बिहीबार, वैशाख ११, २०८२

साउनमा ज्योतिर्लिङ्गको दर्शन र पूजाको महत्त्व 

नेपालखोज २०८० साउन ८ गते ५:२९

काठमाडौं । साउनको यो पवित्र महिनामा भोले बाबाका भक्तहरू लाई हामी शिव प्रकट भएका प्रमुख तीर्थस्थलहरूका बारेमा बताइरहेका छौँ । यी स्थानहरूमा ज्योतिर्लिङ्गका रूपमा शिव भगवानको पूजा गरिन्छ। साउन महिनामा भगवान शिवको पूजा गर्ने विशेष विधि छ । यो महिना हरेक दिन शिवलिंगको पूजा गर्ने र सोमबार व्रत बस्ने भक्तको सबै मनोकामना पूरा हुने कुरा शिव पुराणमा उल्लेख छ । 

साउन महिनामा लाखौँ शिवभक्त ज्योतिर्लिङ्गको दर्शन गर्न उज्जैन, काशी, हरिद्वार जस्ता विभिन्न धार्मिक स्थल पुग्छन् । पुराणमा १२ ज्योतिर्लिङ्गको वर्णन छ । पुराण अनुसार जहाँ-जहाँ भगवान शिव प्रकट भए त्यहाँ – त्यहाँ ज्योतिर्लिङ्गका रूपमा उहाँको पूजा गरिन्छ। शिव पुराण अनुसार त्यहाँ भगवान शिव स्वयं ज्योतिको रूपमा बास गर्नुहुन्छ ।

सोमनाथ ज्योतिर्लिङ्ग : 

सोमनाथ ज्योतिर्लिङ्ग सौराष्ट्र (गुजरात) को प्रभास क्षेत्रमा अवस्थित छ। यो प्रसिद्ध मन्दिरलाई विगतमा छ पटक भत्काएर पुनर्निर्माण गरिएको थियो। यो मन्दिर धेरै धनी थियो। सन् १०२२ मा महमूद गजनवीले आक्रमण गरी यसमा ठुलो क्षति पुर्‍याएका थिए । आज उभिएको यो मन्दिर भारतका तत्कालीन गृहमन्त्री सरदार वल्लभभाई पटेलले बनाएका हुन् । यो ज्योतिर्लिंगलाई भारतको मात्र होइन पृथ्वीकै पहिलो ज्योतिर्लिङ्ग मानिन्छ। 

श्री मल्लिकार्जुन ज्योतिर्लिङ्ग : 

श्रीमल्लिकार्जुन ज्योतिर्लिङ्ग आन्ध्र प्रदेशको कृष्णा जिल्लामा छ । श्रीशैल पर्वतमा अवस्थित यो मन्दिरको नजिकै कृष्णा नदी बग्छ। यसलाई दक्षिणको कैलाश पनि भनिन्छ। शिव पुराणमा भनिएको छ – यो ज्योतिर्लिङ्गको दर्शन गर्नाले सबै पाप नष्ट हुन्छ भने यहाँ पूजा गर्दा अश्वमेध यज्ञको जस्तो पुण्य प्राप्त हुन्छ ।

महाकालेश्वर ज्योतिर्लिङ्ग : 

महाकालेश्वर ज्योतिर्लिङ्ग भारतको मध्य प्रदेशमा पर्ने मालवा क्षेत्र स्थित उज्जैनमा छ । यो मन्दिर क्षिप्रा नदीको किनारमा अवस्थित छ। उज्जैनलाई प्राचीन कालमा अवंतिकापुरी भनिन्थ्यो। यो एक मात्र शिवलिंग हो जुन दक्षिणमुखी छ । यहाँ हरेक बिहान हुने भस्म आरती विश्वभर प्रसिद्ध छ। 

ओंकारेश्वर ज्योतिर्लिङ्ग : 

ओंकारेश्वर ज्योतिर्लिङ्ग मध्य प्रदेशको मालवा क्षेत्रमा नर्मदा नदीको बिचमा रहेको एउटा टापुमा छ । उज्जैनबाट खण्डवा जाने रेलवे लाइनमा मोर्तक्का नामको स्टेसन छ जहाँबाट यो स्थान १० माइल टाढा पर्छ । ओंकारेश्वर र ममलेश्वर दुई छुट्टाछुट्टै लिङ्ग हुन् तर यी एउटै लिङ्गका दुई रूप हुन् । ओंकारेश्वर लिङ्ग स्वयं प्रकट भएको मानिन्छ। यो ज्योतिर्लिङ्ग ओंकार अर्थात् ओमको आकारमा छ जसका कारण यो ज्योतिर्लिङ्गलाई ओंकारेश्वर भनिन्छ ।

केदारनाथ ज्योतिर्लिङ्ग : 

केदारनाथ हिमालयको केदार नामक पहाडमा अवस्थित छ । यो ठाउँ हरिद्वारबाट १५०माइल तथा उत्तराखण्ड राज्यको ऋषि केशबाट १३२ माइल टाढा छ । केदारनाथ धामको वर्णन स्कन्द पुराण तथा शिव पुराणमा पाइन्छ । जसरी भगवान शिवको स्थान कैलाशको महत्त्व छ, त्यसै गरी भगवान शिवले केदार क्षेत्रलाई पनि महत्त्व दिएका छन् । 

