निन्द्राको कमीले प्रजनन क्षमतामा असर

काठमाडौं । स्वास्थ्य सुदृढ तुल्याउन बैलाई स्वस्थ खानपानसँगै नियमित व्यायाम गर्न सुझाव दिँदै आएका स्वास्थ्य विज्ञहरूले अब राम्रो निद्रालाई पनि यसमा समावेश गरेका छन् । भन्नुको अर्थ के हो भने निद्रा हाम्रो स्वास्थ्यका लागि पौष्टिक आहार र व्यायाम जत्तिकै महत्त्वपूर्ण छ। मानिसमा बढ्दो निद्राको गडबडीका कारण धेरै प्रकारका शारीरिक तथा मानसिक स्वास्थ्य समस्याको जोखिम बढेको पाइएको छ ।
बढ्दो तनाव–डिप्रेसनआदिको समस्यादेखि लिएर रक्तचाप बढ्ने अनि मुटुरोगमा पनि यसलाई कारक मानिन्छ। यही कारणले गर्दा सबैलाई हरेक रात ६–८ घण्टा राम्रोसँग सुत्न सल्लाह दिइन्छ। रातिको निन्द्रा पूरा गर्न सकेन र यो समस्या कायम रह्यो भने यसले प्रजनन स्वास्थ्यमा नकारात्मक असर पार्ने खतरा रहेको अनुसन्धानकर्ताहरूले बताएका छन् । यससँग सम्बन्धित समस्या महिला र पुरुष दुवैमा देखिएको छ ।
प्रजनन हार्मोन प्रभावित
सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका अनुसार निद्राको कमीले प्रजनन क्षमतासँग सम्बन्धित हर्मोनलाई असर गर्न सक्छ। मस्तिष्कको भाग जसले ‘निद्रा–ब्युँझने हर्मोन’ लाई नियन्त्रण गर्छ, जब निद्राको कमि हुन्छ तब महिलाहरूमा ओभुलेशन र पुरुषहरूमा शुक्राणुलाई असर गर्छ । अध्ययन अनुसार महिलामा लामो समयसम्म निन्द्रा नलाग्ने समस्याले एस्ट्रोजेन, प्रोजेस्टेरोन, प्रोल्याक्टिन र ल्युटेनाइजिङ जस्ता हर्मोनलगायत विभिन्न प्रजनन हर्मोनमा प्रत्यक्ष असर पार्न सक्छ। अर्थात् निद्राको कमीले बाँझोपन जस्ता समस्याको जोखिम बढाउन सक्छ।
विज्ञहरू के भन्छन् ?
पुरुषमा स्वस्थ शुक्रकीट उत्पादनमा टेस्टोस्टेरोन हार्मोनले महत्त्वपूर्ण भूमिका खेल्ने विज्ञहरू बताउँछन्। यी हर्मोनहरू सामान्यतया निद्राको समयमा निस्कन्छन्। बोस्टन युनिभर्सिटीमा एपिडेमियोलोजीका अनुसन्धानकर्ता र प्रोफेसर लरेन वाइजका अनुसार राम्रोसँग सुत्ने पुरुषहरूमा टेस्टोस्टेरोन स्तर कायम रहन्छ जुन प्रजननका लागि पर्याप्त हुन्छ। जबकि निद्रा र प्रजनन क्षमता सम्बन्धि धेरै अनुसन्धान अनुसार धेरै कम सुत्ने वा खराब निद्राको गुणस्तरले मानिसलाई प्रजनन समस्याहरूको उच्च जोखिममा पुर्याउँछ ।
बोस्टन युनिभर्सिटीको स्कुल अफ पब्लिक हेल्थको अध्ययनले ७९० जोडीमा एउटा अनुसन्धान गरेको थियो। दैनिक ६ घण्टाभन्दा कम सुत्नेहरूलाई गर्भावस्थासँग सम्बन्धित जटिलताहरूको उच्च जोखिम रहेको यो खोजले पत्ता लगायो । यसबाहेक धेरै कम वा धेरै सुत्ने पुरुषहरूमा प्रजनन समस्याको ४२ प्रतिशत उच्च जोखिम थियो। अर्थात् निद्राको कमीले महिला र पुरुष दुवैको प्रजनन स्वास्थ्यमा असर परेको देखिएको छ ।
प्रतिक्रिया