पुन: सुरु भयो कोरोना बिमा
काठमाडौँ । कोरोना बिमा पुनः सुरु भएको छ। अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोना बिमा बन्द नगर्न बिमा समितिलाई निर्देशन दिएपछि कोरोना बिमा पोलिसी पुनः बेच्न थालिने भएको हो । बिहीबार नेपाल बिमक संघले कोरोना संक्रमित बढ्दै गएको र बिमा कम्पनीहरुको जोखिम बढिरहेको भन्दै कोरोना बिमा स्थगित गर्ने निर्णय गरेको थियो । संघकै निर्णयमा सहमत भएर बिमा समितिले कोरोना बिमा बन्द गर्ने निर्णय गरेको थियो।
सरकारले आगामी आर्थिक वर्षको बजेटमा कोरोना बिमाको कार्यक्रम ल्याएको तर बजेटको कार्यान्वयन पूर्व बिमा बन्द गरेको भन्दै अर्थमन्त्री खतिवडाले समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंलाई चर्को स्वर गरेका थिए।
कम्पनीहरुले कोरोना बिमामा घाटा लाग्ने भन्दै बिमा नगर्ने बताएका थिए। उनीहरुको गैरजिम्मेवारीपनालाई किन साथ दिएको भन्दै अर्थमन्त्रीले चापागाईंसँग चर्को स्वरमा जवाफ मागेको अर्थ मन्त्रालय स्रोतले जानकारी दिएको छ।
यसअघि पोलिसीको अवधि एक वर्षको हुने भनिएको थियो। बिमामा केही नयाँ व्यवस्था गरिएको भनिए पनि पोलीसीमा खासै परिवर्तन गरिएको छैन।
अब गरिने कोरोना बिमाको अवधि भने ०७७ चैत मसान्तसम्मको हुने गरी परिवर्तन गरिएको छ।
यसअघि नै पोलिसी खरिद गरिसकेकाहरुका हकमा भने एक वर्षसम्म दाबी लागू हुनेछ।
समितिले ४ वैशाखमा कोरोना बिमालेख बिक्री गर्ने अनुमति दिएपछि २० वटा बिमा कम्पनीले ७ वैशाखबाट कोराना बिमालेख बिक्री गर्दै आएका थिए।
डेढ महिनाको अवधिमा करिब तीन लाखले बिमालेख खरिद गरेका छन्। जसबाट १६ करोड ५० लाख रुपैयाँभन्दा बढी प्रिमियम संकलन भएको छ।
सरकारले बजेटमार्फत सबै सरकारी कर्मचारीको कोरोना बिमा गर्ने घोषणा गरेको छ। त्यस्तै, कोरोना बिमाको ५० प्रतिशत प्रिमियम अनुदानका रुपमा उपलब्ध गराउने निर्णय गरेको छ।
हाल नेपाल पुनर्बिमा कम्पनीले २० प्रतिशत र २० वटा निर्जिवन बिमा कम्पनीले ४.४ प्रतिशत जोखिम बोकेर कोरोना बिमा पोलिसी बेचिँदै आएको छ।
प्रतिक्रिया