आइतबार, वैशाख ७, २०८२

लुलाङमा तीन महिनापछि बिजुली बल्यो

नेपालखोज २०८० कार्तिक १ गते १०:३५

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–२ मा तीन महिनापछि बिजुली बलेको छ । मरेनीको फेदीमा रहेको ३५ किलोवाट क्षमताको दरखोला दोस्रो लघु जलविद्युत् परियोजनाको विद्युत् गृह असार अन्तिम साता बगाएको थियो । विद्युत् गृह बगाएपछि लुलाङ, खोरिया, लमजुङ र मेरेनीका करिब चार सय परिवार अन्धकारमा थिए ।

परियोजनाको मर्मत गरेर तीन महिनापछि मङ्गलवार देखी विद्युत् आपूर्ति भएको लमसुङका भक्त सिंकिजा पुनले जानकारी दिए । ‘दसैँ तिहारजस्ता चाडपर्वको समयमा गाउँ उज्यालो हुँदा स्थानीय वासीमा खुसीयाली छाएको छ’, उनले भने, ‘परियोजना मर्मत गरेर विद्युत् आपूर्ति सञ्चालन भएपछि जनजीवन सहज भएको छ ।’

दरखोला दोस्रो लघुजलविद्युुुत् परियोजना मर्मतका लागि धवलागिरि गाउँपालिकाले पाँच लाख ५० हजार र जिल्ला समन्वय समितिले पाँच लाख ५० हजार विनियोजन गरेका थिए । उपभोक्ता समितिका अध्यक्ष कृष्णबहादुर गौचनले पहिरोले पुरिएर भत्किएको विद्युुत्गृह र उपकरण मर्मत गरेर परियोजना सञ्चालन गरिएको बताए । परियोजना सञ्चालन भएपछि चार वटा बस्तीका तीन सय ७० परिवार लाभान्वित भएका छन् ।

‘नहरबाट आएको पानी सङ्कलन हुने ट्याङ्की भरिएर बग्दा खसेको पहिरोले विद्युत् गृह र पेनस्टक पाइप बगाएको थियो’, गौचनले भने, ‘पेनस्टक पाइप, विद्युत् गृह र उपकरण परिवर्तन तथा मर्मत गरेर परियोजना पुनः सञ्चालन गरेर गाउँलाई उज्यालो बनाएका छौँ ।’

वि.सं २०७८ भदौमा बाढीले बगाएको परियोजना मर्मत गरेर छ महिनापछि पुनः सञ्चालन गरिएको थियो । लमसुङमा रहेको परियोजना २०७२ सालमा जुगे पानी पहिरोले बगाएपछि मरेनीको फेदीमा स्थानान्तरण गरिएको थियो । दरखोला दोस्रो लघु जलविद्युत् परियोजना तेस्रो पटक पहिरोको चपेटामा परेको छ ।

केन्द्रीय प्रसारण लाइन नपुगेको लुलाङका बासिन्दा विद्युत् सुविधाका लागि लघु जलविद्युत् परियोजनामा निर्भर छन् । उज्यालोका लागि टुकीको भर पर्नुपर्ने, वडा कार्यालय, स्वास्थ्य संस्थाको सेवा प्रभावित, मोबाइल चार्ज गर्न, ल्यापटप, कम्प्युटर चलाउन समस्या भएको थियो ।

परियोजना पुनः सञ्चालन भएपछि विद्यार्थीलाई पढ्न र स्थानीयवासी लाई घरायसी काम गर्न सहज भएको छ । धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनले पटक–पटक पहिराले लद्युजलविद्युत् परियोजनामा क्षति गरेकाले लुलाङ, खोरिया, लमजुङ र मरेनीमा जतिसक्दो छिटो केन्द्रीय प्रसारण लाइनको विद्युतीय गर्न पहल गरेको बताए ।

‘नेपाल विद्युत् प्राधिकरणले यसपालि म्याग्दीमा विद्युतीय विस्तारका लागि २० करोड बजेटको ठेक्का सम्झौता गरेको छ’, उनले भने, ‘लुलाङको विद्युत्सम्बन्धी समस्याको दीर्घकालीन समाधानका लागि केन्द्रीय लाइन विस्तारलाई छिटो कार्यान्वयन गराउन पहल गरेका छौँ ।’

प्रतिक्रिया