बिहीबार, वैशाख ११, २०८२

किन विशेष मानिन्छ साउने सोमबार ? 

नेपालखोज २०८० साउन १ गते ६:११

आज साउन १ अर्थात्, साउने संक्रान्ति । विक्रमसंवतको पात्रोअनुसार साउन महिनाको पहिलो दिनलाई साउने सङ्क्रान्ति भनिन्छ । ज्योतिष शास्त्रअनुसार सौर्य मासका हिसाबले साउने संक्रान्तिदेखि सूर्य कर्कट राशिमा प्रवेश गर्ने हुनाले यस दिनलाई ‘कर्कट सङ्क्रान्ति’ पनि भनिएको हो । सामान्यतः सूर्यले सबै राशिलाई प्रभावित गरे पनि सूर्यको कर्कट राशि (साउने सङ्क्रान्ति) र मकर राशि (माघे सङ्क्रान्ति) प्रवेशलाई धार्मिक दृष्टिले महत्त्वपूर्ण मानिन्छ । यो दिनदेखि सूर्य उत्तरी गोलार्द्धबाट दक्षिणी गोलार्द्धतर्फ प्रवेश गर्ने भएकाले दिन छोटो र रात लामो हुँदै जाने विश्वास गरिन्छ । यद्यपि प्रत्यक्ष सूर्योदय र सूर्यास्तका बिचको समयलाई दिनमान भनिन्छ । 

सबैभन्दा छोटो दिनबाट उत्तरायण र लामो दिनमान हुने दिनबाट दक्षिणायन सुरु हुने विज्ञानसम्मत र शास्त्रसम्मत कुरा हो । यसरी हेर्दा हाल चलन चल्तीको असार ७ गतेबाट दिन छोटो हुँदै जाने र पुस ७ गतेबाट दिन लामो हुँदै जाने कुरा प्रमाणित हुन्छ । साउन महिनाले नेपाली खास गरी हिन्दु धर्मसँग सम्बन्धित परम्पराका चाडहरूलाई भित्र्याउने भनाइ छ । नेपालभर स्नान, दान, होम, श्राद्धजस्ता विशेष कार्यको सुरुवात यही दिनदेखि गरिन्छ । हिन्दु धर्मअनुसार सूर्य दक्षिणायन हुँदा देवताका रात र पितृको दिन हुने भएकाले हिन्दु धर्मावलम्बीले साउन महिनादेखि पितृ कार्यको थालनी गर्ने चलन छ । 

साउने संक्रान्तिको दिन असारे वर्षा, हिलोबाट लाग्न सक्ने रोगबाट जोगिन लुतो फाल्ने चलन छ । फलफूल, नैवेद्य चढाएर कण्डारक नामक राक्षसको पूजा गर्नाले दाद, लुतो, खटिराजस्ता छालाजन्य रोगबाट बच्न सकिने विश्वासका रही आएको छ । विवाहित महिलाहरू साउने संक्रान्तिदेखि साउन महिनाभर सौभाग्यको प्रतीक र वस्त्र पहिरिने र साउन महिनाभर प्रत्येक सोमबार व्रत बसी शिवको पूजा आराधना गर्दछन् ।

किन विशेष छ साउने सोमबार ? 

साउन शिवजीसँग जोडिएको महिना हो । साउन महिनामा शिवको पूजा गरे सबै देवताको पूजा गरे बराबर फल प्राप्त हुन्छ भन्ने सनातन विश्वास छ । साउन महिना धार्मिक, प्राकृतिक एवं सांस्कृतिक दृष्टिकोणले महत्त्वपूर्ण भएकाले यो महिनालाई विशेष रूपमा लिइन्छ । सोमबार भनेको चन्द्रमाको बार हो । त्यो चन्द्रमालाई भगवान् शिवजीले शिरमा धारण गर्ने भएकाले सोमबारका दिन व्रत बस्यो भने शिवजी पनि प्रसन्न हुने र चन्द्रमा पनि प्रसन्न हुने हुँदा जीवन सुखमय, दाम्पत्य जीवन आनन्दमय हुन्छ, सुख शान्ति प्राप्त हुन्छ भन्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष रामचन्द्र गौतम बताउँछन् ।

