थाइल्यान्डबाट आएर बुद्धभूमिमा निःशुल्क शल्यक्रिया

काठमाडौं । भैरहवाकी कमलादेवी शर्माको दायाँ खुट्टाको घुँडामा लामो समयदेखि दुखाइको समस्या थियो। जताततै धाउँदा पनि ठीक भएन। तर उहाँकोे विशेषज्ञ चिकित्सकले शल्यक्रिया गरेपछि त्यसपछि सहजता हुँदै गएको छ। ‘कहाँ–कहाँ धाइनँ तर ठीक भएन,’ उनले भनिन्, ‘थाई चिकित्सक र सिद्धार्थनगर सिटी अस्पतालका डाक्टरको सहयोगले शल्यक्रिया भयो, अब दुखाइ नहोला भन्ने विश्वास छ।’
घर छेउमा विदेशी विशेषज्ञ चिकित्सकबाट निःशुल्क घुँडाको शल्यक्रिया गराउन पाउँदा निकै खुशी लागेको उनको भनाइ छ।
लुम्बिनी सांस्कृतिक नगरपालिका–१० का ७० वर्षीया चित्रबहादुर भण्डारीको ३ वर्षदेखि बायाँ खुट्टाको घुँडामा समस्या थियो। दुखाइले उठबस र हिँडडुल गर्न निकै समस्या पथ्र्यो। स्थानीय अस्पतालमा जाँच गराउँदा शल्यक्रिया गर्न चिकित्सकले सुझाए। आर्थिक अभावले भण्डारी यत्तिकै घरमा बसे। ‘पैसा थिएन, खर्च धेरै लाग्ने भएपछि शल्यक्रियाका लागि तयार थिइनँ,’ उनले भने।
सोमबार भने उनको थाइल्यान्डबाट आएका विशेषज्ञ चिकित्सकको टोलीले निःशुल्क शल्यक्रिया गर्यो। दुई दिनमै भण्डारी सामान्य हिँडडुल गर्न सक्ने भएका छन्। ‘खुट्टा खुम्च्याएपछि सीधा गर्न सक्दिनथेँ, सीधा गराएपछि खुम्च्याउन समस्या थियो,’ उनले भने, ‘अहिले शल्यक्रियापछि दुई दिनमै सहज हुँदै गएको छ।’
लुम्बिनीस्थित थाई राजकीय विहारको पहल, थाइल्यान्ड सरकारको सिरिराज अस्पतालको विशेषज्ञ टिम र भैरहवास्थित सिद्धार्थनगर सिटी अस्पतालको समन्वयमा रुपन्देही, पाल्पा, काठमाडौंलगायतका जिल्लाका विपन्न परिवारजनका घुँडामा देखिएको जटिल समस्याको सोमबार र मंगलबार निःशुल्क शल्यक्रिया गरिएको छ।
स्वदेशमा शल्यक्रियाका लागि निकै महँगो हुँदा उपचार गराउन नसकेका उहाँहरु रोगका कारण खुट्टा सीधासमेत गर्न नसक्ने अवस्थामा हुनुहुन्थ्यो। अहिले विदेशी चिकित्सक नै आएर शल्यक्रिया गरेपछि खुसी भएका छन् । दुई दिनसम्म भण्डारी र शर्माजस्ता ३२ जनाको निःशुल्क शल्यक्रिया भएको हो। ३२ मध्ये १७ जना महिला र १५ जना पुरुष छन्। यीमध्ये पनि ३० जना जेष्ठ नागरिक हुन्।
आठ महिना अघि लुम्बिनीस्थित थाई विहारको समन्वयमा शिविर सञ्चालन गरी थाइल्यान्ड र सिटी अस्पतालका चिकित्सकले घुँडामा समस्या भएका ८ सय बिरामी जाँच गरेका थिए। त्यसबाट शल्यक्रिया गर्नुपर्ने तर गरिब तथा विपन्न परिवारका ३६ जना बिरामी छनोट गरिएको थियो। उसबेला छनोट गरिएका बिरामीमध्ये ३२ जनाको थाइल्यान्डबाट आएका हाडजोर्नी तथा नशा रोग विशेषज्ञ चिकित्सकले निःशुल्क शल्यक्रिया गरेका हुन्।
शल्यक्रियाका लागि १२ जना विशेषज्ञ चिकित्सक, १३ जना स्वास्थ्यकर्मी र ४५ जना दातालगायत गरी ७० जनाको टिम आएको सिटी अस्पतालका प्रबन्ध निर्देशक अर्जुन पौडेलले बताए।
थाइ सरकारको सिरीराज अस्पतालका हाडजोर्नी तथा नशारोग विशेषज्ञ प्रा.डा.किराती सी वानिचले बुद्ध भूमिमा आएर सेवा गर्न पाएकामा आफूहरु खुसी भएको बताइन् । ‘हामीले पवित्र भूमिमा आएर सेवा गर्यौं, निकै खुसी छौं,’ उनले भनिन्, ‘समय र वातावरण मिल्यो भने आउँदा दिनमा पनि बुद्धभूमिवासीको सेवा गर्नेछौँ।’
चिकित्सकका अनुसार नेपालमै घुँडाको शल्यक्रिया गर्नु परेमा कम्तीमा तीन–चार लाख लाग्छ। गरिब तथा विपन्नका लागि यो रकम जोहो गरेर उपचार गर्न सकस पर्छ। यो शिविरबाट गरिब तथा विपन्नले लाभ लिन पाएको पौडेलको दाबी छ।
प्रतिक्रिया