राष्ट्रपति ट्रम्पले गरे उपचारमा अप्रमाणित औषधिको पुनः बचाउ
काठमाडौं । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोना भाइरसको उपचारमा हाइड्रोक्सीक्लोरोक्वाईनको प्रयोगको फेरि बचाउ गरेका छन् । ट्रम्पको अभिव्यक्ति उनकै स्वास्थ्य अधिकारीको भनाइसँग मिल्दो छैन ।
कोभिड-१९ विरुद्धको उपचारमा औलो विरुद्धको यो औषधिको प्रयोग अस्वीकार गर्नुको एउटै कारण त्यो आफूले सुझाउनु रहेको ट्रम्पको दाबी छ ।
एक दिनअघि हाइड्रोक्सीक्लोरोक्वाईनको प्रशंसा गर्दै ट्रम्पका जेठा छोराले पोस्ट गरेको एउटा क्लिपमाथि सामाजिक सञ्जाल ट्विटरले प्रतिबन्ध लगाइदिएको थियो ।
प्रमाण
उक्त औषधिले कोरोना भाइरसविरुद्ध लड्न सक्छ भन्ने कुराको कुनै प्रमाण छैन । साथै विज्ञहरूले हाइड्रोक्सीक्लोरोक्वाईनले मुटुमा असर पार्न सक्ने भन्दै सचेत गराएका छन् ।
गत महिनामात्रै अमेरिकी खाद्य तथा औषधिसम्बन्धी निकाय एफडीएले कोरोना भाइरसको उपचारमा हाइड्रोक्सीक्लोरोक्वाईनको प्रयोगबारे सचेत गराएको थियो ।
उक्त औषधिले मुटुको ढुकढुकीमा गम्भीर समस्या निम्त्याएको र अरू स्वास्थ्य समस्या पनि देखिएको भन्दै रिपोर्ट आएपछि त्यसको प्रयोगबारे सचेत गराएको एफडीएले जनाएको थियो ।
विश्व स्वास्थ्य सङ्गठनले पनि हाइड्रोक्सीक्लोरोक्वाईन कोरोना भाइरसको उपचारमा प्रभावकारी हुने वा त्यसबाट बचाउने भन्ने कुराको हालसम्म कुनै प्रमाण नरहेको जनाएको छ । गत मार्चमा ट्रम्पले पहिलो पटक हाइड्रोक्सीक्लोरोक्वाईनको प्रशंसा गरेका थिए ।
पछिल्लो पटक मङ्गलवार ह्वाइट हाउसमा उनले भने, ‘जब म कुनै कुरा सिफारिस गर्छु तब उनीहरू त्यसलाई प्रयोग नगर्न भन्न रुचाउँछन् ।’ गत मे महिनामा डब्ल्यूएचओले सुरक्षाका कारण कोरोना भाइरसको उपचारमा हाइड्रोक्सीक्लोरोक्वाईनको परीक्षण गर्न रोकिएको जनाएको थियो ।
सावधानीका लागि भन्दै थुप्रै देशमा भइरहेको परीक्षण अस्थायी रूपमा रोकिएको उसको भनाइ थियो । अमेरिकामा हालसम्म कोरोना भाइरसबाट ४३ लाख व्यक्ति सङ्क्रमित भएका छन् भने १ लाख ४९ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् । (बीबीसीकाे सहयाेगमा)
प्रतिक्रिया