विशेष गरी साउनको सोमबार शिवजीको व्रत एवं पूजा गर्ने चलन छ । पार्वतीले साउन महिनाभरि निराहार रही कठोर व्रत बसेर भगवान् शिवलाई प्राप्त गरेको किंवदन्तीअनुसार महिलाहरूले यसलाई बढी महत्त्व दिन्छन् । साउनको महिना व्रत बसी शिवको पूजा गरे आफू, श्रीमान्, सन्तान एवं परिवार सबैको कल्याण हुने धार्मिक विश्वास रहेको अध्यक्ष गौतमले बताए । महिनाको अरू दिन नसके पनि सोमबार व्रत बसी शिवलाई शुद्ध जल चढाएर खुसी बनाउन सकिन्छ भन्ने शास्त्रीय मान्यता रही आएको छ । यस दिन आफू र आफ्नो परिवारको सुस्वास्थ्य, दीर्घायु एव विभिन्न कामना गर्दै व्रत बस्ने परम्परा छ । 

हस्ता नक्षत्रयुक्त सोमबारको व्रतको प्रभावले पार्वतीले महादेव स्वामी पाएको प्रसङ्ग पुराणमा पाइन्छ । साउन महिनामा महिलाहरू हरियो पहिरनमा सजिनुका साथै, हरियो चुरा र हातमा मेहन्दी लगाएर प्रत्येक सोमबारका दिन भगवान् शिवको पूजा गरी व्रत बस्ने गर्छन् । यो व्रत विवाहित महिला आफ्नो घरपरिवार र श्रीमान्‌को स्वास्थ्य लाभको कामना गर्दै व्रत बस्ने गर्छन् भने अविवाहित महिला राम्रो श्रीमान् तथा शिवजीजस्तो बर पाउँ भनी र आफ्नो परिवारको सुख-शान्तिको कामना गर्दै व्रत बस्ने गर्छन् । साउन महिनाभर चोखो खाएर माछा मासु नखाई शुद्ध भएर बस्ने चलन पनि छ । कतिपयले भने लसुन प्याज तथा बिटुलो मानिने कुनै पनि खानेकुरा नखाएर शुद्ध चोखो खाएर साउन महिना बार्ने गर्छन् ।

साउने सोमबारको व्रत विधि 

सोमबारको व्रत विधि पनि अन्य व्रतजस्तै हुन्छ । यो व्रत सूर्योदयदेखि प्रारम्भ भएर तेस्रो प्रहरसम्म बसिन्छ । दिनको तेस्रो प्रहर अर्थात् करिब ३ बजेतिर शिवजीको पूजा गरी कथा सुन्नुपर्छ । व्रत गरेको दिन बेलुका एक पटक सात्त्विक भोजन गर्नुपर्छ । यसरी व्रत बस्दा सारा समस्या समाधान हुने जनविश्वास छ ।

व्रत बस्ने विभिन्न विधि र प्रकारहरू छन् । कोही साउनको सोमबार मात्र व्रत बस्छन् भने कोही पूरा महिना व्रत बस्छन् । उपवास भनेको खासमा केही पनि नखाएर बस्ने हो तर, शास्त्रकारहरूले पहिला आफ्नो शरीरको ख्याल गरेर मात्रै व्रत वा उपवास बस्नू भनेको हुँदा आफ्नो स्वास्थ्यको ख्याल गरेर मात्रै व्रत बस्न अध्यक्ष प्रा.डा. रामचन्द्र गौतम सुझाउँछन् । गौतमका अनुसार व्रत तीन किसिमका हुन्छन् । जलाहर, फलाहर र निराहर । 

