बिहीबार, वैशाख ११, २०८२

ओशो सन्यासी बने सांसद सुनिल शर्मा

नेपालखोज २०८० असार ५ गते ११:५६

काठमाडौँ । प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्मा ओशो सन्यासी बनेका छन् । रानीबारीस्थित ओशो तपोवनमा नौ दिन लामो ध्यानपछि सांसद शर्मा ओशो सन्यासी बनेका हुन् ।

विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालकसमेत रहेका कांग्रेस नेता शर्मा मोरङको क्षेत्र नं.३ बाट भारी मतसहित प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । सामाजिक सेवाका क्षेत्रमा सक्रिय शर्मा तलब भत्ता नलिने देशभरका एकमात्र सांसद हुन् ।

बोधिसत्व स्वामी आनन्द अरुणबाट सांसद शर्माले दीक्षा लिएका छन् । ओशो परिवारमा सन्यासी भएर माला ग्रहण गरेपछि नयाँ नाम दिने चलन छ । सांसद शर्मालाई स्वामी आनन्द अरुणले ‘स्वामी विवेकानन्द’ नाम दिएका छन् । सन्यासका क्रममा दिइएको नामबाटै सन्यासीलाई बोलाउने चलन छ । सन्यासी बनेका पुरुषको नाम अगाडि ‘स्वामी’ र महिलाको नाम अगाडि ‘मा’ लेख्ने गरिन्छ ।

यसैबीच, शर्माले ओशो आश्रमलाई ५० लाख आर्थिक सहयोग गरेका छन् । आश्रममा ध्यान गर्ने हल निर्माणका लागि उनले व्यक्तिगत रुपमा सहयोग गरेका हुन् ।

प्रतिक्रिया