बुधबार, वैशाख १०, २०८२

नेपाल लाइफ इन्स्योरेन्सको नाफामा ३२९.५२ प्रतिशतको वृद्धि

नेपालखोज २०८० वैशाख ३० गते १२:२८

काठमाडौं । नेपालकै सर्वाधिक विश्वासिलो जीवन बिमा कम्पनी नेपाल लाइफले चालु आ.व को तेस्रो त्रैमाससम्ममा उल्लेखनीय प्रगति गरेको छ ।

कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफामा तीन सय २९ दशमलव ५२ प्रतिशतको वृद्धि भएको छ ।

यस त्रैमासिक अन्त्य सम्ममा कम्पनीको जगेडा तथा कोषमा करिब ४८ करोड रुपैयाँ रहेको छ जुन अघिल्लो आ.व.को सम्बन्धित त्रैमासिक अन्त्य सम्मको आधारमा नौ दशमलव ४० प्रतिशतले बढी हो ।

गत आर्थिक वर्षको सोही अवधिमा करिब एक खर्ब ३१ अर्ब १६ करोड रुपैयाँ रहेको जीवन बिमा कोष १९ दशमलव ८३ प्रतिशतले बढी करिब एक खर्ब ५७ अर्ब १६ करोड रुपैयाँ पुगेको छ । महाविपत्ति कोषमा ८३ करोड रुपैयाँ रहेको छ जुन गत आर्थिक वर्षको सोही अवधिमा तुलनामा १५ दशमलव ४९ प्रतिशतले बढी हो ।

कम्पनीको लगानी २० दशमलव शून्य सात प्रतिशतले बढेको छ । चैत मसान्तसम्म कम्पनीले एक खर्ब ६२ अर्ब २८ करोड रुपैयाँ लगानी गरेको छ ।

विवरण अनुसार कम्पनीको भुक्तानी हुन बाँकी दाबी उलेख्य रूपमा घटेको छ । गत आर्थिक वर्षको सोही अवधिमा करिब एक अर्ब २८ करोड रुपैयाँ भुक्तानी हुन बाँकी दाबी बापत व्यवस्था गरिएकोमा चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ३४ दशमलव १९ प्रतिशतले घटी ८४ करोड रुपैयाँ रहेको छ ।

यसै गरी चैत मसान्त सम्ममा २६ अर्ब ८३ करोड ७४ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ भने ११ अर्ब ८२ करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । समीक्षा अवधिमा कम्पनीको खुद दाबी भुक्तानी ११ दशमलव ४४ प्रतिशतले बढेको छ । यस त्रैमासमा आफ्नो दाबी भुक्तानी प्रक्रियालाई चुस्त दुरुस्त छिटो छरितो बनाइनु नै यस उपलब्धिको कारण हो भन्ने कुरा कम्पनीले जनाएको छ ।

चुक्ता पुँजी आठ अर्ब २० करोड रुपैयाँ रहेको कम्पनीको समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी सात रुपैयाँ २५ रुपैयाँ रहेको छ । यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ एक सय १६ रुपैयाँ एक पैसा मूल्य अनुपात आम्दानी ९३ दशमलव १९ गुणा, प्रति शेयर कुल सम्पत्तिको मूल्य दुई हजार ९० रुपैयाँ र औसत प्रतिफल दर १० दशमलव ८४ प्रतिशत रहेको छ ।

समग्रमा देशमा उत्पन्न भएको आर्थिक सङ्कटले बिमा क्षेत्रमा परेको प्रभावको बिच पनि नेपाल लाइफले उत्कृष्ट नतिजा ल्याउन सफल हुनुलाई कम्पनीको सबल पक्षको रूपमा लिन सकिन्छ ।

आगामी दिनमा कम्पनीलाई थप प्रभावकारी रूपमा सञ्चालन गर्न विभिन्न संरचनात्मक, प्रक्रियागत सुधारहरू अवलम्बन गर्दै नेपालीहरूको घर दैलोमा गुणस्तरीय बिमा सेवा प्रवाह गर्न कम्पनी तत्पर रहेको र त्यसलाई मूर्तरूप प्रदान गर्न कम्पनी अहोरात्र लागिरहेको कुरा नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले बताएका छन् ।

प्रतिक्रिया