मंगलबार, वैशाख ९, २०८२

लेबनानमा शक्तिशाली विस्फोट, ७० को मृत्यु, चार हजारबढी घाइते

नेपालखोज २०७७ साउन २१ गते ७:३५

एजेन्सी । लेबनानको राजधानी बेइरुतमा शक्तिशाली विस्फोटन भएको छ । विस्फोटनमा कम्तीमा ७० जनाको मृत्युु भएको छ । भने चारहजारभन्दा बढी घाइते भएको बीबीसीले जनाएको छ ।

सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडिओ तथा फोटोमा धूवाँको विशाल मुस्लो र धेरै क्षति भएको देखिएको छ। त्यहाँका अधिकारीहरूले एउटा गोदाममा ६ वर्षदेखि राखिएको विस्फोटक पदार्थका कारण उक्त घटना घटेको बताइरहेका छन्।

राष्ट्रपति मीसेल आउनले आफ्नो ट्वीटमा २७ सय ५० टन अमोनियम नाइट्रेट असुरक्षित रूपमा राखिनु नै विस्फोटको कारण बताएका छन् । राष्ट्रपति मीसेलले विस्फोटनको कारण पत्ता लगाउनअनुसन्धान जारी रहेको बताए । घाइतेहरुले अस्पतालभरिएका छन् भने कैयौँ भवनहरू ध्वस्त भएका छन्।

प्रधानमन्त्री हासान डीयाबले उक्त घटनालाई विपत्तिको संज्ञा दिँदै दोषीहरूलाई जबाफदेही बनाइनुपर्ने बताएका छन्। स्थानीय सञ्चार माध्यमहरूले मानिसहरू भग्नावशेषमा च्यापिएको देखाइरहेका छन्। भने विस्फोटनको आवाज करिब २४० किलोमिटर पर रहेको साइप्रससम्म सुनिएको थियो।

सन् २००५ मा भएको पूर्वप्रधानमन्त्री रफिक हरिरिको हत्याको मुद्दामा फैसला आउनु केही समय अगाडि उक्त ठूलो विस्फोटन भएको हो। राष्ट्रसंघीय न्यायाधीकरणले हरिरिको कार बम हमलामा भएको हत्याको घटनाका चार संदिग्धको सुनुवाइपश्चात् फैसला सुनाउन लागेको थियो। यही शुक्रबार उनको फैसला हुँदै थियो । प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय सहयोगको आह्वान गरेका छन् ।

प्रतिक्रिया