बिहीबार, वैशाख ११, २०८२

३५ लाख लगानीमा गाई फार्म, दूध बेचेरै मासिक ३ लाख आम्दानी

रूपेश आचार्य २०८० कार्तिक २ गते १५:२९
– रूपेश आचार्य

विगत १० वर्षदेखि लेकी शेर्पा गाईको दूध बेच्दै आउनुभएको छ। उहाँले २०७२ सालको भूकम्प आउनुभन्दा करिब एक–दुई महिनाअगाडिदेखि गाई फार्म खोल्नुभयो। दुर्भाग्य भन्ने कि संयोग ! फार्म खोलेको केही समयपछि नै बजार ठप्प भयो। कारण थियो विनाशकारी भूकम्प।

‘गाई फार्म खोलेको दुई महिना नबित्दै भूकम्प आयो,’ लेकी विगत सम्झँदै भन्नुहुन्छ, ‘हामीले दैनिक ५० देखि ६० लिटर दूध उत्पादन गथ्र्यौं। मानिसको चहलपहल कम हँुदा एक वर्ष त निकै गाह्रो भएको थियो।’
भूकम्प भाग्य नै न नभनौं तर दयालु बनेर आयो। लेकीको परिवार र फार्मका गाईवस्तुलाई केही भएन। ‘अलिक घाटा त भयो तर केही छैन। क्षति नहुनु नै ठूलो कुरा मानियो,’ लेकीले सुनाउनुभयो।

दोखलामा जन्मिएकी लेकीले जीवनका पाँच दशक पार गर्नुभएको छ। २० वर्षमा आङकर्साङ शेर्पासँग विवाह गरेपछि कामका लागि दुवै जना सिन्धुपाल्चोकको तातोपानी नाकामा १० वर्ष बस्नुभयो।

‘चाइना र नेपालको बोर्डर छेउमा बसेका थियौँ। चाइनाबाट सामान ल्याएर पनि १० वर्ष जति बेचियो। महिनामा कत्ति नभए पनि ८० हजार देखि १ लाखसम्म कमाइ हुन्थ्यो,’ लेकी भन्नुहुन्छ, ‘हामी सन्तुष्ट नै थियौँ। परिवार आनन्दमय तरिकाले चलेको थियो। तर, मिहिनतचाहिँ गर्नुपथ्र्यो।’

विस्तारै चीन आवतजावतका लागि नाका बन्द भयो। त्यसपछि उहाँहरूलाई बिनाकाम दुःख र हैरानी खेप्नुपर्यो।

‘नाका पनि बन्द गरिदिए, त्यसपछि काम भएन। काम नभएपछि बस्ने अवस्था पनि बनेन र हामी साँखु आएर बस्न थाल्यौँ,’ लेकीले सुनाउनुभयो।

साँखु आएर पनि के गर्ने कसो गर्ने भन्ने दोधार भएपछि लेकीका श्रीमान् आङकर्साङ कोरिया जानुभयो। कोरिया साढे ३ वर्ष बसेर आएपछि आर्थिक अवस्था बलियो बन्यो। त्यसपछि केही व्यवसाय गर्ने सोच आयो। जसको परिणाम श्रीमान्–श्रीमती मिलेर गाई फार्म खोल्नुभयो।

श्रीमान्ले केही रकम ल्याएपछि केही राहत मिलेको र गाई फार्म खोल्ने निर्णय गरेको लेकीको भनाइ छ। ‘गाँउघरमा हुर्किएका मान्छे ! गााईबस्तुलाई स्याहार गर्न तिनीहरुलाई दिइने आहारको ज्ञान भएर पनि यही पेसा रोजेका हौँ,’ आङकर्साङले बताउनुभयो।

पहिला दुई जना पार्टनर मिलेर सुरु गरेको फार्म पछि एक्लैले गर्न थालेको उहाँको भनाइ छ।

सुरुमा ३० देखि ३५ लाखको लगानीमा १९ वटा गाईबाट सञ्चालन गरिएको ‘श्री आदर्श गाईपालन केन्द्र’ साँखु खुलालटारमा छ।

सुरुवाती दुःख सम्झिँदै लेकी शेर्पाको छोरी साङ्गे डोल्मा भन्नुहुन्छ, ‘पहिला त अहिलेभन्दा निकै मुस्किल थियो। मान्छेको घरघरमा गएर दूध पुर्याउनुपथ्र्यो। निकै गाह्रो पनि भयो। विस्तारै–विस्तारै पहिचान बन्यो। अहिले त मागेको जति दूध पनि पुर्याउनै सकिएको छैन।’

अहिले आदर्श गाईपालन केन्द्रमा १३० लिटरभन्दा अधिक माग छ। तर उत्पादन भने एक सय लिटरको हाराहारीमा रहेको लेकी बताउनुहुन्छ।

फार्ममा एक दिनमा ३० देखि ३२ लिटरसम्म दूध दिने गाई छन्। थोरै दिनेले ३ देखि ४ लिटरसम्म दिन्छन्। त्यस्तै, गाईबस्तुबाट निस्केको मल पनि बेच्नुहुन्छ।

‘हामीहरूले एक वर्षमा १ लाख जतिको त गाईबस्तुको मल नै बेच्छौँ,’ छोरी डोल्मा भन्नुहुन्छ, ‘दुःख गर्न सके फाइदा पनि छ। एउटै गाईलाइ स्याहार पुराउन सके २० देखि ३० लिटरसम्म दूध दिन्छ।’

दाना, पराल , भुुसा, औषधिमा पनि अत्यधिक लगानी गर्नुपर्ने लेकी बताउनुहुन्छ। उहाँले एक वर्षमा डेढ लाखबराबरको त औषधि र भिटामिन मात्रै खुवाउनुभएको रहेछ। ‘संघर्ष र खर्च मात्र होइन, गाईबस्तुलाई गरिने स्याहार र मायाले पनि उत्पादन वृद्धि गर्छ,’ लेकी सुनाउनुहुन्छ।

दूध फार्ममा फाइदा मात्र होइन, लगानी पनि त्यही किसिमको गर्नुपर्ने डोल्माको भनाइ छ। आमा लेकीका अनुसार उहाँहरूले अहिलेको जमिन भाडामा लिएर फार्म चलाउनुभएको छ। जसको वार्षिक भाडा नै दुई लाख रुपैयाँभन्दा बढी छ।

यसबाहेक शेर्पा दम्पतीले फार्ममा दुई जनालाई रोजगारी पनि दिनुभएको छ।

तर लेकीको उमेर भने ढल्किँदै गएको छ। आमाको उमेरलाई लिएर छोरी डोल्मा चिन्तित हुनुहुन्छ। ‘अब आमा अलिक काम गर्न पनि नसक्ने हुँदै जानुभयो,’ डोल्मा भन्नुहुन्छ, ‘म पढाइ सकेर अलिक विकासे गाईहरू ल्याएर अझै राम्रोसँग फार्म सञ्चालन गर्ने विचारमा छु।’

सरकारले साना व्यवसायलाई हेला नगर्ने हो भने आफ्नो पुस्ता बिदेसिनुनपर्ने डोल्माको बुझाइ छ। –ins

प्रतिक्रिया