पर्फ्युम र पसिना
युवराज गौतम
२०८० जेठ १३ गते ९:१५

लाखौं युवाले
परदेशबाट प्रियजनलाई पठाएको
पसिनाको पुलिन्दा
गाउँमा पुग्दा पर्फ्युममा अनुवाद भयो ।
जिर्मलेकी जसमाया दिदी
कुँडुलेकी कान्छी सानिमा
सिद्धिथुम्काका शक्तिमान दाजु
चमैताका चिमोरिया मामा
सबै मग्मगाएका छन्
विदेशी सुवासले ।
उहिले ‘घाँस दाउरा’ गर्ने आमाहरु
हलो( कोदालो चलाउने मामाहरु
झापाबाट नूनको भारी बोकेर
सोक्तिम र बर्दुतिर उकालो चढ्नेहरु
ठुस्स पसिनाले टाढै गन्हाउँथे ।
अचेल गाउँलेहरु पनि
विदेशी पर्फ्युमले सुगन्धित छन्
पालेदेखि पण्डितसम्म
खलासीदेखि खरिदारसम्म
सिपाहीदेखि सिडिओसम्म
सबै मगमगाएका छन्।
पेर्मेजुङ,गोदक र जमुनासम्म
गोर्खे, बर्फल्याङ र माईमजुवासम्म
जताततै पेरिसको पर्फ्युम बहुमतमा छ
र, अल्पमतमा पर्दैछ पसिना ।
उत्तरका अग्ला पहाडहरु हेर्दै
म एउटा होचो मान्छे
मनमनै सोचिरहेको छु
स्वदेशी पसिनालाई
विदेशी अत्तरले विस्थापित गर्दा
किन रमाएको छैन मेरो मन ?
सम्बन्धित
प्रतिक्रिया