मंगलबार, वैशाख ९, २०८२

लोडसेडिङ, चर्को ब्याजदर र आर्थिक मन्दीले रुपन्देहीका दुई सय उद्योग बन्द

नेपालखोज २०८० साउन १९ गते १२:४३

रूपन्देही । लोडसेडिङ, बढ्दो आर्थिक मन्दी र बैंकको चर्को ब्याजदरका कारण रुपन्देहीमा २ सय उद्योग बन्द भएका छन्।

औद्योगिक क्षेत्रको रूपमा परिचित रुपन्देही कोरोनाको महामारीले निम्त्याएको वैश्विक आर्थिक मन्दी र त्यसले बढाएको ब्याजदरका कारण उद्योग बन्द भएको उद्योगीहरुले बताएका छन्।

देशमा सबैभन्दा बढी उद्योग भएको जिल्लाका उद्योग बन्द भएपछि नयाँ उद्योग गर्न चाहने पनि निराश छन्। सरकारले उद्योगमैत्री वातावरण नबनाउँदा यो समस्या आएको उद्योगीहरूको गुनासो छ।

घरेलु तथा साना उद्योग कार्यालय भैरहवाका अनुसार एक वर्षमा १ सय ९० वटा उद्योग बन्द भए। फलाम उद्योग, स्टिल उद्योगलगायत छन्। जसबाट सयौंको रोजगारीसमेत गुमेको छ। यस्तै चलिरहेका उद्योगहरू पनि दैनिक ५–६ घण्टामात्र सञ्चालन हुने उद्यागीहरु बताउँछन्।

सिमेन्ट उद्योग, मैदा उद्योग, चाउचाउ, बिस्कुट, उद्योग अधिकांश दैनिक बढीमा ६ घन्टामात्र चल्ने गरेका छन्। पूर्णरूपमा स्वदेशी लगानीमा स्थापना भएका यहाँका १ सय ९० उद्योग आर्थिक वर्ष ७९।८० मा बन्द भएका हुन्। यीमध्ये उत्पादन क्षेत्रका ७४ र कृषि क्षेत्रका १४ रहेका छन्। त्यसैगरी उद्योग सेवातर्फ ५४, पर्यटनतर्फ ४८ उद्योगहरू बन्द भएको घरेलु तथा साना उद्योग कार्यालय भैरहवाका सूचना अधिकारी नेत्रप्रसाद भुसालले बताए।

बैंकले लगानी नगर्नु र कर्जा लगानी गरेबापत महंगो ब्याज उठाउनु अर्को समस्या भएको व्यवसायीको गुनासो छ। उद्योग सञ्चालनमा समस्या भएको भन्दै फर्म बन्द गर्नेहरूको संख्या पनि बढ्दो रहेको घरेलु तथा साना उद्योग कार्यालय भैरहवाले जनाएको छ। कार्यालयका प्रमुख अर्जुन थापाले आर्थिक वर्ष २०७९।८० मा १९० जना उद्योगीले आफ्नो फर्म बन्द गराएको जानकारी दिए।

रुपन्देही उद्योग संघका अध्यक्ष माधव पौडेल औद्योगिक क्षेत्रको रूपमा चिनिएको रुपन्देहीमा एकै वर्ष धेरै मात्रामा उद्योग बन्द हुनु सामान्य नभएकाले सरकार गम्भीर हुनुपर्ने बताए।

‘कोभिड महामारीपछि यसै पनि उद्योगीहरू थला परेका थिए,’ पौडेलले भने, ‘त्यसमाथि चालू वर्षमा पुँजीगत खर्चले उस्तै निराशा बनायो। ७-८ प्रतिशतमा ब्याज लिएका बैंकमा १८ प्रतिशतसम्म पुग्यो। त्यसमाथि सरकारको नीति पनि उद्योगमैत्री नहुँदा उद्योगहरू चल्नै नसक्ने भएका हुन्।’ बन्द भएकाभन्दा केही घन्टा मात्रै चलेका उद्योगहरू धेरै भएको उनको भनाइ छ।

अर्थतन्त्र चलायमान हुन नसक्नु, अन्तर्राष्ट्रिय विमानस्थल बनेर पनि नचल्नु, पर्यटन क्षेत्रको लगानी उठ्न नसक्नुजस्ता कारणले ३५ प्रतिशत पनि उत्पादन नभएको पौडेलको भनाइ छ। नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्वल कसजु उद्योगधन्दा बन्द हुनुमा सरकारले समयमा ध्यान नदिनु, स्पष्ट औद्योगिक नीतिको अभाव र भएका पनि कार्यान्वयन नहुनुजस्ता कारण रहेको बताए।

अहिले पनि रुग्ण अवस्थामा रहेका कतिपय उद्योगहरूको अवस्था दिनप्रतिदिन निराशाजनक भएकाले सरकारले विशेष प्याकेज ल्याउनुपर्नेमा उनले जोड दिए । ‘राज्यकै नीति कमजोर हुँदा अहिलेको अवस्था आएको हो। यो अझ विकराल बन्न सक्छ। यसमा सरकारले निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्नुको विकल्प छैन।’

उत्पादन, पर्यटन तथा अन्य व्यवसायसमेत गरी घरेलुमा मात्रै करिब १४ हजार उद्योग दर्ता भएका छन्। यस्तै उत्पादन क्षेत्रमा मात्रै करिब करिब चार हजार उद्योग छन् भने एक हजारभन्दा बढी रुपन्देही उद्योग संघमै आवद्ध छन्।

युवा उद्यमी यादव भण्डारीका अनुसार अर्थतन्त्रमा भएको समस्या, बैंक ब्याज र बजारको समस्याले साना उद्योगलाई समस्या भएको हो। ‘पटक–पटक फेरिने उद्योग नीति, विभिन्न कर प्रणाली, बजारको समस्याले साना उद्योग बन्द भएका हुन्। ठूला झ्याप्पै बन्द गर्न समस्या छ। बैंकको लगानी धेरै हुन्छ। घरजग्गा धितोमा हुन्छ। उनीहरू घाटामा नि चलाउन बाध्य हुनुपरेको छ,’ उनले भने।

नेपाल उद्योग परिसंघका प्रदेश अध्यक्ष एजाज आलमले उद्योगी अहिले उद्योग कसरी टिकाउने भन्ने विषयमा मात्रै केन्द्रित भएको बताए । धेरै लगानीका उद्योगहरूलाई लगानी सल्टाउनकै लागि पनि उद्योग चलाउनुपर्ने बाध्यता रहेको उनको भनाइ छ।

साना उद्योग नवीकरणमा छैन उत्साह

साना तथा घरेलु उद्योग कार्यालय रुपन्देहीमा दर्ता भएका अधिकांश उद्योगहरू नवीकरण हुँदैनन्। १७ हजारभन्दा बढी उद्योग दर्ता रहेको घरेलु कार्यालयमा एक हजार ८४ उद्योगमात्र नवीकरण छन्। दर्ता भए पनि नवीकरण अत्यन्तै कमी हुने गरेको कार्यालयले जनाएको छ।

घरेलु तथा साना उद्योग कार्यालयमा नवीकरण भएको कागजात अन्य कार्यालयमा नवीकरण गर्दा नखोज्ने गरेकाले पनि नवीकरण नहुने गरेको उनको भनाइ छ। अन्तरकार्यालय समन्वयको अभावमा घरेलुमा दर्ता भएका उद्योग नवीकरण नभएको हुनसक्ने सूचना अधिकारी भुसालले बताए। –INS

प्रतिक्रिया