डलर देखाएर ठगेको रकम मुद्दती खातामा प्रयोग

काठमाडौं । एक गिरोहले १० वर्षदेखि डलर देखाएर ठगी गर्ने गरेको पाइएको छ । नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनीहरुले बाहिर डलर राख्ने र भित्र सोही आकारका कागज राखेर डलर साट्ने भनी नेपाली रुपैयाँ लिएर लाखौँ ठगेको पाइएको छ ।
सिन्धुपाल्चोकका रामबहादुर तामाङ, सोही जिल्ला घर भई काठमाडौंको गोकर्णेश्वर बस्ने विवी तामाङ र रौतहट चन्द्रपुर घर भई काठमाडौं बस्ने फरेन एक्सचेन्ज सेन्टरका सञ्चालक शङ्कर रेग्मीको मिलेमतोमा वर्षौँदेखि ठगी धन्दा चलाउँदै आएका अनुसन्धानबाट पुष्टि भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए । यसरी ठगी गरिएको रकम विभिन्न सहकारीमा लगेर मुद्दती खातामा राख्ने गरेको र केही रकम मिटरब्याजमा समेत लगानी गरेको भेटिएको उनले बताए ।
प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार उनीहरुले उपत्यकाको विभिन्न स्थानका व्यक्तिलाई फोन सम्पर्क गरी सस्तो दरमा अमेरिकन डलर मिलाई दिन्छौँ भनि प्रलोभन देखाएर डलरको आकारमा काटिएको कागजको बिटो रुमालमा पोको पारेर दिई नेपाली रूपैयाँ ठगी गर्ने गरेका थिए ।
प्रतिक्रिया