नेपालगञ्जमा रामलीलाको १५६औं संस्करण

नेपालगन्ज । नेपालगन्जमा डेढसय वर्षदेखि सञ्चालन हुँदै आएको रामलीला महोत्सवको तयारी सुरू भएको छ । प्रत्येक वर्ष दसैँका अवसरमा नेपालगञ्जको रामलीला मैदानमा रामलीला महोत्सव मञ्चन हुँदै आएको छ । यो वर्ष रामलीलाको एक सय ५६ औँ संस्करणका लागि आवश्यक तयारी सुरू गरिएको रामलीला सञ्चालक समितिका अध्यक्ष सन्तोषकुमार कनोडियाले जानकारी दिए ।
‘यो वर्ष पनि विगतका वर्षहरूमा जस्तै धुमधाम पूर्व रामलीला महामहोत्सव सञ्चालन गर्ने तयारी गरेका छौँ’, अध्यक्ष कनोडियाले भने, ‘भारतको वृन्द्धावनबाट कलाकार ल्याएर रामलीला मञ्चन गरिने छ ।’एक सय ५२ वर्षदेखि निरन्तर प्रत्येक वर्ष हुँदै आएको रामलीला महोत्सवको एक सय ५३ र एक सय ५४ औँ वर्ष प्रवेशको कार्यक्रम कोरोना महामारीका कारण स्थगित गरिएको थियो । सत्यमाथि विजयको प्रतीकका रूपमा मनाइने दसैँको पहिलो दिन घटस्थापनादेखि विजयादशमीको दिनसम्म राति ८ बजेदेखि १२ बजेसम्म रामलीला मञ्चन गरिन्छ ।
नेपालगञ्जवासी चासो र उत्साहका साथ रामलीला महोत्सवमा सयौँको संख्यामा मध्य रातसम्म सहभागी हुने गर्दछन् । धनुष यज्ञ, रावणवध, भरतमिलाप र रामको शुभ राज्याभिषेक भएर रामलीला महोत्सव समापन हुने गर्दछ ।यस क्षेत्रको परिचय बनेको रामलीला मञ्चनले नेपाल तथा भारतमा नेपालगन्जलाई चिनाएको कनोडियाको भनाइ छ । सञ्चालक समितिका अध्यक्ष कानोडियाका अनुसार, रामगोपाल टण्डन, भाइलाल हल्वाईलगायतले नेपालगन्जमा रामलीला महोत्सवको सुरुआत गरेका थिए ।
नेपालगन्जको परम्परालाई जोगाइ राख्नका लागि सहयोग सङ्कलन गरेर रामलीला महोत्सव गर्दै आएको प्रचारमन्त्री आदित्य गुप्ताले बताए । सन् १९२५ देखि नेपालगञ्जको रामलीला मैदान र टण्डन राइस मिलमा मञ्चन हँुदै आएको यो कला नेपालीभन्दा बढी सीमावर्ती भारतीयबीच लोकप्रिय छ । भारतको उत्तरप्रदेशबाट समेत हजारौँ श्रद्धालु रामलीला दर्शनका लागि आउने गरेका छन् ।
रामलीला मञ्चनका लागि बर्सेनि लाखौँ खर्च गरेर भारतबाट कलाकार ल्याइन्छ । नेपालमै कलाकार उत्पादन गर्ने प्रयास गरिए पनि सफल हुन नसकेको रामलीला सञ्चालक समितिका अध्यक्ष कनौडियाले बताए । नेपालमै कलाकार उत्पादन गर्न तालिम सञ्चालन गर्ने सोच बनाएको अध्यक्ष कनोडियाले उल्लेख गरे । एउटा आयोजनामा कम्तीमा रु १५ लाख खर्च हुने सञ्चालक समितिको भनाइ छ । अध्यक्ष कनोडियाले समुदायस्तरबाट डेढसय वर्षदेखिको यो अद्भूत कलालाई निरन्तरता दिन भइरहेको प्रयास चुनौतीपूर्ण रहेको बताए ।
‘शतप्रतिशत समुदायको सहयोगबाट चलेको छ । नितान्त समुदायको अग्रसरतामा यहाँसम्म आइपुगेको यो ऐतिहासिक विरासतलाई निरन्तरता दिन र जीवन्त राख्न स्थानीय कलाकार उत्पादनलाई विशेष प्राथमिकतामा राखेर अगाडि बढ्न स्थानीय सरकारको सहयोग आवश्यक देखिन्छ’, कनोडियालाई उद्धृत गर्दै राससले समाचारमा जनाएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले रामलीला नेपालगञ्जको परिचय भइसकेको बताएका छन् । डेढसय वर्षदेखि निरन्तर चल्दै आएको रामलीलालाई भव्य र सभ्य बनाउन आफूले सक्दो सहयोग र सहकार्य गर्ने नगर प्रमुख विष्टको भनाइ छ ।
प्रतिक्रिया