जनकपुरको कपिलेश्वरनाथ तथा गुल्मीको रेसुंगामा श्रावण पूजनोत्सव र साउने मेला

धनुषा । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१६ स्थित प्राचीनतम कपिलेश्वरनाथ महादेव मन्दिरमा छ हप्ता लामो ‘श्रावण पूजनोत्सव मेला’ सुरु भएको छ । प्राचीनकालदेखि नै हरेक श्रावण महिनाको आज विशेष पूजाअर्जना हुँदै आए पनि विगत ४०र४२ वर्षदेखि मेलाकै रूपमा श्रावण पूजनोत्सव मेला मनाउने प्रचलनअनुसार आजदेखि यस वर्षको मेला कार्यक्रम सुरु भएको कपिलेश्वरनाथ युवा कमिटीका अध्यक्ष मनोजकुमार साहले जानकारी दिए ।
साहले आजदेखि सुरु भएको मेला लगातार छ सोमबारसम्म चल्ने र त्यसका लागि विगत वर्षहरूमा भन्दा मेला भर्न आउने श्रद्धालुहरूको सहजताका लागि पूजाअर्चनाको व्यवस्थापन गरिनुका साथै हरेक दिन साँझ ७ बजे सन्ध्या आरतीको व्यवस्था गरिएको बताए ।
जनकपुरधाम–१६ का वडाध्यक्ष रामचन्द्र पजियारले धार्मिक सहरका रूपमा रहेको जनकपुरधाममा मन्दिर नै मन्दिर भए पनि जनकवंशीय राजा शिरध्वज जनकको पालादेखि नै स्थापित कपिलेश्वरनाथको विशेष महत्व रहेको बताए ।
उनले मिथिला राजधानी जनकपुरको रक्षा र कल्याणका लागि जनकपुरको चारैतर्फ चारनाथको स्थापना गरिएको धार्मिक मान्यतानुसार पूर्वउत्तर दिशामा कपिलेश्वरनाथ महादेवको स्थापना गरेको किंवदन्ती रहेकाले भक्तजनले विशेष महत्व दिने गरेको बताए ।
पत्रकार श्रीनारायण साहले पनि मिथिलामा रहेका पौराणिक मठ मन्दिरमध्ये कपिलेश्वरनाथ एक प्राचीन तथा पुरातात्विक महत्वको मन्दिर भएका कारण यहाँ श्रद्धालुहरूको विशेष आकर्षण रहेको बताए । यहाँ नेपालका साथै भारतबाट पनि श्रद्धालुहरू मेला भर्न आउने गरेका छन् । जनकारका अनुसार यो मन्दिर परिसरमा ईस्वी संवत् १३२० मा राखिएको घण्टी पनि छ ।
रेसुङ्गामा साउने मेला
गुल्मीको धार्मिक क्षेत्र रेसुङ्गामा साउने मेला सुरु भएको छ । साउन महिनाभर रेसुङ्गा माहापोखरीमा स्नानगरी पोखरीमाथिको यज्ञशाला मन्दिरमा पूजाआजा गर्न मानिसहरुको भिड लाग्ने गरेको छ । टाढाटाढाबाट आउने भक्तजनको सुविधाका लागि रेसुङ्गा संरक्षण समितिले यस क्षेत्रमा साउन महिनाभर धार्मिक मेला सञ्चालन गर्दै आएको छ । अन्य महिनाको तुलनामा साउन महिनाको सोमवार धेरै मानिसको यस क्षेत्रमा आगमन हुँदै आएको छ ।
साउन महिनाभर विशेष पूजाआजासहित धार्मिक मेला लाग्ने भएकाले माहापोखरीको जलले स्नान गर्ने र नजिकै रहेको यज्ञशाला मन्दिरमा पुगेर पुजाआजा गर्ने प्रचलन छ । यस क्षेत्रमा पुगेपछि चारधाम जान नपर्ने र आफूले अन्जानमा गरेका सम्पूर्ण पाप नष्ट हुने धार्मिक विश्वास रहिआएको छ । यही विश्वासका आधारमा विगत केही वर्षदेखि यहाँ आउने धार्मिक पर्यटकहरुको सङ्ख्या वृद्धि हुँदै आएको छ ।
त्रेता युगदेखि यस क्षेत्रको महत्व हालसम्म पनि कायम रहेकाले यस क्षेत्रमा एक पटक पुगेपनि मनोकामना पूराहुने भएकाले यसको महत्व अझ बढ्दै गएको रेसुङ्गा संरक्षण समितिका अध्यक्ष शुरेसचन्द्र भुसालले जानकारी दिए । सोही आस्था र विश्वासका कारण रेसुङ्गा क्षेत्रमा गुल्मी पाल्पा, बाग्लुङ्ग, अर्घाखाँची, स्याङ्जा, रुपन्देही, नवलपरासी, कपिलवस्तुलगायत जिल्लावाट आउने श्रद्धालुहरुको वर्षेनी घुईचो लाग्ने गर्छ ।
साउन महिनाभर रेसुङ्गा संरक्षण समितिले यज्ञशालामा दिनहु होमसहित, रुद्री, गिता र चण्डी पाठ गर्नाका साथै श्रद्धालुहरु रातभर भजन किर्तनमा रमाउने गर्छन् । रेसुङ्गा नगरपालिकाले सुरु गरेको ‘जाउँ हिडौँ रेसुङ्गा’ अभियानसँगै विगत वर्षका तुलनामा यसपटक साउन महिनाभर ५० हजारभन्दा बढी श्रद्धालुलाई रेसुङ्गा क्षेत्रमा भित्र्याउने योजना रहेको नगरप्रमुख खिलध्वज पन्थीले बताए ।
जिल्ला सदरमुकाम तम्घासदेखि सात किलोमिटरको दूरीमा रहेको उक्त ठाउँमा पुग्न सडक पक्की गरिएकाले झनै सहज बनेको छ । एक महिने धार्मिक मेलाले रेसुङ्गा क्षेत्र आन्तरिक एवं वाह्य धार्मिक पर्यटकका लागि थप गन्तव्य स्थल बन्ने भएको छ ।
प्रतिक्रिया