पन्ध्र शय्याको नगर अस्पताल स्वास्थ्य सहायकको भरमा

पर्वत । कुस्मा नगरपालिका–१२, ठूली पोखरीमा रहेको नगर अस्पताल तथा प्राथमिक स्वास्थ्य केन्द्र डाक्टरविहीन बनेको छ ।
एक एमबिबीएस डाक्टरसहित १३ जनाको दरबन्दी रहेको अस्पताल विगत पाँच वर्षदेखि स्वास्थ्य सहायक (हेल्थ असिसटेन्ट)ले निमित्तका रूपमा चलाउँदै आएका छन् । दरबन्दीमा रहेका डाक्टर अध्ययन बिदामा गएपछि हालसम्म अन्य डाक्टर आएका छैनन् । तत्कालीन डा विवेक भण्डारी २०७५ सालमा अध्ययन बिदामा गएपछि दरबन्दीका कुनै डाक्टर आउन सकेका छैनन् ।
सुविधासम्पन्न भौतिक पूर्वाधार, एम्बुलेन्ससहित आधुनिकयन्त्र उपकरण भए पनि दरबन्दी अनुसारका चिकित्सक र प्राविधिक नआएपछि सेवाग्राही मारमा परेका छन् । अस्पतालका निमित्त प्रमुख भीमकुमारी लामिछानेले भनिन्, ‘दरबन्दीका डाक्टर नै जिल्लामा नभएर होला, भएको भए त आउनुपर्ने हो ।’
नागरिकलाई सर्वसुलभ स्वास्थ्य सेवा दिन ग्रामीण क्षेत्रमा खोलिएको आधारभूत अस्पताल दरबन्दीअनुसारका स्वास्थ्यकर्मी नहुँदा सर्वसाधारण सामान्य बिरामी हुँदासमेत पोखरा तथा काठमाडौं पुग्नुपर्ने बाध्यता छ । देश सङ्घीय संरचनामा गएपछि दरबन्दीमा डाक्टर आउन छाडेका हुन् । स्थानीय तह र प्रदेश सरकारले व्यवस्थापन नगरेका कारण समस्या भएको उनको भनाइ छ । दक्ष जनशक्तिकै अभावमा अस्पतालमा रहेका एक्सरे र भिडियो एक्सरे मेसिनसमेत अलपत्र बनेका छन् ।
केही समय एमबिबीएस सकेपछि अनिवार्य सेवा गर्नुपर्ने भएकाले एक-दुईजना डाक्टर आएको भए पनि उनीहरूको समेत सेवा सकिएपछि प्राथमिक स्वास्थ्य केन्द्र निमित्तको भरमा चलेको हो । अहिले स्वास्थ्य केन्द्रमा करार सेवाका एक स्वास्थ्य सहायक, एक ल्याब असिस्टेन्ट, एक स्टाफ नर्स, तीन अनमी र स्थायी एक अहेब रहेका छन् ।
प्रतिक्रिया