आइतबार, वैशाख ७, २०८२

राज्यले चिन्न नसकेको सम्पदा

सुनिल उलक २०८० जेठ ३२ गते ९:५९

काठमाडौं । वि.सं. २०७० सालमा नेपाल ललित कला प्रज्ञा प्रतिष्ठान र पोखरा पर्यटन परिषद्को संयुक्त समन्वयमा पोखराको फेवाताल किनारमा रहेको कोमा गाने पार्कमा ढुङ्गाका मूर्तिहरू कुँदिएका थिए । 

१५ जना मूर्तिकारमा केही मूर्तिकार विश्वविख्यात मूर्तिकारहरू थिए । तर यिनका अमूल्य ढुङ्गाका मूर्तिका कलाकृति अहिले बेवारिसी अवस्थामा देखिन्छ । न त यसमा पोखरा पर्यटन परिषद्को विशेष चासो रहेको छ । न त ललित कला प्रज्ञा प्रतिष्ठानको नै चासो छ । 

स्वामित्वमा लिएको पोखरा महानगरपालिकाका अघिल्ला मेयर र वडाध्यक्षबाट यसका लागि व्यवस्थापन गर्ने आश्वासन दिए पनि केही नगरी बिदा भइसके । अबका मेयर र नयाँ वडाध्यक्षबाट आशा त राख्न सकिन्छ तर केही पक्कै हुनेछ भन्ने गतिलो विश्वास भने लिन सकिँदैन ।

वि.सं. २०७० असोज १ गते देखि १५ गते सम्म रहेको त्यो मूर्तिकलाको कार्यशालामा स्वदेशी १२ र विदेशी ३ मूर्तिकारहरूले आफ्नो क्षमताको प्रदर्शन गरेका थिए । 

करिब १ करोड लागत लागेको यस कार्यशालामा मूर्तिकला सम्बन्धी अन्तर्राष्ट्रिय संस्था International Association for Monumental Sculpture ले पनि सहयोग गरेको थियो ।

निःशुल्क प्रदर्शनको लागि राखिएको यस बहुमूल्य मूर्तिहरू प्रति न त विशेष जनचासो नै देखिन्छ । पार्क घुम्न पुगेकाहरूले फेकेका पानीका बोटलहरु र खानेकुराका प्याकेटहरू यत्रतत्र देखिन्छ । साथै यही कलाकृति माथि बसेर युगल जोडीहरू प्रेमिल वार्तालाप गरिरहेको पनि देख्न सकिन्छ ।

अब त महानगरमा नयाँ कार्यसमिति आइसकेको छ । केही गरिहाल्छन् कि भन्ने झिनो आशा भने अझै कायमै छ ।

प्रतिक्रिया