अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २० जना पक्राउ

काठमाडौं । कैलालीको गोदावरी नगरपालिका–२ तेघरी खानेपानी टोल बस्ने बझाङ बुंगल नगरपालिका–२ दहबगर मल्ली बत्थी घर भएकी ४५ वर्षीया मंगली देवी धामीलाई अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ १६ किलो १ सय ८० ग्राम र तराजु १ थान सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त परिमाणको पदार्थ फेला पारी पक्राउ गरेको हो ।
ललितपुरको ललितपुर महानगरपालिका–१८ चोभार भञ्याङ थानागाँउस्थित युके हिल्स क्याफे एण्ड स्नोकर हाउसबाट नियन्त्रित लागूऔषध ट्रामानिल ६ सय २ ट्याब्लेट, नाइट्राभेट २ ट्याब्लेट, अवैध लागूऔषध गाँजा ५० ग्राम सहित क्याफे संचालक धादिङ रूबी भ्याली गाउँपालिका–५ घर भएका ४६ वर्षीय दल बहादुर तामाङ समेत १९ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग बुग्मतीबाट खटिएको प्रहरीले क्याफेबाट उक्त परिमाणको लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
जबरजस्ती करणी गरेको अभियोगमा छ जना पक्राउ
१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ६ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा अर्जुनधारा नगरपालिका–९ बस्ने १९ वर्षीय अनिश लिम्बु, सोही नगरपालिका–८ बस्ने ३४ वर्षीय सरोज राई, २५ वर्षीय केशव मगर, १९ वर्षीय सुनिल राजवंशी, १९ वर्षीय सुदिप श्रेष्ठ र १९ वर्षीय सुजन डाँगी रहेका छन् ।
अनिश, सरोज र केशवले ती किशोरीलाई अर्जुनधारा नगरपालिका–८ नयाँ बजारस्थित बाख्रा हटिया लाग्ने स्थानको फलैचामा जबरजस्ती करणी गरेको र सुनिल, सुदिप, सुजन र २० वर्षीय संजीव तामाङले अर्जुनधारा नगरपालिका–७ स्थित होटलमा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
प्रहरीले घटनामा संलग्न हाल फरार रहेका संजिवको खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
७२ किलोग्राम अवैध लागूऔषध गाँजा बरामद
बिराटनगर महानगरपालिका–१८ राजाबिराटस्थित सडकबाट अवैध लागूऔषध गाँजा ७२ किलोग्राम गएराति प्रहरीले बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीलाई देख्नासाथ रानीबाट भेडयारीतर्फ जाँदै गरेको डब्लुबि १६ यू १०७१ नम्बरको कारका चालकले कार छोडी फरार भएपश्चाईत कारबाट उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो । प्रहरीले घटनामा संलग्न शंकास्पद ३ जनालाई अनुसन्धानको लागि नियन्त्रणमा लिई फरार कार चालकको खोजी गरिरहेको छ ।
सवारी दुर्घटनामा दुई जनाको मृत्यु
काठमाडौंको नागार्जुन नगरपालिका–७ स्थित सडकमा प्र.०१–०२५ च ९२४३ नम्बरको जिप र बा.प्र.०२–०१७ प १०९ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शनिबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक प्रवेश खड्काको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको शहिद मेमोरियल अस्पताल कलंकीमा उपचारको क्रममा मृत्यु भएको हो । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ पथलैया चोकमा बा.७५ प ५४५१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक सोही उपमहानगरपालिका–१ बस्ने ३० वर्षीय आदेश लामाको शनिबार दिउँसो मृत्यु भएको छ । पथलैयाबाट सिमरातर्फ जाँदै गरेको उक्त मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा चालक आदेश उछिट्टिएर सोही सडकमा रोकी राखेको ना.६४ प.४७५२ नम्बरको मोटरसाइकलमा ठोक्किएर गम्भीर घाइते भएका उनको बयोधा अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका पैदलयात्रीको सोही अस्पतालमा उपचार भइरहेको छ । ना.६४ प.४७५२ नम्बरको मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
पहिरोले पुरिएर छ जनाको मृत्यु
दोरम्बा शैलुङ गाउँपालिका–३ लेखखर्कस्थित पहरीगाउँमा अविरल वर्षाको कारण आइतबार बिहान पहिरो जाँदा ६ जनाको मृत्यु भएको छ । पहिरोले पुरिएर सोही ठाउँ बस्ने ३० वर्षीया चण्डिका श्रेष्ठ, १८ महिनाको आमुष श्रेष्ठ, ५७ वर्षीया उर्मिला पहरी, ३० वर्षीय सन्दीप पहरी, ११ वर्षीय सन्तोष पहरी र १४ वर्षीय विज्ञान पहरीको मृत्यु भएको हो ।
उक्त स्थानमा पहिरो जाँदा ३ वटा घर बगाई उक्त घरका मानिसहरू सम्पर्कमा नरहेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय टोकरपुरबाट खटिएको प्रहरीले खोजी तथा उद्दार गर्ने क्रममा उनीहरूको शव फेला परेको हो । साथै पहिरोले पुरिएर ११ वर्षीया अन्जना श्रेष्ठ घाइते भएकी छिन् । प्रहरीले खोजी तथा उद्दार कार्य गर्नुको साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
मृत अवस्थामा फेला
काठमाडौं महानगरपालिका–८ गौरिघाटस्थित किरातेश्वर मन्दिर जाने बाटोमा काठमाडौं महानगरपालिका–३५ कोटेश्वर घर भई भक्तपुर सिरूटार बस्ने ४९ वर्षीय निर्मल कुमार खड्का शनिबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया