सरकारी टोली पूजा सामग्री लिएर बडीमालिकामा प्रस्थान

काठमाडौं । जिल्लाको धार्मिक तथा पर्यटीय क्षेत्रका रूपमा रहेको बडीमालिकाको पूजाका लागि सरकारी टोली हिजै त्यसतर्फ प्रस्थान गरेको छ । हरेक वर्ष साउन शुक्ल चतुदर्शीका दिन लाग्ने बडीमालिकाको मेलाका लागि चार दिनअघि नै तीर्थयात्री त्यसतर्फ लागेका हुन् ।
बडीमालिकामा रहेको २२ पाटन र खेतीबेतीलगायत रमणीय ठाउँको अवलोकनसँगै मनोकाङ्क्षासमेत पूरा हुने अपेक्षामा यात्रुहरू बडीमालिका जाने गर्दछन् । खप्तडमा लाग्ने गङ्गादशहरा मेलाका समयमा स्थानीय निकायका उच्चपदस्थ व्यक्तिले यहाँ दर्शन तथा पूजाआरधाना गर्दै आएका छन् ।
बडीमालिका बरदायी शक्तिस्वरुपा माता भएकाले देश तथा विदेशबाट पनि एकपटकका लागि मात्र भएपनि यहाँ आउने गरेका छन् । बडीमालिकामा बाजुरा, डोटी, जुम्ला र कालीकोटबाट सरकारी पूजा लैजाने गरिन्छ । सरकारी पूजाका लागि बाजुराका प्रमुख जिल्ला अधिकारी पुष्कर खड्का नेतृत्वको टोली आइतबार बडीमालिकामा प्रस्थान गरेको हो । टोलीमा सुरक्षा निकायका प्रमुख, बडीमालिका नगरपालिकाका नगरप्रमुख अमरबहादुर खड्का र अन्य जनप्रतिनिधिसमेत सहभागी छन् । हरेक वर्ष जिल्लाका चार शक्तिपीठमा पूजा आरधाना गर्ने प्रचलन छ ।
बडीमालिकाको दर्शन गरे मनोकाङ्क्षा पूरा हुने र भएकाले अधिकांश श्रद्धालु भक्तजन बडीमालिकाको दर्शन गर्न आउने गरेको त्यहाँका पुजारी नेत्रप्रसाद पाध्यायले बताए । निःसन्तानलाई सन्तान दिने र मागेको बार पूरा हुने भएकाले श्रद्धालु भक्तजनको बडीमालिकामा घुइँचो लाग्ने गरेको उनको भनाइ थियोे ।
बडीमालिकाको पूजाका लागि डोटीबाट डोल र जुम्लाको चन्दनाथबाट पनि सरकारी पूजा बाजुरामा आइपुगेको छ । बाजुरा, डोटी, जुम्ला र कालीकोटबाट ल्याइएको सरकारी पूजा सकेपछि अन्यभक्तजनले दर्शन गर्ने प्रचलन रहिआएको छ । बूढीनन्दामा पनि यात्रा सुरु जिल्लाकोे पूर्वी उत्तरी भेगमा रहेको बूढीनन्दामा आउने भक्तजनको तीर्थ यात्रा पनि सुरु भएको छ । बडीमालिकासँगै बूढीनन्दाको पनि एकैसाथ यात्रा सुरु हुने गरेको छ । धार्मिक र पर्यटकीय क्षेत्रका रुपमा रहेको बूढीनन्दामा विभिन्न ताल, झरना र रमणीय फाँटहरु छन् ।
बडीमालिका र बूढीनन्दा बहिनी भएकाले उनीहरु दुबैको चतुर्दशीकै दिन पूजा हुने गरेको हो । यस वर्ष पहिलो पटक बूढीनन्दामा पनि सरकारी पूजा हुने भएको छ । चार शक्ति पिठमा एकैसाथ पूजा जिल्लाका धार्मिक तथा पर्यटीकय क्षेत्र रहेका बडीमालिका, बूढीनन्दा, सुनन्दा, बडालेख, जाल्पादेवीलगायत चार शक्ति पीठमा जनैपूर्णिमाको अघिल्लो दिन एकैसाथ पूजा लाग्ने गरेको छ । धार्मिक तथा पर्यटीय क्षेत्रका रुपमा रहेका ती चार शक्तिपिठमा आआफ्नै ठाउँमा पूजा आराधना गरेर मेला भर्ने गरिन्छ ।
प्रतिक्रिया