल्यमा कारोबार भएको छ ।
नेपाल टेलिकमको भने आज सात सय ९० रुपैयाँ अन्तिम मूल्यमा तीन करोड १५ लाख छ हजार तीन सय ६३ रुपैयाँ बराबरको रकम कारोबार भएको छ । यो आज भएका कम्पनीहरूको कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।
प्रतिक्रिया