बिहीबार, वैशाख ११, २०८२

श्री १००८ खप्तड बाबा 

नेपालखोज २०८० असार ९ गते ५:२८

एक लाख श्लोकहरूको पुञ्ज ‘ महाभारत ‘ संसारमा सर्वोत्कृष्ट र वृहत्तम धर्मग्रन्थ हो । स्कन्दपुराणका ८१,००० श्लोक र पद्मपुराणका ५५,००० श्लोकले हिन्दु – वाङमयमा क्रमशः दोस्रो र तेस्रो स्थान ओगटेका छन् । संस्कृत भाषामा रचित प्रायः १,००० महाकाव्यहरूका नाम आज पनि सुनिन्छन् । प्रत्येक वर्ष लेखिँदै पनि छन् । यी सारा कुरा हुँदा – हुँदै पनि हाम्रा पढे – लेखेका शिक्षित आधुनिक युवकहरूले ‘ हामी पाषाण युगका गुफावासी असभ्यहरूका सन्तान हौँ ‘ भनेको र मानेको सुन्दा मेरा आँखामा सहसा दुःखका आँसु भरिन्छन् , रोक्न खोज्दा पनि रोकिन्नन् । तिमी कसका वंशज हो , आफूलाई चिन !!!

यहाँ ‘विदेशी विद्वान्हरूको हिन्दु दर्शनको विषयमा के धारणा छ र उनीहरू कसरी प्रभावित भएर त्यसको सामु मन्त्रमुग्ध झैँ नतमस्तक हुन्छन्’ भन्ने कुराको उल्लेख गर्नाको एक मात्र अभिप्राय हो- यसबाट हाम्रा शिक्षित समाज यो जान्न र बुझ्न सकोस् कि हाम्रो धर्म एवं संस्कृतिको विषयमा पाश्चात्य जगत्‌को कति आदर भाव छ, अनि हामी किन त्यसबाट पराङ्मुख भएर अन्य धर्म तथा संस्कृतिहरूको अन्धानुकरण गरिरहेका छौँ ? किन आफ्नो धर्म एवम् संस्कृतिमा आत्म गौरव अनुभव गर्दैनौँ ? आफूलाई हिन्दु भन्न, मान्न किन हिचकिचाउँछौँ । स्वयं विचार गर ।

धार्मिक भावको उपेक्षा नै हाम्रो अनुशासनहीनता तथा नैतिक स्तरको हासको प्रमुख कारण हो । आज चाहे जे – जस्तो अवस्था होस् , तर अनादिकालदेखि नै हिन्दु – राष्ट्र सधैँ धर्ममूलक राज्य रही आएको छ । आज समयको प्रभावले गर्दा वा पाश्चात्य सभ्यताको विषालु संसर्गले गर्दा मानिसहरू चाहे धर्मलाई केवल व्यक्तिगत विचार सम्झून् अथवा केवल मन्दिर , मस्जिद र गिर्जा घरको सीमित क्षेत्रको कुरा सम्झून् , तर हाम्रो राष्ट्रमा त अति प्राचीन कालदेखि नै धर्मको विषय जीवनका सम्पूर्ण क्षेत्रहरूमा यति व्यापक रूपमा फेलिएर रहेको छ जसरी शरीरमा रगत । जसरी रक्तहीन शरीरको कल्पना पनि गर्न सकिन्न , त्यसरी नै धर्मनिरपेक्ष राष्ट्रको पनि कल्पना गर्न सकिँदैन । अनुवादको अधूरो प्रणालीले गर्दा आज यस शब्दले युवा वर्गमा आफ्नो विष बडो भद्दा किसिम ले फिजाइदिएको छ , जसले अनुशासनहीनता तथा अनैतिकतालाई प्रोत्साहन दियो र दिइरहेको छ । अङ्ग्रेजी अनुवादले हाम्रो भाषाका शब्दहरूका भावलाई पूर्ण रूपले अभिव्यक्त गर्न सक्तैन र कहिलेकाहीँ त यसले एकदमै भिन्न प्रकारको भाव पनि अभिव्यक्त गरिदिन्छ, जो अनर्थको कारण बन्न सक्तछ ।

धर्मनिरपेक्ष यस्तै एक शब्द हो । यसको वास्तविक अर्थ हो ‘ सबै धर्महरूलाई समान आदर र आफ्नो धर्मप्रति दृढ आस्था एवम् अगाध – श्रद्धा ‘ तथा भ्रामक अर्थ छ- ‘ कुनै पनि धर्मलाई नमान्नु । ‘ दुर्भाग्यवश आजका युवापिढी ज्यादा जसो यसै भ्रामक अर्थको अनुयायी बन्दै गइरहेको छ जसको फलस्वरूप अनुशासनहीनता र अनैतिकतापूर्ण वातावरणको सृजना हुँदै गइरहेको छ ।

प्रतिक्रिया