भीमाशंकर ज्योतिर्लिङ्ग : 

श्री भीमाशंकर पुणेको उत्तरमा भीमा नदीको किनारमा सह्याद्री पर्वतमा विराजमान छन् । यो ठाउँ नासिकबाट करिब १२० माइल टाढा छ। डाकिनी , सह्याद्री हिमालको एउटा चुचुरोको नाम हो। शिवपुराणका एउटा पौराणिक कथा अनुसार भीमाशंकर ज्योतिर्लिङ्ग असमको कामरूप जिल्लाको गुवाहाटी नजिक ब्रह्मपुर पहाडमा छ भनिन्छ। नैनी ताल जिल्लाको काशीपुरमा रहेको विशाल शिव मन्दिरलाई पनि भीमाशंकरको ठाउँ मानिन्छ । सूर्योदयपछि यो ज्योतिर्लिङ्गको दर्शन गर्ने भक्तजनको सबै पाप नाश हुने जनविश्वास छ । 

काशी विश्वनाथ ज्योतिर्लिङ्ग : 

वाराणसीमा अवस्थित काशीका श्री विश्वनाथजी प्रमुख ज्योतिर्लिङ्ग मध्ये एक हुन्। गङ्गाको किनारमा अवस्थित काशी विश्वनाथ शिवलिंगको दर्शन हिन्दुहरूका लागि सबैभन्दा पवित्र काम हो । सबै तीर्थस्थलहरूमध्ये काशीको विशेष महत्त्व छ। प्रलय भए पनि यो क्षेत्रको रक्षाका लागि भगवान शिवले यो स्थानलाई त्रिशूलमा खडा गरेको जनविश्वास छ । 

 त्र्यम्बकेश्वर ज्योतिर्लिङ्ग : 

त्र्यम्बकेश्वर ज्योतिर्लिङ्ग महाराष्ट्रको नासिक जिल्लाको पंचवटीबाट १८ माइलको दुरीमा छ । यो मन्दिर ब्रह्म गिरी नजिकै गोदावरीको किनारमा अवस्थित छ। पवित्र गोदावरी नदी पनि यही ठाउँबाट निस्कन्छ । त्र्यम्बकेश्वर भगवान शिवको एउटा नाम हो। गौतम ऋषि र गोदावरी नदीको अनुरोधमा भगवान शिवले त्र्यंबकेश्वर ज्योतिर्लिङ्गको रूपमा यहाँ बास गरेको जनविश्वास छ । 

वैद्यनाथ ज्योतिर्लिङ्ग : 

वैद्यनाथ मन्दिर झार खण्डको देव घर भन्ने ठाउँमा छ । शिवको एउटा नाम ‘वैद्यनाथ’ पनि हो, त्यसैले यसलाई ‘वैद्यनाथ धाम’ भन्ने गरिन्छ । यो सिद्ध पीठ हो। यसै कारणले यो लिङ्गलाई कामना लिङ्ग पनि भनिन्छ। मनसुनमा यहाँ बोल बम जानेहरूको भीड लाग्छ । 

नागेश्वर ज्योतिर्लिङ्ग : 

श्रीनागेश्वर ज्योतिर्लिङ्ग गुजरातको बडोदा क्षेत्रमा गोमती द्वारका नजिकै अवस्थित छ । नागेश्वरको अर्थ सर्पको देवता हो। धार्मिक पुराणहरू अनुसार भगवान शिवलाई नागको देवता मानिन्छ। नागेश्वर ज्योतिर्लिङ्गको पूजा गर्नाले भक्तजनको सबै मनोकामना पूरा हुन्छ । 

रामेश्वर ज्योतिर्लिङ्ग : 

श्री रामेश्वर तीर्थ तमिलनाडुको रामनाद जिल्लामा छ। यहाँ लङ्का विजयपछि भगवान श्रीरामले आफ्ना देवता शङ्करको पूजा गरेका थिए । ज्योतिर्लिंगलाई श्री रामेश्वर वा श्रीरामलिंगेश्वर पनि भनिन्छ। यो धाम हिन्दुहरूको चार धाममा पनि पर्छ । 

घृष्णेश्वर ज्योतिर्लिङ्ग : 

श्री घृष्णेश्वर ज्योतिर्लिङ्ग महाराष्ट्रको दौलताबाद स्टेसनबाट १२ माइल टाढा बेरुल गाउँ नजिकै छ। यहाँ पुरुषहरूले मन्दिर प्रवेश गर्नुअघि आफ्नो माथिल्लो लुगा फुकाल्नु पर्छ। यो ज्योतिर्लिङ्गको दर्शन गर्न टाढा टाढाबाट मानिसहरू आउँछन् र उनीहरूले आत्मिक शान्ति प्राप्त गर्छन्। भगवान शिवका १२ ज्योतिर्लिङ्ग मध्ये यो अन्तिम ज्योतिर्लिङ्ग हो । यहाँ एकनाथ गुरु तथा श्री जनार्दन महाराजको समाधि पनि छ।

प्रतिक्रिया