दिनभरि पानी मात्रै पिएर व्रत बसिन्छ भने त्यसलाई जलाहर भनिन्छ । त्यस्तै फलफूलहरू खाएर व्रत बसिन्छ भने त्यसलाई फलाहर भनिन्छ । भने केही पनि नखाएर व्रत बसिन्छ भने निराहर भनिन्छ । साउनको सोमबारको व्रत बस्दा बिहान स्नान आदि नित्यकर्म सकेर व्रतको सङ्कल्प गर्नुपर्छ । त्यसपछि घरमै अथवा शिव मन्दिरमा गएर गंगाजल, बेलपत्र, सुपारी, फूल, धतुरो, भाङ आदिले भगवान् शिवको पूजा गरिन्छ । 

विधिपूर्वक पूजा सम्पन्न गरेपछि व्रत कथा सुन्ने चलन पनि छ । साथै, व्रत बस्नेले शिवको मन्त्र जाप पनि गर्छन् । साउनको सोमबार व्रत बस्नाले वर्षभरिको सोमबार व्रत बसेको पुण्य मिल्ने पुराणहरूमा उल्लेख छ ।

धर्म कर्म गर्न यो वा त्यो राशि भन्ने हुँदैन 

धर्म कर्म गर्न अथवा व्रत बस्नका लागि यो राशि त्यो राशि, यो जात वा त्यो जात, यो समय वा त्यो समय भन्ने कुरा शास्त्रमा केही पनि नभएको नेपाल पञ्चाङ्ग निर्णायक समिति अध्यक्ष प्रा.डा. रामचन्द्र गौतम बताउँछन् । धर्म गर्न जहिले पनि जसले पनि गर्न सक्ने उनको भनाइ छ । व्रत बस्दा यो वा त्यो राशिलाई फाइदा वा बेफाइदा भन्ने कुरा खाली भ्रम फैलाउने मात्रै भएको अध्यक्ष प्रा.डा. गौतमले बताए । 

उनले भने, ‘धर्म गर्नका लागि जहिले पनि हुन्छ । जसले पनि हुन्छ । विवाहित, अविवाहित, महिला, पुरुष सबैले गर्न मिल्छ । यसका लागि, यो जातिका लागि त्यो जातिका लागि, यो समय, यो वर्ष शास्त्र होइन । यो खाली भ्रम फैलाएका कुरा मात्रै हो ।’ व्रत भन्ने कुरा महिलाले मात्रै नभएर पुरुषले पनि बस्न हुने गौतम बताउँछन् । तीज र साउनको व्रत महिलाले मात्रै बस्नुपर्छ भन्ने गलत बुझाइका कारण नेपाली समाजमा मैले मात्रै व्रत बस्ने गरेको उनले बताए ।  

के-के खाने कुरा खायो भने व्रत भङ्ग हुँदैन ?

नेपाल पञ्चाङ्ग निर्णायक समिति अध्यक्ष प्राडा.रामचन्द्र गौतमका अनुसार आठ वटा कुरा खायो भने व्रत भङ्ग हुँदैन । अर्थात् निराहार बसेको जस्तै फल पाइन्छ । हामीले व्रत बसेका बेला पानी खादा व्रत भङ्ग हुँदैन । त्यस्तै, जमिनमुनि फल्ने फलहरू (सखरखण्ड, पिँडालु, आलु आदि), फलफूल खादा पनि व्रत भङ्ग हुँदैन ।

त्यस्तै, दूध, जौं, तिल इत्यादिबाट बनेको पीठो, विद्वान् गुरुहरूले खान दिएको खाने कुराहरू खादा पनि व्रत भङ्ग नहुने अध्यक्ष गौतम बताउँछन् । व्रत बस्दा आफ्नो स्वास्थ्यको ख्याल गरेर यी आठ वटा कुरा खाएर पनि बस्दा हुने उनले बताए । तर, व्रतप्रति भावना, श्रद्धा, आस्था, निष्ठा भने हुनुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया