आइतबार, वैशाख ७, २०८२

इन्टरपोलको सय वर्ष

नेपालखोज २०८० भदौ २२ गते १७:२५

काठमाडाैं । अन्तर्राष्ट्रिय फौजदारी प्रहरी संगठन अर्थात इन्टरपोलको स्थापना भएको सय वर्ष पूरा भएको छ । यसको स्थापना ७ सेप्टेम्बर १९२३ मा भएको थियो। सन् १९८९ मा जर्मनीमा भएको ६० औँ सम्मेलनमा यसलाई अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन वा इन्टरपोल नाम दिइएको थियो ।

इन्टरपोल स्थापना हुँदा यसका २० सदस्य राष्ट्र थिए । तिनमा फ्रान्स, चीन र स्पेन जस्ता देशहरू समावेश थिए। आज यो संगठनमा १९५ सदस्य राष्ट्र छन्। माइक्रोनेसिया नोभेम्बर २०२१ मा यसको सदस्य बन्ने सबैभन्दा नयाँ मुलुक हो ।

पहिलो रेड कर्नर नोटिस

इन्टरपोलको पहिलो रेड कर्नर नोटिस १९४७ मा जारी गरिएको थियो, जसले सदस्य देशहरूलाई हत्या, बलात्कार र ठगीजस्ता अपराधमा खोजिएका व्यक्तिहरूलाई पक्राउ गर्न अनुरोध गरेको थियो। प्रहरी अधिकारीको हत्या गरेको आरोपमा रुसी नागरिकलाई पहिलो पटक रेड नोटिस जारी गरिएको थियो । अहिले वर्षेनी हजारौं रेड नोटिस जारी हुन्छन्।

रेड कर्नर नोटिस बाहेक इन्टरपोलले एलो, ब्लू, ब्लाक, ग्रीन तथा पर्पल जस्ता धेरै रंगका सूचनाहरू जारी गर्दछ, जसले बेपत्ता व्यक्तिहरूको खोजीदेखि चेतावनीसम्म विभिन्न काम गर्दछ।

इन्टरपोलको काम

इन्टरपोलले धेरै क्षेत्रमा काम गर्छ, जसमा हतियार र लागुऔषधको तस्करी, नक्कली औषधिको व्यापार, नक्कली नोटको गिरोह विरुद्ध इन्टरपोलले समय समयमा धेरै अभियानहरु सञ्चालन गरी धेरै अन्तर्राष्ट्रिय गिरोहलाई उन्मूलन गरेको छ । यसक्रममा सन् २०१३ मा अपरेशन लायनफिस अन्तर्गत ३० टन कोकिन र हेरोइन बरामद गएको थियो ।

हालैका वर्षहरूमा इन्टरपोलले निरन्तर रूपमा आफ्नो नेटवर्क र क्षमता विस्तार गरेको छ। यसले ठूलो मात्रामा डाटा जम्मा गरेको छ जुन सदस्य देशहरूसँग साझा गरिन्छ । यसमा १९ वटा डाटाबेस छन्। २०२१ मा I-Familia डाटाबेस स्थापना गरिएको थियो जुन बेपत्ता व्यक्तिहरूको बारेमा हो। यसमा डीएनए मार्फत बेपत्ता व्यक्तिको खोजी गरिन्छ।

प्रतिक्रिया