अब डेंगु भगाउने लामखुट्टे

दशकौंसम्म होन्डुरसका मानिसलाई डेंगुबाट जोगाउनुको अर्थ उनीहरूलाई लामखुट्टेबाट डराउने र तिनको टोकाइबाट बच्न सिकाउनु थियो । अहिले त्यहाँका जनतालाई डेंगुबाट बच्न उल्टो गर्न भनिएको छ ।
गत महिना टेगुसिगाल्पाका बासिन्दा हेक्टर एनरिकेजले आफ्नो टाउकोमाथिको सिसाको भाँडोमा लामखुट्टे ल्याएर तिनलाई मुक्त गर्दा त्यहाँ उपस्थित दर्जनौं मानिसले हर्षोल्लास मनाए ।
५२ वर्षीय एनरिकेज त्यस्ता लाखौं लामखुट्टेलाई खुला ठाउँमा छोडेर डेंगु नियन्त्रण गर्ने कार्यक्रममा स्वयंसेवकका रूपमा सहभागी छन् । होन्डुरसको राजधानीमा स्वास्थ्य र कल्याणका लागि लामखुट्टे वितरण गर्ने अभियान चलिरहेको छ ।
वर्ल्ड मस्किटो प्रोग्राम
एरिकेजले आफ्नो डेंगु प्रभावित छिमेकमा छोडेको लामखुट्टेलाई वैज्ञानिकहरूले विशेष रूपमा प्रजनन गरेका हुन् त्यसैले तिनले वोलबाशिया नामक ब्याक्टेरिया बोक्न सक्छन् । यो ब्याक्टेरियाले डेंगुको संक्रमणबाट बचाउँछ ।
जब यी लामखुट्टेले अण्डा दिन्छन्, यो ब्याक्टेरिया तिनका बच्चाहरूमा पनि सर्छ। यसरी आगामी दिनमा यो महामारीलाई नियन्त्रण गर्ने तयारी भइरहेको छ । डेंगुसँग लड्ने यो अनौठो रणनीति गैरसरकारी अभियान वर्ल्ड मस्किटो प्रोग्रामले तयार पारेको हो र एक दर्जनभन्दा बढी देशमा यसको परीक्षण भैरहेको छ ।
विश्वको आधाभन्दा बढी जनसंख्या डेंगुको जोखिममा छ । विश्व स्वास्थ्य सङ्गठनले होन्डुरस र अन्य ठाउँमा यी लामखुट्टे निस्कने कुरालाई नजिकबाट निगरानी गरिरहेको छ । सङ्गठन यसलाई विश्वभर प्रचार गर्न चाहन्छ। होन्डुरसमा डेंगुका कारण हरेक वर्ष १० हजार मानिस बिरामी हुने गरेका छन् ।
डाक्टर्स विदाउट बोर्डर्स लामखुट्टे कार्यक्रमको साझेदार हो। अबको छ महिनामा उनिहरूले वोल्बाचिया ब्याक्टेरियाले सुसज्जित करिब ९० लाख लामखुट्टे छोड्न लागेका छन् । लामखुट्टे कार्यक्रमका संस्थापक स्कट ओुनिल भन्छन् -नयाँ विधिहरूको ठूलो आवश्यकता छ।
हालैका दशकहरूमा संक्रामक रोगहरूसँग लड्न वैज्ञानिकहरूले ठूलो प्रगति गरेका छन्। तर, डेंगु यसको अपवाद हो किनभने यसको संक्रमण बढ्दै गएको छ । तथ्याङ्कले हरेक वर्ष १३० देशमा ४० करोड मानिस डेंगुबाट संक्रमित हुने देखाएको छ ।
संक्रमितको मृत्युदर न्यून भए पनि डेंगुका कारण वर्षेनी ४० हजार मानिसले ज्यान गुमाउने गरेका छन् । यता डेंगु रोग फैलिएपछि स्वास्थ्य सेवामा भार बढ्छ । यस बाहेक मानिसहरूले काम र विद्यालय शिक्षामा नोक्सानी बेहोर्नुपरेको छ।
जोन्स हप्किन्स विश्वविद्यालयका लामखुट्टे अनुसन्धानकर्ता कोनोर म्याकमेनिम्यान भन्छन् ( जब तपाईलाई डेंगु ज्वरो हुन्छ, प्रायः के हुन्छ भने सबैभन्दा खराब अवस्थामा यो इन्फ्लुएन्जा जस्तो हुन सक्छ । डेंगुको मामिलामा लामखुट्टेबाट सर्ने रोगबाट बच्ने परम्परागत विधिहरू लगभग असफल भएका छन् ।
प्रभावकारी छ यो विधि
डेंगु फैलाउने एडिस एजिप्टाई लामखुट्टेमा कीटनासकले काम गर्दैन, जबकि अधिकांश अवस्थामा यी कीटनाशकहरू प्रभावकारी हुन्छन् ।
यसबाहेक डेंगु भाइरस चार फरक रूपमा आउँछ, त्यसैले यसलाई खोप मार्फत नियन्त्रण गर्न गाह्रो छ। एडिस एजिप्टाई लामखुट्टे दिउँसो सक्रिय हुने भएकाले पनि यो मानिसको ठूलो शत्रु हो । यसको अर्थ के हो भने जब तिनले टोक्छन् त्यतिबेला न त लामखुट्टे रोक्ने झुल हुन्छ , न त अरू केही सुरक्षा उपाय ।
वोलबाशिया ब्याक्टेरिया प्राकृतिक रूपमा लगभग ६० प्रतिशत कीट प्रजातिहरूमा पाइन्छ, तर एडिस एजिप्टाईमा हुँदैन । कडा परिश्रमका साथ वैज्ञानिकहरूले यो ब्याक्टेरियालाई यो लामखुट्टेमा सारेका हुन् ।
विश्व लामखुट्टे कार्यक्रमले सन् २०११ देखि यसको परीक्षण गरिरहेको छ र १४ देशका करिब ११ करोड मानिसमा यसको परीक्षण गरिएको छ । परीक्षणको नतिजा उत्कृष्ट छ । २०१९ मा इन्डोनेसियामा गरिएक एउटा ठूलो परीक्षणका क्रममा डेंगुका केसमा ७६ प्रतिशत गिरावट देखिएको थियो । अर्कातिर यसलाई किफायती बनाउने तयारी पनि भैरहेको छ ।
एपी
प्रतिक्रिया