कोरोना कारण विश्वव्यापी अर्थतन्त्र दोस्रो विश्व युद्धपछि सबैभन्दा खराब हुने विश्व बैंकको पूर्वानुमान
काठमाडौँ । कोरोना भाइरस महामारीका कारण विश्वव्यापी अर्थतन्त्र दोस्रो विश्व युद्धपछि सबैभन्दा खराब हुने विश्व बैंकले पूर्वानुमान गरेको छ ।
विश्व बैंकले सन् २०२० को ग्लोबल इकोनोमिक प्रोस्पेक्ट सार्वजनिक गर्दै कोरोना संक्रमण नियन्त्रणका लागि गरिएको विश्वव्यापी लकडाउनका कारण विश्वको अर्थव्यवस्था यस वर्ष ५.२ प्रशितले संकुचित हुने प्रक्षेपण गरेको हो ।
यो दोस्रो विश्व युद्धपछि विश्व अर्थतन्त्रमा देखिएको सबै भन्दा खराब अवस्था भएको तथा सन् १८७० पछि प्रतिव्यक्ति आयमा सबैभन्दा धेरै कमी आएको समेत विश्व बैंकले जनाएको छ । सन् २०२० मा आन्तरिक मार्ग र आपूर्ति, व्यापार र वित्तीय रूपमा नकारात्मक असर परेको कारण उन्नत अर्थतन्त्रहरूको आर्थिक गतिविधि ७ प्रतिशतले संकुचित हुने अनुमान गरिएको छ ।
उदीयमान बजार र विकासशील अर्थव्यवस्था भएका मुलुकमा यस वर्ष दुई प्रतिशतले संकुचन हुने बैंकको अनुमान छ । समग्रमा हेर्दा अर्थतन्त्रमा ६० वर्षमा संकुचन आउने देखिएको छ ।
यस्तै, प्रतिव्यक्ति आय ३.६ प्रतिशतले गिरावट हुने अनुमान पनि गरिएको छ । जसले गर्दा यस वर्ष लाखौं मानिसहरु चरम गरीबमा जाने बैंकको पूर्वानुमान छ । त्यसैगरी महामारी अनिश्चितकालसम्म लम्बियो भने यो अवस्था अझ खराब हुँदै ८ प्रतिशतसम्म अर्थतन्त्र नकारात्मक हुने समेत विश्व बैंकको प्रक्षेपण छ ।
प्रतिक्रिया