महादेवको शिरको चन्द्रमा

काठमाडाैं । भगवान् शिवको कृपा प्राप्त गर्न शिवलिङलाई बेलपत्र, भाङ, धतुरो, शमीको पात, गंगाजल तथा गाईको दूधले अभिषेक गरिन्छ । साउन महिनाको महिमा र शिवभक्तीको यो विशेष शृंखलाअन्तरगत हामी यहाँ भगवान् शिवले शिरमा चन्द्रमा धारण गरेको विषयमा जानकारी दिँदै छौं । यस विषयमा शिव पुराणमा एउटा कथा उल्लेख छ ।
कथाअनुसार, चन्द्रदेवको विवाह राजा दक्षकी २७ जना नक्षत्र कन्यासँग भएको थियो । यद्यपि चन्द्रमा र रोहिणीबीच बढी प्रेम थियो । चन्द्रमा रोहिणिको रुपबाट मोहित थिए । चन्द्रमा स्वयं पनि रूपवान् थिए । रोहिणी र चन्द्रमा बीचको अत्यधिक प्रेम देखेर चन्द्रमाका अन्य श्रीमतीहरु डाहा गर्दथे । उनीहरुले यो विषयमा पिता दक्षसमक्ष गुनासोसमेत गरेका थिए ।
त्यस्तो गुनासो सुने पछि राजा दक्षले चन्द्र देवलाई क्षय रोग लागोस भन्ने श्राप दिए । क्षय रोगका कारण चन्द्र देवको अवस्था खराब हुन थाले पछि नारद जी ले उनलाई महाकाल भगवान् शिवको पूजा गर्ने सुझाव दिए । त्यसपछि चन्द्र देवले शिवलिङ स्थापना गरेर शिवक पूजा प्रारम्भ गरे । जब उनको प्राण निस्कनै लागेको थियो तब भगवान शिवले उनलाई दर्शन दिए र क्षय रोगबाट मुक्त हुने वरदान प्रदान गरे । त्यस पछि शिवजीले चन्द्र देवलाई आफ्नो शिरमा धारण गरे ताकि उनी चाँडै ठीक हुन् ।
भगवान शिवले प्रदोषकालमा चन्द्रमा लाई क्षय रोगबाट मुक्त गरेका थिए । त्यसैले प्रदोष व्रत पनि लिने चलन छ । त्यही बेला देखि भगवान शिवलाई सोमनाथ, चन्द्रशेखर, शशिधर आदि नामले पनि सम्बोधन गरिदै आएको छ ।
अर्को कथा
एउटा अर्को कथाअनुसार भगवान् शिवले विष पान गरेपछि देवी(देवताहरुले उनलाई शिरमा चन्द्रमा धारण गर्ने सुझाव दिएका थिए ताकि चन्द्रमाको शीतलताले तीव्र विषको प्रभाव कम होस् । यता शिवजीलाई थाहा थियो चन्द्रमाले विषको प्रभाव सहन गर्न सक्दैनन् । यद्यपि देवी/देवताहरुको आग्रह टार्न नसकेर भगवान् शिवले विषको प्रभाव कम गर्न आफ्नो मस्तकमा चन्द्रमा धारण गरे ।
प्रतिक्रिया