सोमबार, वैशाख ८, २०८२

वातावरणमैत्री क्रियाकलापमा सामुदायिक वन

नेपालखोज २०८० जेठ ८ गते ६:३०

काठमाडाैं । जनसंख्या वृद्धिसँगै वनजंगलको विनाश, वनजंगलका झाडी कम र घर वरापरा रहेका खोलाखोल्सीमा झाडी बढी हुँदा पनि चितुवा मानवबस्तितिर आएको भानु–१ स्थित भिमसेनथुम्की सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष प्रेम थापा बताउँछन् । ‘अहिले वन विकासको नाममा काठका रुपमा प्रयोग हुने बोट विरुवा बाहेक अन्य बुटबुट्यान फडानी गर्ने चलन छ । यसले गर्दा चितुवाले लुक्ने ठाउँ पाउँदैन र घर वरापराका झाडीमा लुकेर बस्छ’, उनले भने, ‘जंगलमा स–साना बोटविरुवा, झाँडी तथा सिमसार क्षेत्र नहुँदा अन्य वन्यजन्तु पनि मानवबास्ति वरपर आउने गर्दा चितुवा पनि घरबस्तीमै आइपुगेको हो कि भन्ने हामीलाई लागेको छ ।’

वन्यजन्तु तथा चितुवाको चरिचरण क्षेत्रमा मानिसले कब्जा जमाउँदै जाँदा पनि द्वन्द्व बढेको हुन सक्ने प्रभावित क्षेत्रका बासिन्दा स्वीकार्छन् । ‘वातावरणमैत्री विकास निर्माण नहुँदा अहिले अधिकांश पानीका मुहान सुकेका छन् । अलिअलि भएका पानीका मुहानबाटै पाइपको प्रयोग गरी घरघरमा पानी ल्याइएको छ’, उनले भने, ‘पानी खाना नपाएपछि चितुवा मानवबस्तिमा छिर्छ, अनि आफुभन्दा कमजोरमाथि आक्रमण गरी भोकप्यास मेटाउन खोजेको हो कि भन्ने हामीले पनि महशुस गर्न थालेका छौ।’ पछिल्लो समय घरपालुवा जनवार जस्तै बाख्रा, गाई, भैंसी, गोरु धेरै नपाल्नु, पालेपनि आधुनिक खोरमा राख्नु, पानीका घडा घरबहिरा नराख्नु र जंगलसम्मै बस्ति विस्तार हुनु जस्ता कारणले पनि चितुवा आतंक बढेको थापाको बुझाई छ ।

उनले भने, ‘वनमै घाँसेमैदान, पानी र आहाराको व्यवस्थापन गर्न सके चितुवा मानवबस्तिमा आउँदैन भन्ने जानकारी हुन थालेपछि अहिले हामी प्रभावित क्षेत्रका बासिन्दाहरू मानव र वन्यजन्तु बीचको सहअस्तित्वलाई स्वीकार गर्दै वातावरणमैत्री क्रियाकलाप अगाडि बढाएका छौं।’ वनमा चितुवाको आहारा प्रजाति मृग, हरिण, वन कुखुरा, वन सुंगुर, खरायो, दुम्सि लगायतका साना प्रजातिका वन्यजन्तु लोप हुनुको कारण पनि चितुवा आतंक बढेको स्थानीय कुमारबहादुर खड्काको बुझाई छ। ‘वनमा चोरीशिकारी बढ्यो, चितुवाको आहारा मानिसले खाइदिंदा त्यसको बदलामा हामीले हाम्रा बालबालिका चितुवालाई दिनुपरेको छ’, उनले भने, ‘सरोकारवला निकायले चितुवाको बाँसस्थानका लागि आवश्यक पानी आहारा वनमै व्यवस्थापन गरिदिए हाम्रा बालबालिका सुरक्षित रहन्थे।’

