आज बकर इद, कसले के भने ?

काठमाडौं । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इदको अवसरमा राज्य सञ्चालनका विभिन्न ओहदामा रहेका व्यक्तिहरुले शुभकामना सन्देश जारी गरेका छन् ।
पर्वको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले सामाजिक संस्कृति, परम्परा, रीतिरिवाज, जातजाति र वेशभूषाको विविधता रहेको हाम्रो मुलुकमा इद–उल–अज्हा (बकर इद) पर्वले धार्मिक सहिष्णुता, सामाजिक सद्भावको वातावरणलाई अझ मजबुत बनाउन सहयोग पुग्ने विश्वास लिएका छन् ।
उपराष्ट्रपति रामसहायप्रसाद यादवले शुभकामना सन्देशमार्फत मुस्लिम समुदायले मनाउने यो पर्वलाई शान्ति तथा व्यवस्थित विकासका लागि प्रतिज्ञा र प्रतिबद्धता व्यक्त गर्ने सु–अवसरका रुपमा लिनुपर्ने उल्लेख गरेका छन्
त्यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक एवं भौगोलिक विविधतायुक्त विशेषता भएको हाम्रो देश संविधानतः धर्म निरपेक्ष राज्य भएको उल्लेख गरेका छन् ।
सभामुख देवराज घिमिरेले नेपालको राजनीतिक आन्दोलनमा मुस्लिम समुदायले पुर्याएको योगदानको स्मरण गर्दै मुस्लिम समुदायको इतिहास र संस्कृतिको पहिचान, हकहितको संरक्षण र सम्वर्द्धन तथा सशक्तीकणका लागि आगामी दिन थप उत्साह र प्रेरणादायी हुने विश्वास लिएका छन्।
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल प्राचीनकालदेखि विभिन्न जातजातिको बसोबासको सङ्गमस्थल रहेको बताएका छन् भने, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुकमा विभिन्न समुदायले आफ्ना मौलिक चाडपर्व र संस्कृतिको संरक्षण गर्नुपर्ने बताएका छन् ।
प्रतिक्रिया