दारी ग्याङले फुट्सल प्रतियोगिता आयोजना गर्दै

काठमाडाैं । सामाजिक संजालमा चर्चित युवाहरुको समुह दारी ग्याङले आगामी भदौ १४ र १५ गते फुट्सल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
प्रतियोगिता नागर्जुन नगरपालिका-६, रामकोट स्थित ब्रुह स्पोर्ट्स सेन्टरमा हुनेछ । प्रतियोगिताको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुदको फेसबुक र युट्युब च्यानल मार्फत हुनेछ। हाम्रोखेलकुद प्रतियोगिताको ब्रोडकास्टिङ पार्ट्नर रहेको छ ।
प्रतियोगितामा २४ देखि ३२ टिमको सहभागिता रहनेछ । पहिलो दिन लिग चरण र दोस्रो दिन नकआउट चरणका खेल हुनेछन् । लिग चरणका खेल १४ मिनेटका हुनेछन् भने नकआउट चरणका खेल २० मिनेटको हुनेछ ।
प्रतियोगिता खुल्ला किसिमको भएकाले नेपाली नागरिक जोसुकैले टिम दर्ता गर्न सक्नेछन् । तर राष्ट्रिय फुट्बल र फुटसलको ए डिभिजन खेलिसकेका खेलाडीले भने भाग लिन पाउने छैनन् ।
टिम दर्ताका लागि पाँच हजार दर्ता शुल्क र चार हजार धरौटी शुल्क लाग्नेछ। धरौटी रकम अनुशासन कमिटीको रायपछी फिर्ता हुनेछ। सम्पूर्ण खेलहरु फिफाको फुट्सल नियम अनुसार खेलाइनेछ ।
प्रतियोगिताको विजेताले ५० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उप-विजेताले ३० हजार नगद, मेडल, र प्रमाणपत्र प्राप्त गर्नेछ। त्यसै गरि उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र शिर्ष गोलकर्ताले क्रमशः गोल्डेन बल, गोल्डेन ग्लोभ्स र गोल्डेन बुटका साथसाथै पाँच-पाँच हजार नगद, पदक र प्रमाणपत्र प्राप्त गर्नेछन।
वि.स. २०७२ सालमा स्थापित दारी ग्याङ दारीलाई माया गर्ने, दारी पाल्न रुचाउने र सामाजिक कार्यमा संलग्न युवाहरुको समूह हो । त्यसो त, समुहमा हुनलाई दारी पाल्नै पर्छ भन्ने वाध्यताकारी नियम भने छैन । समुहको संजाल देशै भरी र विदेशमा समेत रहेको छ । – hamrokhelkud
प्रतिक्रिया