ट्विटरको नक्कल गरेको भन्दै थ्रेड्सलाई मुद्दा हाल्ने चेतावनी

भर्खरै सार्वजनिक भएको बहुचर्चित एप ‘थ्रेड्स’ का सम्बन्धमा ट्विटरले फेसबुकको माउकम्पनी मेटाविरुद्ध कानुनी उपचार खोज्ने विषयमा विचार गरिरहेको छ।
ट्विटरसँग बुधवारदेखि सञ्चालनमा आएको थ्रेड्स मिल्दोजुल्दो छ र मेटा सञ्चालकहरूले आफ्नो एपलाई “मैत्रीपूर्ण विकल्प” भन्दै प्रतिस्पर्धा गर्ने उद्घोष गरेका छन्।
ट्विटरका मालिक इलोन मस्कले “प्रतिस्पर्धा उचित भएको तर छलछाम उचित नभएको” बताएका छन्।
तर मेटाले एउटा कानुनी पत्रमा ट्विटरका पूर्वकर्मचारीहरूले थ्रेड्स बनाउन सहयोग गरेका थिए भन्ने दाबीलाई अस्वीकार गरेको छ।
मेटाका अनुसार तीन करोडभन्दा बढी मानिसले थ्रेड्स प्रयोग गर्न थालिसकेका छन्।
ट्विटरसँग समानता

थ्रेड्सको स्वरूप र त्यो चलाउँदा हुने अनुभूति ट्विटरको जस्तै रहेको बीबीसी न्यूजका प्रविधि संवाददाता जेम्स क्लेटनले बताएका छन्।
उनले ‘न्यूजफीड’ र ‘रिपोस्टिङ’ जस्ता फीचर “अविश्वसनीय रूपमा” ट्विटरको जस्तै रहेको जनाए।
मेटाविरुद्ध ट्विटरले कानुनी कदम चाल्नेबारे समाचारसंस्था सेमाफोरले पहिलो पटक समाचार प्रकाशित गरेको थियो।
त्यसमा उल्लेख भएअनुसार ट्विटरका वकिल एलेक्स स्पिरोले मेटाका प्रमुख कार्यकारी अधिकृत मार्क जकर्बर्गलाई बुधवार एउटा पत्र पठाउँदै ‘ट्विटरको व्यापारसम्बन्धी गोप्य कुरा र अन्य बौद्धिक सम्पत्ति व्यवस्थित, जानाजान र गैरकानुनी रूपमा दुरुपयोग’ गरेको आरोप लगाएका छन्।
विशेषगरी स्पिरोले मेटाले ट्विटरका दर्जनौँ पूर्वकर्मचारीलाई काममा राखेको र त्यसले ‘ट्विटरको व्यापारसम्बन्धी गोप्य कुरा र अन्य अतिगोप्य जानकारीमा पहुँच राखेको हुँदा’ त्यसले अन्ततः मेटालाई ट्विटरको ‘प्रतिरूप’ थ्रेड्स एप विकास गर्न सहयोग पुगेको आरोप लगाएका छन्।
‘ट्विटर आफ्नो बौद्धिक सम्पत्तिसम्बन्धी अधिकारलाई कडाइका साथ लागु गर्न चाहन्छ र मेटालाई ट्विटरका कुनै पनि व्यापारसम्बन्धी गोप्य कुरा वा अन्य अत्यधिक गोप्य जानकारी प्रयोग गर्न रोक्नको लागि तत्काल कदम चाल्न आग्रह गर्दछ,’ पत्रमा भनिएको छ।
‘ट्विटरसँग थप सूचनाबिनै देवानी उपचार र निषेधात्मक राहत दुवै खोज्नेसहित सबै अधिकारहरू सुरक्षित छन् र ती त्यतिमै सीमित छैनन्।’

मेटा र ट्विटर के भन्छन् ?
उक्त पत्रलाई उल्लेख गरिएको ट्वीटप्रति प्रतिक्रिया दिँदै ट्विटरका मालिक इलोन मस्कले ‘प्रतिस्पर्धा उचित भएको तर छलछाम उचित नभएको’ बताएका छन्।
थ्रेड्सका तर्फबाट मेटाका प्रवक्ता एन्डी स्टोनले थ्रेड्समै पोस्ट गर्दै ‘थ्रेड्स इन्जिनियरिङ टोलीमा रहेका कोही पनि ट्विटरका पूर्वकर्मचारी होइनन्, त्यो हुँदै होइन’ भनेका छन्।
मस्क र जकरबर्ग दुवैले थ्रेड्समा प्रतिस्पर्धालाई स्वीकार गरेका छन्।
थ्रेड्स इन्स्टाग्रामसँग जोडिएको छ। तर त्यसले भिन्नै एपका रूपमा काम गर्छ। –BBC
प्रतिक्रिया