बिहीबार, वैशाख ११, २०८२

बालबालिकाको बौद्धिक विकास

नेपालखोज २०८० असोज १२ गते ९:२३

यस क्षेत्रले भौतिक तथा सामाजिक परिवेशबारे ज्ञान हासिल गर्ने तथा सो बारे विचार गर्न सक्ने क्षमतालाई समेट्दछ । विशेषतः यस क्षेत्रले बालबालिकाहरूको वरिपरीको वातावरणमा उपलब्ध सामानहरू, संस्था र रङ आदिबारेको ज्ञानलाई समेट्दछ ।

बौद्धिक विकासमा हासिल गर्नु पर्ने मापदण्डहरूः

  • खोज तथा अन्वेषण गर्न सक्छन् । 
  • समस्याको समाधान गर्न तथा अनुभवबाट आइपर्ने परिणामको अनुमान गर्न सक्छन् ।
  • सिकाईको विश्लेषण गर्दै प्राप्त निष्कर्षलाई भविष्यको सिकाईमा प्रयोग गर्छन् ।
  • आकार तथा नापको ज्ञान देखाउन सक्छन् । 
  • विभिन्न ज्यामितीय तथा अन्य आकारहरू चिन्न र तिनका बारेमा भन्न सक्छन् ।
  • विभिन्न वस्तुहरूलाई रङको आधारमा चिन्न र तुलना गर्न सक्छन् ।
  • वस्तुहरूको क्रम मिलाएर राख्न तथा वर्गीकरण गर्न सक्छन् ।
  • मौसमलाई हेरेर त्यसका बारेमा वर्णन गर्न सक्छन् । 
  • सूर्य, चन्द्रमा, तारा र आकाशको वर्णन गर्न सक्छन् ।
  • शरीरका अङ्गहरूको नाम भन्न सक्छन् । 
  • सजीव र निर्जीव वस्तुहरू छुट्याउन सक्छन् ।
  • जीवित वस्तुहरूका विभिन्न वासस्थान हुन्छन् भन्ने जान्न/बुझ्न सक्छन् ।
  • दैनिक प्रयोग हुने वस्तुहरू (धातुका वस्तु र अन्य) चिन्न र तिनलाई वर्णन गर्न सक्छन् । 
  • पानीको गुण बारे बताउन सक्छन् ।
  • आफ्नो वरपर प्रयोग हुने केही औजार\उपकरण तथा वस्तुहरू छुट्याउन सक्छन् । 
  • आफ्नो ठाउँमा पाइने विभिन्न प्रकारको यातायातका साधनहरूको वर्णन गर्न सक्छन् । 
  • दिशा /निर्देशन बुझ्न र प्रयोग गर्न सक्छन् । 
  • दुरीको ज्ञान देखाउन र प्रयोग बुझ्न सक्छन् । 
  • वस्तुको स्थान र अवस्थितिको बारेमा बुझ्न सक्छन् । 
  • विभिन्न समयमा गरिने विभिन्न कामहरूबारे कुराकानी गर्न सक्छन् । 
  • हरेक दिनको समयलाई विभिन्न समयमा छुट्याउन सक्छन् । 
  • १ देखि १० सम्मको अङ्क र गिन्तीको ज्ञान देखाउन सक्षम छन् । 
  • उचाइ, लम्बाइ, तौल र आयतन (मात्रा) को अवधारणा बुझ्न र प्रदर्शन गर्न सक्छन् ।
  • विभिन्न सामग्रीको प्रयोग गरेर विभिन्न वस्तु/आकार बनाउन र चित्र कोर्न सक्छन् । 
  • आफ्नो परिकल्पना नाटक तथा अभिनयमा प्रयोग गर्न सक्छन् ।   
  • वास्तविकता र परिकल्पनामा हुने भिन्नता छुट्याउन सक्छन् ।
  • सङ्गीतका विभिन्न सामग्री तथा आवाज प्रयोग गरेर सङ्गीत बनाउन सक्छन् ।  

बौद्धिक विकासका सूचकहरू प्राप्त गराउनका लागि सुझाइएका केही क्रियाकलापहरूः

३.१ डोमिनो, पजल जस्ता वस्तु दिएर खोज तथा अन्वेषण गर्न लगाउने ।

३.२ कथा सुनाउँदा अन्तमा अब के हुन्छ होला भनी सोधेर उसलाई कथा पूरा गर्न लगाउने ।

३.३ विभिन्न आकार नाप, रङ र बुट्टाका वस्तुहरू दिएर ती वस्तुहरू चिन्न, वर्गीकरण गर्न तथा क्रममा मिलाउन लगाउने ।

३.४ विभिन्न विषयका बारेमा जिज्ञासु हुने तथा छलफल गर्ने वातावरण बनाउने ।

३.५ आफ्नो वरिपरि पाइने उपकरण तथा साधनहरू अवलोकन गर्ने अवसर प्रदान गर्ने ।

३.६ वस्तुलाई एकएक गर्दै १-१० सम्म गन्न प्रोत्साहन गर्ने । हात, हावा, बालुवा आदिमा अङ्क लेख्न लगाउने ।

युनिसेफ नेपाल

प्रतिक्रिया