मानव र वन्यजन्तुबिचको द्वन्द्व न्युनिकरणका लागि डिभिजन वन कार्यालय तनहुँ र सम्बन्धित पालिकाको समन्वयमा केही काम भएपनि प्रभावकारी बन्न सकेका छैनन् । डिभिजन वन कार्यालयले आव २०७७/०७८ मा भानुको मजुवा ओख्ले सामुदायिक वन, म्याग्दे गाउँपालिका–२ को उमाचोक सामुदायिक वन र ३ को सिद्धवतासन सामुदायिक वन क्षेत्रमा विभिन्न प्रजातिका वनजन्य फलफूलका विरुवा रोपण गरेको थियो । उक्त कार्यक्रमका लागि १८ लाख ५७ हजार रुपैयाँ खर्च गरिएको डिभिजन वन अधिकृत काफ्लेले बताए । उनले भने, ‘वनमै पानीपोखरी निर्माण, विरुवा रोपण, गोडमेल र संरक्षणका लागि वार्षिक रुपमा बजेट नआउँदा यस्ता कार्यलाई निरन्तरता दिन सकिएको छैन। संरक्षण तथा प्रवद्र्धनका लागि बजेट नहुँदा गरिएका काम पनि प्रभावकारी बन्न सकेका छैनन्।’ यस्तै, वनमै चितुवाको आहाराका लागि स–साना प्रजातिका वन्यजन्तु छाडिने भनेपनि बजेट अभावका कारण यो कार्यक्रम पुरा गर्न नसकेको उहाँले बताउनु भयो। ‘वातावरण सन्तुलन राख्नका लागि चितुवा पनि आवश्यक छन्’, उनले भने, ‘चितुवालाई मार्ने र सबै चितुवा समातेर अन्यत्र स्तान्तरण गरिदिनु पनि यसको समाधान होइन। हामीले जिल्लाभित्र रहेका चितुवाको गणना गरी उनीहरूका लागि वनमै गाँस र बाँसको व्यवस्थापन गर्नुपर्छ। यसका लागि अधिक बजेट र स्रोतसाधानको आवश्यक पर्छ ।’

मानव–वन्यजन्तु द्वन्द्वले आर्थिक भार चितुवा नियन्त्रण वन कार्यालयको मात्रै दायित्व हो भन्ने सोच हटाएर सबै सरोकारवाला निकायले आ–आफ्नो ठाउँबाट यसको नियन्त्रण मात्र होइन संरक्षणका लागि पनि ध्यान दिनुपर्ने डिभिजन वन अधिकृत काफ्ले बताउँछन् । मानव र चितुवा बीचको द्वन्द्वका कारण सरकारलाई पनि आर्थिक भार परेको छ । नेपाल सरकारले चितुवाको आक्रमणमा परी मृत्यु भएका परिवारलाई १० लाख रुपैयाँ र घाइतेलाई २ लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने व्यवस्था गरेको छ ।

सो बमोजिम पीडित भएका परिवारलाई हालसम्म एक करोड २४ लाख ६९ हजार रुपैयाँ बढि रकम राहत वितरण गरिसकिएको डिभिजन वन कार्यालयले जनाएको छ। यस्तै, चितुवा प्रभावित क्षेत्र र आसपासका क्षेत्रमा सचेतनामुलक कार्यक्रम सञ्चालन गरिएको बन्दिपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताउनु भयो। ‘पछिल्लो समय चितुवा आक्रमणबाट मानवीय क्षति नभएपनि कुकुर र बाख्रालाई भने चितुवाले आक्रमण गरिरहेको छ’, उहाँले भन्नुभयो, ‘अझैपनि ढुक्क भएर बस्ने स्थिति छैन। हामीले सबैलाई सचेत रहन आग्रह गरेका छौं। स–साना बालबालिकालाई विद्यालय लग्दा अभिभावककै रेखदेखमा पुर्‍याउन भनिएको छ। साँझ बिहानको समयमा बालबालिकालाई एक्लै नछाड्न, वन जंगल जाँदा समुहमा जान भनेका छौं।’

चितुवा नियन्त्रणका लागि पालिकास्तरबाट सचेतना बाहेकका अन्य काम भने भएका छैनन् । वन्यजन्तु भएका कारण यसको नियन्त्रणमा आफ्नो पहुँच नपुग्ने व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपाने बताउँछन् । उनले भने, ‘वडास्तरबाट सचेतनाको काम त भइरहेका छन्। चितुवा नियन्त्रणका लागि डिभिजन वन कार्यालय लगायतका अन्य सरोकारवाला निकायसँग समन्वय गरेर अगाडि जाना तयार छौं।’ तनहुँमा ८२ हजार ५४९ हेक्टर क्षेत्रफलमा ६२१ वटा सामुदायिक वन छन्। योसँगै राष्ट्रिय र निजी वनहरू पनि छन्। यही वन क्षेत्रसँगै जोडिएर अधिकांश मानिसहरूको बसोवास रहेको छ। सामुदायिक वनले स्थानीय उपभोक्ताको जीवनस्तरमा सुधार पनि ल्याएको छ। वन क्षेत्रको संरक्षण र प्रवद्र्धन हुँदा क्रमिक रुपमा वन क्षेत्र वृद्धि पनि भएका छन्। तर, यही बढ्दो वन क्षेत्र र यहाँ विचरण गर्ने वन्यजन्तुका कारण अहिले मानव र वन्यजन्तुबीच द्वन्द्व बढ्दै गएको छ। INS

प्रतिक्रिया