बुधबार, वैशाख १०, २०८२

बर्दिबास अस्पतालमा श्वासप्रश्वासका बिरामी बढे

नेपालखोज २०८० मंसिर २४ गते ७:५४

महोत्तरी । चिसो बढेसँगै महोत्तरीमा श्वासप्रश्वासका बिरामीको सङ्ख्या बढेका छन् । एक्कासी चिसो बढेपछि उपचारका लागि आउने श्वासप्रश्वासका बिरामी बढेका बर्दिबास अस्पतालका मेडिकल अधिकृत डा. किशोर अधिकारी बताए । अहिले दैनिकजसो सरदर ३०–४० जना श्वासप्रश्वासका बिरामी उपचारका लागि बर्दिबास अस्पताल आउने गरेको उनले जानकारी दिए ।

‘यो बितेको सातादेखि नै अस्पतालमा बिरामी बढेका छन्, अहिलेका बिरामीमा श्वासप्रश्वास र हाडजोर्नी दुख्ने समस्याका बढी भेटिएका छन्’, उनले भने, ‘खासमा बढ्दो चिसोमा आवश्यक सावधानी र सम्भार नअपनाइँदा बिरामी बढ्ने गरेका हुन् ।’ यस्ता बिरामीमा ग्रामीण बस्तीका वृद्धवृद्धा र महिला बढी रहेका जनाइएको छ ।

मौसमअनुसार खानपान अन्य आहारव्यहारमा ध्यान नदिँदा श्वासप्रश्वास, हाडजोर्नी दुख्ने र आँखाका बिरामी बढेका अस्पतालका मेडिकल अधिकृत डा. चन्द्रमणि खत्री बताए । जिल्ला सदरमुकाम जलेश्वरस्थित जलेश्वर जिल्ला अस्पताल, गौशाला र सम्सीस्थित प्राथमिक स्वास्थ्य केन्द्र र जिल्लाका १५ वटै स्थानीय तहमा रहेका स्वास्थ्यचौकी र अन्य निजीस्तरमा सञ्चालित अस्पतालमा पनि श्वासप्रश्वास र आँखाका बिरामी आउने क्रम बढेको छ ।

जिल्लाका सबैजसो मुख्य सडकमा उड्ने धुलो, जाडो छल्न प्लाष्टिक, भिजेका पतिङ्गर, पुराना टायर र फोहर लुगामा आगो सल्काएर तापिने ‘घुर’को धुँवाले श्वासप्रश्वास र आँखाको समस्या बढाएको स्वास्थ्य कार्यालय महोत्तरीका निमित्त प्रमुख सुनिता गुप्ताले जानकारी दिईन् । जिल्लाको मध्य र दक्षिणी भेगमा यस्तो समस्या दलित र गरिबका झुपरबस्ती (पराले झुप्राका बस्ती)मा बढी देखिएको उनकोे भनाइ छ ।

चिसो बढेसँगै धुलो र धुँवाका कारण बढेको स्वास्थ्य समस्या आहारव्यवहारबाट नियन्त्रण गर्न सकिने चिकित्सक र स्वास्थ्यकर्मीको भनाइ छ ।

प्रतिक्रिया