स्वास्थ्यमन्त्रीको आश्वासनपछि चिकित्सा शिक्षा सरोकार सङ्घर्ष समितिले तोड्यो अनशन

काठमाडौं । चिकित्सा शिक्षा सरोकार सङ्घर्ष समितिका पदाधिकारीहरूले अनशन तोडेका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतको विशेष पहलमा विगत ३८ दिनदेखि माइतीघर मण्डलामा रिले अनशन बसिरहेका सङ्घर्ष समितिका पदाधिकारीहरूले आज अनशन तोडेका हुन् ।
मन्त्री बस्नेतले सङ्घर्ष समितिले उठाएका माग सम्बोधन गर्न सरकारले पहल गरिरहेको भन्दै चिकित्सा शिक्षा ऐन छिट्टै संशोधन हुने आश्वासन दिए । उनले यस विषयमा शिक्षामन्त्री र प्रधानमन्त्रीसमेत सकारात्मक भएकाले सङ्घर्ष समितिले उठाएका माग चाँडै सम्बोधन हुने विश्वास दिए ।
चौध सूत्रीय माग राखेर अनशनरत सङ्घर्ष समिति तत्काल सडक सङ्घर्ष स्थगित गर्न सहमत भएको हो । मन्त्रालयसँगको वार्तापछि आफूहरूले उठाएका माग सम्बोधन हुनेमा विश्वासको वातावरण बनेको सङ्घर्ष समितिका सहसंयोजक भुवनचक्र जोशीले बताए ।
मन्त्रालयको सचिवालयका स्वकीय सचिव रामेश्वर आचार्य र रामचन्द्र दुलालले सङ्घर्ष समितिका सदस्यलाई जुस पिलाएर अनशन स्थगिन गरिएको हो ।
प्रतिक्रिया