मिथिलामा राखीको रौनक

महोत्तरी । मिथिलामा चन्द्रमासको साउन शुक्लपक्ष प्रारम्भ भएपछि चाडबाड बाक्लिनेक्रम चल्छ । मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा प्रचलनमा रहेका मिथिला र विद्यापति पञ्चाङ्गको वर्ष आरम्भ नै चन्द्रमासको साउन प्रारम्भसँगै हुन्छ । वर्षको प्रारम्भसँगै साउन शुक्लपक्ष सुरु हुनासाथ चाडपर्व बाक्लिँदै जान्छन् ।
मिथिलामा साउन शुक्लपक्षभित्रै मधुश्रावणी पर्व समापन, झुलनोत्सव, नागपञ्चमी पर्व पर्दछन् । यी पर्वसँगै साउन शुक्लपक्षमा खास रौनक भने ‘राखी’ पर्वको देखिन्छ । अहिले साउन शुक्लपक्षको करिब मध्यतिर आइपुग्दा महोत्तरीसहितका मिथिला क्षेत्रमा ‘राखी’ (रक्षाबन्धन) पर्वको रौनक ह्वात्तै बढेको छ । पूर्णिका दिन मनाइने यो पर्वको तयारी देखिन थालेसँगै मिथिला क्षेत्रमा अहिले रमझम बढेको हो ।
मिथिलामा यही भदौ (सौरमासको) १४ गते बिहीबार ‘राखी’ पर्व मनाइँदैछ । मिथिलामा साउन शुक्लपक्ष सुरु भएसँगै ‘राखी’को चहलपहल बढ्न थाल्छ । फुटपाथे पसल हउन् वा पान पसल, ठूलठूला व्यापारिक प्रतिष्ठान हुन कि चलचित्र घर सबै ठाउँमा दिदीबहिनी र दाजुभाइबीच गाढा प्रेम दर्शाउने गीतका धुन लगातार बजिरहेका सुनिन्छन् ।
चारैतिर पर्वको रमझम र तयारीले सम्पूर्ण मिथिला क्षेत्र अहिले राखीमय बनेको छ । मिथिलामा अहिले जताततै दाजुभाइको सौर्य बखान गरिएका माङ्गलिक गीतको मिठो धुन गुञ्जी रहेका छन् । प्रत्येकजसो गाउँनगर बस्तीमा रङ्गीविरङ्गी ‘राखी’ (साउन पूर्णिमाका दिन दिदीबहिनीले दाजुभाइलाई हातमा बाँधिदिने कलात्मक ढङ्गले बनाइएका धागोका डोरा) बेच्न राखिएका छन् । बस्तीमा खासगरी किशोरी र नवयौवना सखी सहेली एकापसमा भेट हुनासाथ गरिने कुराकानी नै ‘राखी’को तयारीसँग सम्बन्धित हुने गरेको छ ।
सडकका चोकचोक र हाटबजारमा गुञ्जेका राखीपर्वका गीतले आम बटुवालाई समेत द्रवित बनाउने गरेको मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापिठका मैथिली भाषा साहित्यका उपप्राध्यापक मनोज झा मुक्ति बताउनुहुन्छ । चेलीहरु अहिलेदेखि नै राखी बाँधी दिएपछि दाजुभाइलाई ख्वाइने मिष्ठान्न परिकारबारे योजना बनाउन थालेका छन् ।
यसैगरी दाजुभाइ पनि पर्वमा दिदीबहिनीसँग राखी बाँध्ने प्रयोजनका लागि केही दिन पहिलेदेखि नै आआफ्नो कामबाट फुर्सद मिलाउन लागेका छन् । पर्व विशेषमा दाजुभाइ, दिदीबहिनी र राखीको कारोबार गर्ने व्यापारीहरु उत्तिकै व्यस्त छन् ।
ग्राहकको रोजाइमा परेका राखीका डिजाइनको माग र त्यसको आपूर्ति अहिले आफ्नो मुख्य ध्येय रहेको व्यापारीहरुको भनाइ छ । पर्वका लागि अब सात-आठ दिनमात्र बाँकी रहँदा रक्षाबन्धनका विभिन्न डिजाइनको माग र आपूर्तिका कामले एकछिन फुर्सद नभएको सीतापुर बजारमा राखी बिक्री गर्दै आएका रामभगत साह बताए ।
सत्ययुगमा तीनै लोक (स्वर्ग, मत्र्य र पाताल)को अधिपति रहेका दानवराज वलिलाई उनका बहिनीहरु गङ्गा र यमुनाले युद्धमा जानुअघि विजयको कामना गर्दै हातमा रक्षाबन्धन (रक्षाकवच) बाँधी दिएका र सो युद्धमा बलिको जीत भएको सम्झनामा प्रत्येक वर्षको साउन पूर्णिमाका दिन दिदीबहिनीले आफ्ना दाजुभाइको सौर्य वृद्धिको कामना गर्दै ‘राखी’ बाँधी दिने परम्परा बसेको मिथिला क्षेत्रमा जनविश्वास छ ।
पर्व विशेषमा यसअघि केही मनोमालिन्य रहे पनि दिदीबहिनीले निम्ता गरेपछि दाजुभाइ राखी बाँध्न पुग्ने गर्नुले चेलीहरु र माइती पक्षबीच सम्बन्ध सुधारमा समेत पर्वको विशिष्ट भूमिका हुने गरेको शिक्षा क्षेत्रमा उपसचिव पदमा रही लामो सरकारी सेवाबाट अवकाश लिएका जिल्लाकै जलेश्वर नगरपालिका–४ सुगाभवानीपट्टीका ८२ वर्षीय कृष्णचन्द्र झा बताए ।
प्रतिक्रिया