बिहीबार, वैशाख ११, २०८२

नवलपुरमा रेबिज विरुद्धको भ्याक्सिन अभाव

नेपालखोज २०८० भदौ १९ गते १४:४०

त्रिवेणी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा रेबिज विरुद्धको भ्याक्सिन अभाव भएको छ । जिल्लास्थित मध्यविन्दु जिल्ला अस्पतालसहित भ्याक्सिन उपलब्ध हुने यहाँका सरकारी स्वास्थ्य संस्थामा उक्त भ्याक्सिनको अभाव भएको हो ।

जिल्ला अस्पतालमा भ्याक्सिन सकिएपछि अस्पतालले सार्वजनिक सूचना जारी गर्दै हाल उक्त रोगको उपचार गर्न नसक्ने जनाएको छ । अस्पतालका सूचना अधिकारी छविलाल सुवेदीका अनुसार केन्द्रबाट भ्याक्सिन प्राप्त नभएकाले यहाँकोे सेवा रोखिएको छ ।

अस्पतालमा मासिक करिब तीन सय डोज रेबिज विरुद्धको भ्याक्सिन खपत हुँदै आएकामा भ्याक्सिन अभाव भएसँगै सेवाग्राहीहरु मर्कामा परेका छन् ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखामार्फत प्रदेश स्वास्थ्य आपूर्ति तथा व्यवस्थापन केन्द्रमा भ्याक्सिन आउने र त्यहाँबाट आफूहरूले ल्याउने गरेको उनले बताए ।

हाल केन्द्रमै भ्याक्सिनको अभाव भएको भन्ने जानकारी आएकाले भ्याक्सिन अभावमा अस्पतालको सेवामा समेत असर परेको सूचना अधिकारी सुवेदीको भनाइ थियो ।

नवलपुरस्थित स्वास्थ्य कार्यालयको स्टोरमा समेत भ्याक्सिनको अभाव भएको छ । आवश्यक मात्रामा भ्याक्सिन नआउँदा अभाव हुन थालेको त्यहाँका स्रोत व्यक्ति डिल्लिराम तिवारीले बताए ।

उक्त अस्पतालका साथै चोरमारा प्राथमिक स्वास्थ्य केन्द्र, दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्र, गैँडाकोट नगर अस्पताल र डेढगाउँस्थित रकुवा प्राथमिक स्वास्थ्य केन्द्रबाट पनि रेबिज विरुद्धको भ्याक्सिन लगाउने गरिएको छ ।

प्रतिक्रिया