महामृत्युञ्जय मन्त्र जपको नियम

साउन महिनालाई हिन्दू धर्ममा अति पवित्र मानिन्छ । साउन महिनाभर भगवान भोलेनाथको पूजा–आराधना र मन्त्र जपको विशेष महत्व छ । यी मन्त्र मध्ये एक महामृत्युंजय मन्त्र हो। महामृत्युञ्जय मन्त्रको जप गर्दा अकाल मृत्युबाट जोगिने जनविश्वास छ भने यससँगै भक्तजनलाई स्वास्थ्यको वरदान पनि प्राप्त हुन्छ ।
केही नियम
भुइँमा बसेर महामृत्युञ्जय मन्त्र जप गर्नुहुँदैन भन्ने कुरा धार्मिक ग्रन्थहरुमा उल्लेख छ । यो मन्त्र सधैं उच्च आसन वा चकटिमा बसेर जाप गर्नुपर्छ। यस बाहेक यो मन्त्र जप गर्ने ठाउँ सेट गर्नु उपयुक्त हुन्छ र सधैं त्यहि स्थानमा बसेर दैनिक मन्त्र जप गर्नुपर्छ ।
महामृत्युञ्जय मन्त्र जप गर्दा आफ्नो अनुहार सधैं पूर्व दिशामा हुनुपर्छ । मन्त्र जप गर्दा आफ्नो ध्यान भटकिनु हुँदैन र एकाग्र रहनुपर्छ । यसबाहेक जति दिन , हप्ता वा महिना महामृत्युञ्जय मन्त्र जप गरिन्छ त्यति दिन मासु र मदिराबाट टाढा रहनुपर्छ ।
महामृत्युञ्जय मन्त्र जप गर्दा मन्त्रको उचित उच्चारण होस् भन्ने कुरामा विशेष ध्यान पुर्याउनुपर्छ । यस बाहेक निश्चित संख्या तय गरेपछि मात्र यो मन्त्र जप गर्ने संकल्प गर्नुपर्छ अर्थात कति दिन , कतिपटक मन्त्र पढने हो सुरुमै तय हुनुपर्छ ।
यदि तपाईं चाहनुहुन्छ भने, मन्त्रको जपको संख्या बढाउन सक्नुहुन्छ तर ध्यान राख्नुपर्ने कुरा के हो भने यो मन्त्र जपको संख्या घटाउनु हुँदैन ।
भुइँमा सुत्ने
साउन महिनामा ओछ्यान छोडेर भुइँमा सुत्नुपर्छ साथै दिउँसो सुत्नु हुँदैन । राति एकैपटक सुत्ने र बाँकी समय शिवको भक्तिमा बिताउने । मासु र रक्सीबाट टाढै रहनुपर्छ भने साउनभरि शुद्ध सात्विक भोजन गर्नुपर्छ । साउनमा लसुन र प्याज पनि खान निषेध गरिएको छ ।
यी सबै तामसिक खानाको वर्गमा आउँछन्। यो महिना बैगनको बलि चढाईन्छ किनभने यसको सेवनले पित्त सम्बन्धी रोगहरु हावी हुन्छन । साउन महिनामा शरीरमा तेल दल्नु शुभ मानिदैन । बरु यो महिना तेल दान गर्नु उत्तम हुन्छ। साउनमा दूध त्याग्नु पर्छ। यो महिनाभर शिवलिंगमा दूध चढाइन्छ । यो महिना काँसको भाँडामा खाना खानुहुँदैन ।
मानिसले आफ्नो विचारमा सकारात्मकता ल्याउनुपर्छ । भगवान भोलेनाथको आशीर्वाद प्राप्त गर्न चाहने हो भने कसैको अपमान गर्नुहुँदैन ।
अरूप्रति घृणाको भावना पाल्नु उपयुक्त होइन । गुरु , आमाबुवा, जीवनसाथी, साथीभाइ वा आफुकहाँ आउने कुनै पनि मानिसको अपमान गर्नु हुँदैन।
प्रतिक्रिया