कर्णालीका सात जिल्लामा टाइफाइडविरुद्ध खोप अभियान

भेरीगङ्गा (सुर्खेत) । कर्णाली प्रदेशका सात जिल्लामा टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ । पाँच जिल्लामा टाइफाइडविरुद्धको तथा भूकम्पप्रभावित जाजरकोट र रुकुमपश्चिममा टाइफाइडसहित दादुरा–रुबेलाविरुद्धको खोप दिइने भएको हो ।
सोह्र वर्षदेखि ४५ वर्ष उमेर समूहका व्यक्तिलाई टाइफाइडविरुद्धको तथा छ महिनादेखि १५ वर्ष उमेर समूहलाई दादुरा–रुबेलाविरुद्धको खोप दिइने कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।
सुर्खेत, दैलेख, सल्यान, कालिकोट र जुम्लामा टाइफाइडविरुद्धको खोप तत्काल दिइने छ भने हुम्ला, मुगु र डोल्पामा केही समयपछि मात्रै दिइने स्वास्थ्य महाशाखाका प्रमुख वृशबहादुर शाहीले जानकारी दिए । उनका अनुसार हुम्ला, डोल्पा र मुगुमा अहिले अत्यधिक चिसो भएकाले हिउँद सकिएपछि मात्रै अभियान सञ्चालन गरिने छ ।
सुर्खेतमा मात्रै करिब दुई लाख बढीलाई आजदेखि टाइफाइडविरुद्ध खोप दिन सुरु गरिएको जिल्लास्थित जनस्वास्थ्य कार्यालयका प्रमुख गणेशभक्त गौतमले जानकारी दिए । उनका अनुसार दुई चरणमा गरी १६ देखि ४५ वर्ष उमेर समूहका दुई लाख एक हजार नौ सय ६३ लाई खोप दिइने छ ।
प्रतिक्रिया