मंगलबार, वैशाख ९, २०८२

नेपालपछि अमेरिकामा ‘बगान’

नेपालखोज २०८० भदौ ११ गते १८:४०

काठमाडौं । नेपालमा सफलतापूर्वक प्रदर्शन भएको चलचित्र ‘बगान’ को संयुक्तराज्य अमेरिकामा प्रदर्शन प्रारम्भ भएको छ ।

कलाकारसमेत रहेका निर्देशक सरोज खनालले भदौको पहिलो सातादेखि सुरु भएको प्रदर्शन दशैँसम्म हुने जानकारी दिए ।

उनीसँगै अभिनेत्री प्रमिला कार्की र गीतकार सुरेश वाग्ले प्रदर्शनीमा सहभागी भइरहेका छन् । चलचित्र र रङगमञ्चमा उत्तिकै लोकप्रिय नाम बनिसकेका खनालले यसै चलचित्रमार्फत निर्देशकीय यात्राको प्रारम्भ गरेका हुन् । यद्यपि योजना बनाएर नै निर्देशनको यात्रा प्रारम्भ नभएको उनले बताए ।

आफूलाई कथा वाचक भन्न रुचाउने खनालले चलचित्रमा आफूभन्दा वरिष्ठ कलाकार नै बढी राखे । सयौँ चलचित्रमा अभिनय गरिसकेका अभिनेता खनालले चलचित्रमा स्टार कलाकारभन्दा पनि विषयवस्तु महत्त्वपूर्ण हुनुपर्ने बताए । त्यसैले उनले एकल महिलाको कथा, समवेदना र शिक्षाको महत्त्वलाई चलचित्रमा प्रस्तुत गरेका छन् ।

गीतकार वाग्लेका अनुसार चलचित्र ‘बगान’ मेफिल्ड, ग्रीन्सबोरो, कोलोराडो, टोरोन्टो (क्यानाडा), न्युयोर्क, डलास, ह्युस्टन, अस्टिन, लसएन्जलस, क्यालिफोर्निया, ह्यारिस्वर्ग, एटलान्टालगायतका सहरमा प्रदर्शन हुँदैछ ।

प्रतिक्रिया