सोमबार, वैशाख ८, २०८२

राष्ट्र बैंक भन्छ, व्यापार घाटा तीन खर्ब ६६ अर्ब नाघ्यो

नेपालखोज २०८० कार्तिक २४ गते १५:२७

काठमाडौं । मुलुकमा पछिल्लो समय बस्तु तथा सेवाको आयात बढेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिती सम्वन्धी चालु आर्थिक वर्षको पहिलो तीन महिनाको प्रतिवेदन अनुसार कुल वस्तु आयात एक दशमलव सात प्रतिशतले बढेर चार खर्ब सात अर्ब ७६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा १६ दशमलव दुई प्रतिशतले कमी आएको थियो ।

राष्ट्र बैंकका अनुसार वस्तु आयात गरिने मुलुकका आधारमा भारत र चीनबाट भएको आयात क्रमशः दुई दशमलव चार प्रतिशत र ४२ दशमलव चार प्रतिशतले बृद्धि भएको छ भने अन्य मुलुकतर्फको आयात २२ दशमलव आठ प्रतिशतले घटेको छ ।

वस्तुगत आधारमा तयारी पोशाक, एम. एस. तार, छड, बार तथा क्वाइल, रासायनिक मल, विद्युत्तीय उपकरण, लत्ताकपडा लगायतका वस्तुको आयात बढेको छ भने कच्चा सोयाविन तेल, कच्चा पाम तेल, पेट्रोलियम पदार्थ, सुन, एम.एस.विलेट लगायतका वस्तुको आयात घटेको छ ।

निर्याततर्फ भैरहवा, सुख्खा बन्दरगाह, जलेश्वर, कृष्णनगर, मेची, नेपालगञ्ज, रसुवा तथा त्रिभुवन विमानस्थल भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ । आयाततर्फ भैरहवा, सुख्खा बन्दरगाह, जलेश्वर, कञ्चनपुर, नेपालगञ्ज, रसुवा तथा तातोपानी भन्सार कार्यालय बाहेकका सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ ।

राष्ट्र बैंकका अनुसार चालु आर्थिक बर्षको तीन महिनाको प्रतिवेदन अनुसार कुल वस्तु निर्यात दुई दशमलव तीन प्रतिशतले कमी आई ४० अर्ब ८७ करोड रुपैयाँमा खुम्चिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ३५ दशमलव सात प्रतिशतले कमी आएको थियो ।

गन्तव्यका आधारमा भारततर्फ भएको निर्यात नौं दशमलव चार प्रतिशतले कमी आएको छ भने चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः तीन सय ४५ दशमलव नौं प्रतिशत र नौं दशमलव पाँच प्रतिशतले वृद्धि भएको छ ।

वस्तुगत आधारमा जिंक शिट, पार्टिकल बोड, जुस, अलैंची, पोलिस्टर धागो लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, सोयाविन तेल, जुटका सामान, ऊनी गलैचा, रोजिन लगायतका वस्तुको निर्यात घटेको प्रतिवेदमा उल्लेख ।

चालु आर्थिक वर्ष २०८०/८१ को तीन महिनामा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी ४५ अर्ब ५८ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ३४ अर्ब ५९ करोड बराबरको भएको थियो ।

वृहत्त आर्थिक वर्गीकरण अनुसार समीक्षा अवधिमा भएको कुल निर्यातमा मध्यवर्ती तथा अन्तिम उपभोग्य वस्तुको अनुपात क्रमशः ५५ दशमलव दुई प्रतिशत र ४४ दशमलव पाँच प्रतिशत रहेको छ भने पुँजीगत वस्तुको अनुपात नगन्य अर्थात् शुन्य दशमलव तीन प्रतिशत रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा भएको कुल निर्यातमा मध्यवर्ती, पुँजीगत तथा अन्तिम उपभोग्य वस्तुको अनुपात क्रमशः ५७ प्रतिशत, शुन्य दशमलव शुन्य तीन प्रतिशत र ४३ प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा भएको कुल आयातमा मध्यवर्ती वस्तुको अनुपात ५० दशमलव छ प्रतिशत, पुँजीगत वस्तुको आठ दशमलव पाँच प्रतिशत तथा अन्तिम उपभोग्य वस्तुको अनुपात ४० दशमलव नौं प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी अनुपातहरु क्रमशः ५३ दशमलव दुई प्रतिशत, आठ दशमलव तीन प्रतिशत र ३८ दशमलव पाँच प्रतिशत रहेको राष्ट्र बैकको भनाई छ ।

प्रतिक्रिया