श्रीमतीको हत्या गरेको अभियोगमा प्रक्राउ

झापा । आफ्नै श्रीमती ३० वर्षीया रन्जना गौतम अधिकारीको हत्या गरेको अभियोगमा शिवसताक्षी नगरपालिका–८ शिवालय टोल बस्ने ४७ वर्षीय ओम प्रकाश अधिकारीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
ओम प्रकाशले घरायसी बिवादको कारण खुकुरी प्रहार गर्दा रन्जनाको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले ओम प्रकाशलाई खुकुरी सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
अवैध कटुवा पेस्तोल सहित एक जना पक्राउ
झापा । अर्जुनधारा नगरपालिका–४ दहिझोडा बस्ने ६२ वर्षीय ईन्द्र बहादुर आङ्देम्बेलाई १ थान अवैध कटुवा पेस्तोल सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
उनको घरमा अवैध हात हतियार लुकाई राखेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले घर तलासी गर्ने क्रममा कुखुराको खोरमा प्लास्टिकमा पोका पारी लुकाई छिपाई राखेको उक्त पेस्तोल फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
अवैध लागूऔषध सहित दुई जना पक्राउ
काठमाडौं । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–६ सिबगंज मेहेता टोल बस्ने ३२ वर्षीय विष्णु मेहतालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३३ ग्राम २२ मिलिग्राम सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लौकही र लागू औषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
बाँकेको कोहलपुर नगरपालिका–११ साझाचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ४० मिलिग्राम सहित नेपालगंज उपमहानगरपालिका–११ बस्ने ४५ वर्षीय सब्यद मोबिन अहमदलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले भे.२ प २०७० नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
डुबेर मृत्यु
सर्लाही । कौडेना गाउँपालिका–६ लखनदेही खोलाको बाँध नजिकै पानी जमेको खाल्डोमा डुबेर सोही ठाउँ बस्ने ८५ वर्षीय रेबी सहनीको मंगलबार दिउँसो मृत्यु भएको छ । उक्त ठाउँमा खर काट्न गएको अवस्थामा अचानक खाल्डोमा खस्न गई डुबेर उनको मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
मृत अवस्थामा फेला
काठमाडौं । बाराको प्रसौनी गाउँपालिका–७ बस्ने ३५ वर्षीय हरिन्द्र मण्डल कलैया उपमहानगरपालिका–२३ बैराठपुरस्थित धान खेतको आलीमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
कञ्चनपुर, भिमदत्त नगरपालिका–३ बह्मदेव हाईवेस्थित शुभयात्रा जिप÷कार रिपेरिङ एण्ड वासिङ सेन्टरमा काम गर्ने बेतकोट नगरपालिका–७ लालपुर बस्ने १८ वर्षीय रमेश विक सोही वासिङ सेन्टर नजिकै रहेको कोठामा बुधबार मृत अवस्थामा फेला परेका छन् ।
ताप्लेजुङ, सिरिजंघा गाउँपालिका–१ जुकेमा हाल नाम, थर, वतन नखुलेका पुरूषको शव मंगलबार सडिगलेको अवस्थामा फेला परेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
विभिन्न धनमाल चोरी
भक्तपुर । मध्यपुर ठिमी नगरपालिका–५ भाटभटेनी बस्ने महेश्वर श्रेष्ठको घरबाट कोही नभएको अवस्थामा नगद २ लाख रूपैयाँ र सुनको विभिन्न गरगहना गरी करिब नौं लाख ५७ हजार रूपैयाँ बराबरको धनमाल मंगलबार बेलुकी चोरी भएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया