बुधबार, वैशाख १०, २०८२

के हो त अद्वैतवाद, द्वैतवाद र द्वैताद्वैतवाद ?

हरिविनोद अधिकारी २०८० कार्तिक १० गते ५:१२

अद्वैतवाद

अद्वैतको अर्थ हुन्छ दोस्रो छैन, एउटै छ। अनुपम । ब्रह्म । ईश्वर अनि अद्वैतवादको अर्थ हुने भयो साधारणतया संसार झुठो छ, ब्रह्ममात्र सत्य छ, ब्रह्मको ज्ञानको अभावमा विश्व वस्तुजस्तो प्रतीत हुन्छ । प्रकृति र जीव पनि ब्रह्म नै हुन्, ब्रह्मबाहेक सद्वस्तु अरु केही छैन । मायाको व्यावहारिक सत्ता छ, माया निर्मित भएकाले जगत्स्वरूप अनिर्वचनीय छ भन्ने सिद्धान्त प्रतिपादन गर्ने आदि शंकाराचार्य हुन्। यिनी सातौ शताब्दीका अद्भूत क्षमताका विद्वान र तार्किक व्यक्तित्व थिए र उनले नै वेद, उपनिषद् अनि गीताका आधारमा अद्वैतवादको संरचना गरे जसलाई उनले सनातन धर्मको आधार बताए। उनका २०० भन्दा बढी ग्रन्थहरू छन् जसलाइ भाष्य, स्तोत्र र प्रकरण ग्रन्थका रूपमा विभाजित गरिएको छ। कति ग्रन्थ र स्तोत्रहरू नष्ट गरिएको बताइन्छ ।

द्वैतवाद

द्वैतवाद भनेको सत्य दुई वा दुईभन्दा बढी छन् भनेर व्याख्या गर्ने सिद्धान्त हो यसलाई वहुत्ववाद पनि भन्न सकिन्छ । अर्थात् दुई या बढी भन्ने अर्थ द्वैत हो। यसका प्रवर्तक मध्वाचार्य हुन् । खासमा यो अद्वैतवादको प्रतिक्रियास्वरूप आएको हो । मध्वाचार्यले पनि गीता भाष्य, उपनिषद् भाष्य,ब्रह्मसूत्र भाष्य लेखेका छन्। जसरी आदि शंकराचार्यले ब्रह्ममात्र सत्य छन् भनेर प्रमाणित गर्न खोजेजस्तै मध्वाचार्य र उनका अनुयायीहरूले पनि ब्रह्ममात्र सत्य होइन, संसार पनि सत्य हो । जीव ब्रह्मको अभ्यास होइन, ईश्वर जीवदेखि होइन, ईश्वर जीवदेखि सधैँ भिन्न हुन्छ । जीव पनि जड पदार्थभन्दा भिन्न नै हुन्छ । यसरी द्वैतवादीहरूले पनि गीता, उपनिषद् र ब्रह्मसूत्रकै आधारमा भाष्य तयार गरी व्याख्या गरेका छन्।

द्वैताद्वैतवाद

यसको अर्थ हो संसार पनि छ, ब्रह्म पनि छ। दुवैको सम्बन्ध प्रगाढ छ। निम्बार्कको मतमा संसार ब्रह्म देखि भिन्न पनि छ, अभिन्न पनि छ।

हामी सनातनीहरू वा सामान्य अध्येताहरूका लागि ब्रह्म चेतना हो र संसार ब्रह्म र जडको संयुक्त स्वरूप हो । जड पनि चेतनाको उपज हो र चेतनाको आधारमा पनि सत्यका अन्य उपायहरू प्रयुक्त हुन्छन् । शंकाराचार्यप्रति पनि सम्मान छ, मध्वाचार्य, रामानुजहरू र निम्बार्कहरूप्रति सम्मान छ र जसले कुनै वाद मान्दैन तर जीवन जगत्को हितका लागि पुनर्जागरणमा लागेका छन्, ती पनि हाम्रालागि महामुनिसरह हुन् । गीताको व्यापकताभित्र ती सबै विश्वरूप भित्र अस्तित्वको खोजीमा हुन्छन् भन्ने मान्नुपर्छ।

श्रोत: आइएनएस स्वतन्त्र समाचार

प्रतिक्रिया