कर बुझाउने विषयमा जबरजस्ती नगर्न व्यवसायीहरुको चेतावनी
काठमाडौं । सरकारले कर बुझाउन तोकेको समय बढाउन राष्ट्रिय उद्योग व्यापार महासंघले माग गरेको छ । महासंघले लकडाउन भई उद्योग व्यवसाय पूर्णरुपमा बन्द रहेको बेला सरकारले जेठ २५ को समय सीमा तोकेर कर बुझाउन जारी गरेको उर्दीले उद्योग व्यवसायीको घाटी निमोठ्ने काम भएको टिप्पणी गरेको छ ।
महासंघका अध्यक्ष शिव कट्टेलद्धारा बुधबार जारी प्रेस विज्ञप्तिमा त्यसकारण असारदेखि चार महिना थप गरी असोज मसान्तभित्र कर तिरे पुग्ने गरी कर तिर्ने मिति लम्व्याउन माग गरे ।
‘कोभिड १९ को संक्रमणले मुलुक लकडाउनमा भएका भई उद्योग व्यवसायीहरु सवै थिलथिलो रहेको बेला कर उठाउन सरकारले लिएको दोहोरो नीति गलत छ, अध्यक्ष कट्टेलद्धारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘यसले उद्योग व्यवयासीको घाँंटी निमोठ्ने काम मात्रै भएको छ ।’
राजस्व संकलनको लक्ष्य हासिल गर्न नसकेको सरकारले खर्च धान्न धौधौ भएपछि लकडाउनकै बीचमा कर तिर्न उर्दी जारी गरेको थियो ।
बजेटमा पर्याप्त राहत प्याकेज नल्याउँदा असन्तुष्टि जनाइरहेका बेला आन्तरिक राजस्व कार्यालयले कर तिर्न मंगलबार सूचना प्रकाशित गरेको थियो । कर उठाउने विषयमा जबरजस्ती नगर्न सरकारलाई व्यववसायिक संघ संस्थाहरुले पनि चेतावनी दिएका छन् ।
प्रतिक्रिया